हतकडीसहित अभियुक्त फरार भएपछि प्रहरीभित्र खैलाबैला

सांकेतिक तस्बिर

धनगढी– धनगढीबाट हतकडीसहित लागुऔषध ओसार पसारमा संलग्न भनिएका अभियुक्त फरार भएका छन्।

टिकापुरबाट म्याद थप गर्न सरकारी वकिल कार्यालयमा ल्याइएका विक्रम चौधरी सरकारी वकिल कार्यालयकै परिसरबाट भागेका हुन्। हतकडीसहित अभियुक्त फरार भएपछि प्रहरी भित्रै खैलाबैला मच्चिएको छ।

चौधरीलाई म्याद थप गर्न धनगढी ल्याउने क्रममा उनिसँग हवलदार रामबहादुर कार्की रहेका थिए। चौधरीलाई मंगलबार खक्रौला नाकाबाट एक ग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले फरार अभियुक्तको खोजीकार्य तीब्र भइरहेको बताए। फरार अभियुक्तसँग रहेका प्रहरी हवलदार रामबहादुर कार्कीलाई कारवाही गरिने प्रहरी नायव निरीक्षक बस्नेतले बताए।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्