कुटेर श्रीमानले गरे श्रीमतीको हत्या

सांकेतिक तस्बिर

नेपालगञ्ज – नेपालगञ्जका शिवकुमार लोधले कुटपिट गरेर श्रीमतीको हत्या गरेका छन् ।

नेपालगञ्ज–२, घरबारीटोलका शिवकुमारले छोरा स्कूल गएको मौका पारेर श्रीमती ललिताकुमारी लोधको हत्या गरेका हुन् । शिवकुमारले कुटपिट गरेर हत्या गरेपछि श्रीमतीको शव ड्रममा राखेका थिए । छोरा अमनले स्कूलबाट आएपछि आमालाई नदेखेपछि सोधीखोजी गर्दा ड्रममा देखेको बताएका छन् ।

छोराका अमनका अनुसार, बुवा शिवकुमार र आमा ललिताबिच झगडा भइरहन्थ्यो । प्रहरीले शिवकुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार, शिवकुमारले श्रीमती ललितालाई पासविक तरिकाले हत्या गरेको देखिन्छ । मृतकको शरीरमा चोटैचोट रहेको छ । पानीमा समेत डुबाएर, कुटपिट र यातना दिएका थिए ।

श्रीमतीको हत्या गरेपछि फरार हुन थालेका शिवकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बाँकेमा घरेलु हिंसाले उग्ररुप लिएर श्रीमती या श्रीमानको हत्या गर्ने प्रवृत्ति बढेको छ । बाँके प्रहरीले सार्वजनिक ११ प्राथमिकताको सूचिको ५ नम्बरमा लैंगिक हिंसा, घरेलु हिंसा, बोक्सी आरोप, जातीय छुवाछुत, बालविवाह, मानव बेचबिखन न्यूनीकरणलाई राखेको छ । यसले पनि जिल्लामा घरेलु हिंसा बढी छ भन्ने देखिन्छ ।

जिल्लामा पछिल्लो केही समययतामात्रै आधा दर्जन यस्ता घटना भएका छन् । हिरमिनिया, नेपालगञ्ज, कोहलपुरमा घरेलु हिंसाले उग्ररुप लिएर हत्यासम्म पुगेको छ । जहाँ श्रीमानले श्रीमतीको हत्या गरेका थिए ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्