कर्णाली नदीमा बेपत्ता खार्पुनाथकी उपाध्यक्ष हमालको शव २२ दिनपछि भेटियो

तस्बिर : राजन रावत/हुम्ला

हुम्ला, सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु हमाल शाहीको शव भेटिएको छ । सर्केगार्ड गाउँपालिकाको वडा नम्बर चारको नागर स्थित कर्णाली नदीको किनारमा शव भेटिएको हो ।

कर्णाली नदीको किनारमा महिलाको शव भेटिएको खबर आएपछि बुधबार सिमकोट विमान स्थलबाट हेलिकोप्टरमा घटनास्थल गएका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार उपाध्यक्ष हमालका श्रीमान धिरेन्द्रबहादुर शाहीले औँलामा लगाएको औँठीका आधारमा पहिचान गरेका हुन् ।

आफन्तले उपाध्यक्ष शाहीको शवलाई गाडेका छन् । हिन्दु परम्परा अनुसार घर परिवारले कुशको शव बनाएर अन्तिम संस्कार असार ६ गते नै गरिसकेका थिए । खबर आएपछि खार्पुनाथ गाउँपालिकाका अध्यक्ष रावल, प्रहरी नायब उपरिक्षक राम प्रसाद घर्तीमगर, जिल्ला अस्पतालका डाक्टर दुर्गा सुर्खाली लगायतको टोली हेलिकप्टरमा शव भेटिएको स्थलतर्फ गएको थियो ।

शव भेटिएको स्थान सदरमुकाम सिमकोटबाट डेढ दिन पैदल हिँड्नु पर्छ । असार ३ गते खार्पुनाथ गाउँपालिकाको बेडु बिसौनी र कैलावालु क्षेत्रमा महेन्द्र बोलेरो जीप कर्णाली नदीमा खस्दा उपाध्यक्ष शाहीसहित ११ जना बेपत्ता भएका थिए । घटना भएको २२ दिन पछि उपाध्यक्षको शव भेटिएको हो । अन्य दश जना भने अझै बेपत्ता अवस्थामा नै रहका छन् ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्