शिल्पाकाे आँशु, छविकाे प्रशन्‍नता

शान्ति सुरक्षाको जिम्मेवारी लिने सहमतिमा छिनियो छवि र शिल्पाको घर-झगडा

काठमाडौं-अभिनेत्री शिल्पा पोख्रेल र निर्माता छवि ओझाबिचको घर-झगडा शान्ति सुरक्षाको जिम्मेवारी लिने सर्तमा छिनिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटिका अनुसार अबदेखि शान्ति सुरक्षामा आँच आउने काम नगर्ने सहमति भएको छ।

सहमतिको बारेमा शिल्पाकी भाउजू सम्झना उप्रेति रौनियारले देशसञ्चारलाई भनिन्, ‘छवीजीले माफिनामा स्वीकारोक्तिमा हस्ताक्षर गर्नुभएको हो। यो भन्दा अगाडि के गर्ने हामी छलफल गर्छौ, शिल्पा अहिले हामीसँग नै बस्नुहुन्छ।’

विज्ञापन

के भन्छिन् शिल्पा ?


‘मलाई जे पर्‍यो मैले भोगे, कसैलाई दुख्दैन मलाई मात्र दुख्छ। यदि कसैलाई यही पीर परेको छ, यस्तै पीडा भोगिराख्नुभएको छ भने आउनुहोस्, म आएको छु, तपाईहरु पनि नडराई आउनुहोस्।’

‘अबदेखि यस्तो गर्दिन भन्नु भएको छ, सरि भन्नु भएको छ।’ यति भनेपछि शिल्पा बोलिनन्, गाडि चढ्दा उनको आँखा रसाएका थिए।

के भन्छन् छवि ?


‘घर-झगडा हो, यहाँ सम्म आइनै नपुग्न पर्ने हो। मैले सरी भनेको होइन, आफ्नो श्रीमतिलाई चित्त दुख्यो होला भनेर मैले सामान्य रुपमा सरी भनेको हुँ। घरेलु हिंसा भन्‍ने हैन । कानको जाली फुटेको हैन। मैले गल्ति गरेको भए म बाहिर हुने थिएन।

उहाँ घर फर्कनुभयो भने म स्वागत गरेर राख्छु, उहाँ मेरो श्रीमती हो। शिल्पा अहिले बसिराख्नुभएको विकास रौनियार र सम्झना उप्रेति रौनियारको घरमा हो। शिल्पाले भाईटिका लगाउने दाई भाउजू हो। उहाँहरुले आफ्नो बहिनीलाई सुरक्षा दिएको हो।

रोटी दोहोरो पाक्छ, हरेक घरमा झगडा हुन्छ। घरमा एक किसिमको दुर्घटना हुने जस्तो अवस्था आएको थियो। मैले शिल्पा जी सँग कुरा गर्दा चित्त बुझेन उहाँले उजूरी हाल्नुभयो।

८ गतेदेखि घर बाहिर निस्किनुभएको हो तर मैले फोन गरिन। उहाँ दाईको घरमा बस्नुभएको थियो। सुरक्षित छन् भन्ने थाहा भएपछि मलाई भयो। मैले उहाँको माइती पक्षबाट फोन आउँला भनेको यही सिधा यहाँबाट खबर आयो।

हामीबिच शान्ति सुरक्षाको विषयमा सहमति भएको हो, छुट्टिने  कुरा भएको छैन। २०७० सालदेखि माया गरेको मान्छे, लज्जाबाट चलचित्र नगरीमा आउनुभएको शिल्पा जी हवल्दार सुन्तली र किस्मत २ सम्म आइपुगेपछि अब विवाह गर्ने भनेर हामी सँगै भएका हौँ।

विवाह मैले लुकाएको हैन। उहाँले किन सार्वजनिक गर्नुभएन उहाँलाई नै सोध्नुहोस्। मैले निस्कने बेलामा पनि अरुको कुरा नसुन्नुस् भने। उचाल्लिने, थचारिने नबस्नुस् अब कति कुरा तपाईले कम्परमाइज गर्नुपर्छ, कति म गरौला भनेँ, मिलेर जाम भने, मेरो तर्फबाट सम्बन्ध विच्छेद हुँदैन।

हामीबिच खटपट उमेरको दोष होइन, कुरा लगाउने मान्छेको दोष हो। उमेरले कहिले केही गर्दैन। हामीबिच २५ वर्षको भिन्नता छ। मरो पहिलो विवाह २०४९ सालमा भएको हो। दुईजना छोरा छन्। मेरो प्रेम विवाह भएको थियो। एक जना छोरा अष्ट्रेलिया छ, एकजना यही हुनुहुन्छ। यो खबर ठूलो होइन, चार जनाको मुर्गी १२ जनाको मसला भयो।’

आफूमाथि हिंसा भएको भन्दै शिल्पाले श्रीमान् छविविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिएकी थिइन्। शिल्पा र छविको विवाह २०७३ सालको दशैँमा गोप्यरुपमा भएको थियो। शिल्पाले छविराज ओझाकै प्रडक्सनमा ‘लज्जा’ मार्फत डेब्यू गरेकी थिइन्।

त्यसपछि उनले यही प्रडक्सनको ‘हवलदार सुन्तली’ र ‘मंगलम’ मा पनि काम गरिसकेकी छन्। शिल्पा छविकी चौथी श्रीमती हुन्। अभिनेत्री रेखा थापा छविकी तेस्री श्रीमती थिइन्।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू