कांग्रेसलाई सञ्‍चारमन्त्रीको प्रश्‍न, ‘ दिनभर वीपी, रातभर विप्लव, दृष्टिकोण स्पष्ट पार्नुस्’

काठमाडौं-सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई नेत्रविक्रम चन्द समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन्।

मन्त्री बाँस्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली काँग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको भन्दै आफ्नो दृष्टिकोण स्पष्ट पार्नु आग्रह गरे।

संविधान, कानुन र शान्तिकाविरुद्ध नेपाली काँग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्‍न पनि गरे।भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका दुई जनाको हत्या भएको थियो।

सोही घटनालाई लिएर नेपाली काँग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो। त्यसप्रति टिप्पणी गर्दै मन्त्री बाँस्कोटाले नेपाली काँग्रेसले कानुन, संविधान विपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दावी गर्दै आपत्ति जनाए।

मन्त्री बास्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानवीनका लागि संसदीय समिति गठन गर्न नसकिने अडान पनि दोहोर्‍याए।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सो हत्याकाण्डको छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ।

मन्त्री बास्कोटाले संसदीय समितिले छानवीन गर्दैमा सो समस्या समाधान नहुने दावी पनि गरे।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्