‘मैले प्रधानमन्त्रीको हैसियतमा भारतको पत्रबारे जानकारी पाउनु पर्थ्यो’

फाइल तस्बिर

काठमाडौँ – तरकारी र फलफुलको विषादी परीक्षण रोक्न भारतले पठाएको पत्र आफूले नपाएको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो पत्र बाहिरिएपछि भने आफूलाई सरकारी निकायले अनभिज्ञ राखेको भन्दै उनीहरुलाई दोष दिई उम्कन खोजेका छन्।

व्यापक आलोचनापछि प्रधानमन्त्री ओलीले भारतले नेपाललाई तरकारी र फलफुलको विषादी परीक्षण रोक्न पठाएको पत्रबारे ९ दिनपछि मात्रै जानकारी प्राप्त गरेको दाबी गरेका हुन् ।

भारतीय दूतावासले परराष्ट्र मन्त्रालय, कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागलाई बोधार्थ दिँदै विषादी परीक्षण गर्न सुझाव दिएकोबारे आफूले लामो समयपछि मात्रै थाहा पाएको प्रधानमन्त्री ओलीले दाबी गरेका छन्। बुधबार बेलुका प्रसारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारी निकायले आफूलाई जानकारी नदिएको गुनासो गरेका हुन्।

उनले कार्यक्रममा भनेका छन्, ‘मलाई धेरै पछि थाहा भयो र त्यस सम्बन्धमा भारतले कुटनीतिक प्रयासहरु र संवादहरु गरेको रहेछ । मलाई जानकारी नभएकाले मैले पत्र नपाएको भनेको हुँ । यसबाट म दुःखी छु। प्रधानमन्त्रीको हैसियतमा मैले त्यो जानकारी पाउनु पथ्र्यो।’

२१ गते आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा भारतबाट विषादी परीक्षण रोक्न पत्र पठाएपछि नेपालले त्यो कार्यान्वयन किन गरेको ? भन्ने सांसदको प्रश्नमा ओलीले आफूलाई त्यसबारे थाहा नभएको बताएका थिए । त्यसबेला उनले ‘खै कहाँ आयो पत्र ? मलाई त केही आएको छैन ?’ भन्दै उल्टै आफ्ना सांसदलाई प्रश्न सोधेका थिए।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू