संस्कृत विद्यालय अगाडि फोहोरको डंगुर, विद्यार्थी हैरान

काठमाडौँ – हुन त सरसफाई सबैका लागि आवश्यक हुन्छ । सफा र स्वच्छ वातावरणको चाहना सबैले राखेका हुन्छन् । तर पनि संस्कृत अध्ययन गर्ने विद्यार्थी तथा अध्यापन गर्ने शिक्षकहरु सरसफाईसँगै शुद्धतामा पनि औधी ख्याल गर्छन् ।

तर काठमाडौँको संस्कृत माध्यामिक विद्यालय अगाडि भने फोहरको डंगुर थुपारिएको छ । विद्यार्थी तथा शिक्षकहरु नाक थुनेर त्यसकै नजिकबाट आवत जावत गरिरहेका हुन्छन् ।

विज्ञापन

वरपरको सबै फोहोर थुपार्ने थलो विद्यालयको गेट बनेको छ । जसले स्वच्छ, शुद्ध जीवनशैलीको वकालत गर्ने संस्थालाई गिज्याइरहेको छ र बटुवाहरुलाई नाक थुन्न बाध्य बनाएको छ।

विद्यालय मन्दिर हो। तर मन्दिर अगाडि नै फोहोर थुपारिएको छ । जसले गर्दा अध्ययन अध्यापनमा असजिलो भएको संस्कृत विद्यालयका प्रधानाध्यापक बद्रि दाहालले बताए । फोहोरका कारण विद्यार्थी तथा शिक्षकको स्वास्थ्यमा पनि असर परिरहेको उनले बताए ।

केहि दिन देखि फोहोर उठाइए पनि ढल निकासी नहुँदा र दैनिक फोहोर थुपार्ने थलो विद्यालय अगाडि भएकाले विद्यालय र सर्वसाधारणले पनि सास्ती खेपिरहेको उनको भनाई छ ।

फोहोर व्यवस्थापन गर्ने सही ठाउँ र सही तरिका नहुदाँ सर्वसाधारणले विद्यालय अगाडि फोहोर थुपार्ने गरेका छन् । फोहोर व्यवस्थापनको सरकारले दीर्घकालीन उपाय निकाल्नु पर्ने सर्वसाधारणको माग छ ।

यस्तै आर आर क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी आस्था बलायर भन्छिन् ‘म काठमाडौँ पढ्न आएको करिब डेढ वर्ष हुन थाल्यो। तर म पहिलो दिन क्याम्पस आउँदा संस्कृत विद्यालय नजिक पुग्दा नाक बन्द गर्नु पर्थ्यो अहिले पनि नाक बन्द गर्नु पर्ने अवस्था यथावत छ।

फोहोर व्यवस्थापनको समस्या समाधान भएको छैन। थाहा छैन यहाँका सर्वसाधारण तथा यात्रु र विद्यार्थीहरुले कति भो यो समस्या भोगेको।’
हुन त यो समस्या प्रर्दशनीमार्गको मात्र होइन। काठमाडौँ शहरका विभिन्न क्षेत्रको समस्या पनि उस्तै छ ।

काठमाडौँका नदीनाला तथा बाटोका कुना काप्चामा फोहोरका थुप्रा देखिन्छन्। नदीका छेउँबाट हिँड्दा पनि नाक थुनेर हिँड्नु पर्ने अवस्था छ। तर समस्याको समाधान छैन।

हरेक बिहान विद्यालय अगाडि फोहोरको ढेर हुन्छ। डुङ–डुङती गन्द्य आइरहेको हुन्छ। तर पनि आफ्नो जीवीका चलाउन महोत्तरीका पंकच राम (हाल पुतली सडक बस्दै आएका) भन्छन् ‘यो फोहोरको समस्या सामान्य भइसक्यो अब, काम गरेर खानै पर्यो अब त फोहोरको गन्धको बानी परिसक्यो।’

फोहारको समस्या भोग्ने यी त प्रतिनिधि पात्र मात्र हुन्। उनीहरु जस्तै बाटोमा हिँड्ने बटुवादेखि स्थानीय बासिन्दाहरुले फोहोरका कारण दुःख पाएका छन् ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्