थुनुवाको हिरासत ‘ब्रेक’ : अदालतबाटै पुगेको थियो हतियार

पक्राउ परेका फरार थुनुवा रुद्र र समशेर। तस्बिर-देश सञ्‍चार

काठमाडौ‌ं : ललितपुरको भैसेँपाटीमा रहेको प्रहरी प्रभागको हिरासतबाट सोमबार राति तीन जना थुनुवा भाग्दा उनीहरुले प्रयोग गरेको हतियार अदालतभित्रैबाट उपलब्ध भएको पाइएको छ।

भागेकामध्ये पक्राउ परेका रुद्रलाल श्रेष्ठ र समसेर माझीले हिरासत कक्षमा जोडिएको शौचालयको ग्रील काट्न ह्याक्सोको प्रयोग भएको र त्यो  ह्याक्सो अदालतबाट ल्याएको बताएका छन्।

अदालतमा म्याद थप्न लैजाँदा उनीहरुले ललितपुर जिल्ला अदालतको शौचालयबाट उक्त ह्याक्सो पाएको बताएका छन्। घटनाको अनुसन्धान गरेको महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार अदालतको ट्वलेटमा पासाङ शेर्पा र सुनिल मगरले ह्याक्सो राखि दिएका थिए।

‘ योजनाबद्ध रुपमा घटना भएको देखिन्छ। म्याद थप्‍न अदालत पुर्‍याएपछि रुद्रले ट्वलेट लाग्यो भनेछन्। उनी शौचालय छिर्नु अघि नै त्यहाँ ह्याक्सो राखि सकिएको रहेछ’, महाशाखा प्रमुख एसएसपी सहकुल थापाले भने। महाशाखाका अनुसार सोमबारअघि सुनिल र पासाङले नियमित रुपमा रुद्रलाई भेट्न जाने गर्थे ।

‘ केही दिनअघि मात्र योजना बनेको देखिन्छ’, एसएसपी थापा भन्छन्। फरार भइ पक्राउ परेका रुद्र र समसेर एउटै मुद्दा अर्थात चोरीका प्रतिवादी हुन्। भागेकामध्ये लागु औषध मुद्दाका रवि कुमार तिम्सिना भने पक्राउ पर्न सकेका छैनन्। अनुसन्धानका क्रममा  मध्यरातमा भागेका यी तीनमध्ये तिम्सिना बाँकी दुई जनासँग कलङ्कीबाट  छुट्टिएका थिए।

के थियो घटना ?


सोमबार साँझ भैँसेपाटी प्रभागको हिरासतमा २० जना थुनुवा थिए । विभिन्‍न मुद्दाका उनीहरु सबैलाई जावलाखेलस्थित जिल्ला प्रहरी कार्यालयबाट लगिएको थियो।

जिल्लामा दर्ता भएका मुद्दाको अनुसन्धानका लागि पक्राउ परेकाहरु आफ्नो हिरासतमा अटाउन सकेनन् भने नजिकैका वृत र प्रभागहरुमा पठाउने गरेको थियो ललितपुर प्रहरी परिसरले।

त्यस्तो अवस्थामा नजिकै रहेका सातदोबाटो वृत तथा सानेपा र भैँसेपाटी प्रभागमा रातका लागि लगेर भोलिपल्ट अनुसन्धानका लागि फेरि जावलाखेल नै ल्याउने गरिएको ललितपुर परिसरका एक अधिकारी बताउँछन्।

हिरासत यस्तो ठाउँ हो जहाँ थुनुवा उच्च सुरक्षा घेराभित्र बन्द कोठामा हुन्छन्। कोठासँगै गाँसिने गरी शौचालय बनाइएको हुन्छ।हिरासतभित्र राखिनुअघि थुनुवाको पूर्ण रुपमा ‘बडि सर्च’ र स्वास्थ्य परीक्षण गरिन्छ। डोरी भएका जुत्ता र कपडा प्रयोग निषेध हुन्छ।

ग्रिल काटिएको ठाउँ।

तर यस्तो स्थितिबीच सोमबार राती भैँसेपाटी प्रहरी प्रभागको हिरासतबाट तीन जना थुनुवा भागे, प्रहरीले विहान मात्र थाहा पायो। हिरासत कक्षमा रहेको ट्वेलेटमा रहेको भेन्टीलेटरको ग्रिल काटेर उनिहरु भागेको पाइयो। उनीहरुलाई लगातार दोस्रो दिन परिसरबाट भैँसेपाटी प्रभाग लगिएको थियो।

ललितपुर प्रहरी परिसरले घटनाको छानविन गर्न भन्दै प्रहरी उपरीक्षक-एसपी दुर्गा सिंहको नेतृत्वमा समिति गठन गरेको छ। तत्कालका लागि हिरासतको सुरक्षामा खटिएका गार्ड (जवान), उनीहरुका कमान्डर (हवल्दार) र ड्युटी अफिसर (असइ)गरी तीन जना प्रहरीलाई निलम्बन गरिएको छ।

यसरी पक्राउ परे


चोरीका घटनामा पटक-पटक पक्राउ पर्ने गरेका समसेर र रुद्रलाल प्रहरीको भाषामा पटके हुन्। सोमबार राति शौचालय लागेको भन्दै पालै-पालो शौचालय छिरेका थिए उनीहरु। ग्रील पालैपालो गरेर काटेको बयानमा बताएका छन्।

उनीहरुको योजना थाहा पाएपछि तिम्सिना पनि पछि लागेका थिए। हिरासतबाट बाहिरिएपछि रुद्र समशेरलाई लिएर प्रेमिकाको कोठा पुगेका थिए जहाँ उनले प्रेमिकाको मोबाइल लिएर त्यहाँबाट बाहिरिए। प्रेमिकाकै नम्बरबाट रुद्रले शंखमुलस्थित श्रीमतीलाई फोन गरेका थिए। त्यही फोन प्रहरीलाई रुद्र र समशेरलाई समात्‍ने लहरो बन्यो।

प्रहरीले रुद्रकी श्रीमतीलाई नियन्त्रणमा लिएपछि अनुसन्धानमा सजिलो भयो। तर निकै चलाख रुद्रले छिमेकी बहिनीलाई फोन गरेर श्रीमतीलाई खोजे।

‘ प्रहरीले श्रीमतीलाई निगरानीमा राखेको भन्‍ने शंकाले उनले छिमेकी बहिनीसँग फोन गरेर पनि बुझे। हामीले ती बहिनीको मोबाइललाई पनि निगरानीमा राखेका थियौँ। अर्कोतर्फ श्रीमतीलाई पनि निगरानीमा राखेपछि उनीहरुलाई पक्राउ गर्न गाह्रो भएन’, एसएसपी थापा भन्छन्।

महाशाखा र ललितपुर प्रहरीको संयुक्त टोलीले बुधबार दुवै जनालाई गोठाटारबाट पक्राउ गरेको हो।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू