२७ वर्षयता इंग्ल्याण्डको दौड, ‘होम अफ क्रिकेट’ मा उपाधिको भोक

लन्डन : २७ वर्ष भयो, इंग्ल्याण्ड एकदिवशीय विश्वकप क्रिकेटको फाइनल पुग्न सकेको छैन। त्यसअघि विश्वकपका सुरुका ६ मध्ये तीन संस्करणमा इङ्ल्यान्ड फाइनलसम्म पुगेको थियो। तीमध्ये एउटा संस्करण घरेलु मैदानमै खेलेको थियो उसले।

सुरुका वर्षहरुमा उपाधिका लागि संघर्ष गरेको इंग्ल्याण्ड तीन दशक वित्न लाग्दा पनि यो प्रतियोगिताको फाइनलमा पुग्न सकेको छैन। यसपटक घरेलु मैदानमा विश्वकप खेलिरहेको इंग्ल्याण्डलाई गतिलो अवसर छ फाइनल पुग्न। बिहीबार हुने सेमिफाइनलमा अस्ट्रेलियालाई हराउन सके इंग्ल्याण्डले चौथोपटक उपाधि भिडन्त तय गर्ने छ।

विज्ञापन

इंग्ल्याण्ड यतिबेला उत्कृष्ट लयमा छ। प्रतियोगिताको एकै खेलमा सबैभन्दा बढी रन बनाउने टोलीको शीर्ष ९ स्थानको सूचिमा सुरुका दुईसहित चार ठाउँमा इंग्ल्याण्ड रहेको छ। उसले लिग चरणमा अफगानिस्तानविरुद्ध तीन सय ९७, ब‌ंगलादेशविरुद्ध तीन सय ८६ , भारतविरुद्ध तीन सय ३७ र पाकिस्तानविरुद्ध तीन सय ३४ रन जोडेको थियो।

यी सबै खेलमा इङ्ल्यान्ड विजयी भएको थियो।अस्ट्रेलियाले बंगलादेशविरुद्ध तीन सय ८१, श्रीलंकाविरुद्ध तीन सय ३४ , भारतविरुद्ध तीन सय १६ र दक्षिण अफ्रिकाविरुद्ध तीन सय १५ रन जोडेको थियो। भारत र दक्षिण अफ्रिकासँग भने पराजित भएको थियो।

जारी प्रतियोगितामा  इंग्ल्याण्डका जोए रुटले तीन अर्धसतक र दुई सतकसहित ५ सय रन जोडेका छन्। जोनी बेयर्स्टले दुई सतक र दुई अर्धसतकसहित चार सय ६२ तथा बेन स्टोक्सले चार अर्धसतकसहित तीन सय ८१ रन जोडेका छन्। जेसन रोयले  तीन अर्धसतक र एक सतकसहित तीन सय ४१ र कप्तान इयोन मोर्गनले एक सतक र एक अर्धसतकसहित तीन सय १७ रन बनाएका छन्।

बलिङतर्फ इंग्ल्याण्डका जोफ्रा आर्चरले १७ र मार्क उडले १६ विकेट हात पारेका छन्। लिग चरणमा इंग्ल्याण्डले अस्ट्रेलियालाई हराएको थियो।

कम छैन अस्ट्रेलिया

विश्वकपको ४४ वर्ष लामो इतिहाँसमा सबैभन्दा सफल टोली हो अस्ट्रेलिया। प्रतियोगिताको ११ संस्करण सकिँदासम्म अस्ट्रेलियाले पाँचपटक उपाधि जितेको छ भने दुईपटक फाइनलसम्म पुगेको थियो। गत संस्करणमा न्युजिल्यान्डलाई फाइनलमा हराएर अस्ट्रेलिया विजेता बनेको थियो।

यसपटक पनि न्युजिल्यान्ड फाइनल पुगिसकेको छ। अस्ट्रेलिया विश्वकपका पछिल्ला ६ संस्करणमध्ये एकपटक मात्र फाइनल पुग्न सकेको छैन। १९९९ देखि २००७ सम्म लगातार तेस्रोपटक उपाधि जितेको थियो। प्रतियोगितामा अस्ट्रेलियाका मिचेल स्टार्क सबैभन्दा सफल बलर देखिएका छन्।

उनले ९ खेलमा २६ विकेट लिएका छन्। दोस्रो स्थानमा रहेका ब‌ंगलादेशका मुस्ताफिजुर रहमानको नाममा २० विकेट छ। अस्ट्रेलियाका प्याट कुमिन्सले पनि १३ विकेट लिएका छन्। अस्ट्रेलियाका ओपनर जोडी प्रतियोगितामा सबैभन्दा सफल देखिएको छ। डेभिड वार्नरले तीन सतक र तीन अर्धसतकसहित ६ सय ३८ रन तथा एरोन फिन्चले तीन अर्धसतक र दुई सतकसहित पाँच सय ७ रन जोडेका छन्।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्