गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा, ४५औँ पेशीमा पनि सुनुवाई भएन

काठमाडौँ – पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दा ४५औँ पटक पनि स्थगित भएको छ ।

बिहीबार सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासमा पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ भन्दै सुनुवाई स्थगित गरिएको हो ।

विज्ञापन

सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलकाअनुसार न्यायाधीश कार्कीले कानून व्यवसायी हुँदा विशेष अदालतमा जोशीको पक्षमा बहस गरेकाले मुद्दाको सुनुवाई रोकिएको हो । कुनै पनि न्यायाधीशले एकपटक आफूले सुनुवाई गरेको वा बहस गरेको मुद्दामाथि फेरि सुनुवाई नगर्ने प्रचलन छ ।

गएको जेठ २३ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपनाप्रधान मल्लको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जोशीविरुद्ध मुद्दा चलाउने निर्णयको सक्कल फाइल उपलब्ध गराउन आदेश दिएको थियो ।

आयोगबाट जवाफ प्राप्त भए पछि बिहीबार मुद्दाको पेशी तोकिए पनि सुनुवाई नभएको हो । सर्वोच्चले सक्कल फाइल उपलब्ध नगराए अवहेलना मुद्दाका कारबाही गर्ने चेतावनी दिएको थियो । अख्तियारले यसअघि जस्तै ‘फाइल फेला पार्न नसकेको’ जवाफ दिएको छ ।

आयोगले जोशीविरुद्ध २०६० माघ २८ विशेष अदालतमा ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा १३ वर्ष कैद सजाय र जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो ।

मुद्दामा सुनुवाई गर्दै तत्कालीन विशेष अदालतका न्यायाधीशहरू भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले ०६३ कात्तिक ३० गते अख्तियारले म्याद गुजारेर दर्ता गरेको भन्दै मुद्दाको विषयवस्तुमा प्रवेश नै नगरी सफाइ दिएको थियो ।

विशेष अदालतको आदेशविरुद्ध अख्तियारले सर्वोच्चमा रिट हाल्यो । भ्रष्टाचार मुद्दामा हदम्याद नलाग्ने आदेश सर्वोच्चको आदेशपछि विशेष आदालतमा जोशीविरुद्ध मुद्दा चल्यो ।

विशेषले ०६६ साउन १० मा विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले जोशीलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

विशेषले जोशीसँग २ करोड १६ लाख मात्रै स्रोत नपुगेको भन्दै बिगोसहित असुल गर्न र १ वर्ष ६ महिना मात्र कैद सजाय सुनायो ।

विशेष अदालतको उक्त फैसलाविरुद्ध जोशीले गर्न सर्वोच्च गए पनि अहिलेसम्म मुद्दाको सुनुवाई नै हुन सकेको छैन । नौ वर्षको अवधिमा जोशीको मुद्दा ४५औँपटक बिहीबार पेशी तोकिएको थियो ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्