तरकारीकाे मूल्य आकासियाे, किलाे किन्‍न गएका उपभाेक्ता एक पाउ बाेकेर फर्कन्छन्

दाङ-लमही नगरपालिका वडा नं. ५ निवासी यमुना बस्‍नेत तरकारी किन्‍न बजार पुगिन्। एक किलो तरकारी किन्ने योजनाका साथ बजार पसेकी यमुना एक पाउ मात्रै किनेर फर्कनु पर्‍यो। ‘बजारमा तरकारी त छोइनसक्नु रहेछ’, उनले भनिन्,‘किलो खान सकिँदैन, अब पाउ मात्रै खाने हो।’

बजारमा तरकारीको मूल्यले आकाशिदासमेत तरकरी बजारको अनुगमनमा कसैले ध्यान नदिएको गुनासो उनको छ। ‘तरकारीमा बिषादीको तरंगले कोही पनि बजारमा त्यसको असर कस्तो परेको छ भनेर हेर्ने आँटसम्म गरेका छैनन्’उनले भनिन,‘पसलेले जति भन्यो उति रुपैयाँमा किन्नुपर्ने बाध्यता छ।’

यस्तै देवका रजौरेले एक हप्ता अघि २५ रुपैयाँ किलो प्याज किनिन्। तर, अहिले बजारमा प्याजको भाउ ठीक दोब्वरले वृद्धि भएको छ। ‘तरकारीको मूल्य त दोब्वरले वृद्धि भयो’, उनले भनिन्, ‘हरेक दिन तरकारी किनेर खाने हामी जस्ता उपभोक्तालाई त हैरानी भयो।’

एक हप्ताको अवधिमा तरकारीको मूल्य झण्डै दोव्बरले वृद्धि भएको छ। तरकारीको मूल्य बढ्दै उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्। नेपाल सरकारले भारतबाट आउने तरकारीको बिषादी परिक्षण गर्ने भन्दै नाकामा कडाई गरेपछी नेपाली बजारमा तरकारीको मुल्य आकासिन पुगेको हो। तर अहिले भारतीय तरकारी नेपाली बजारमा आइरहे पनि मूल्य भने घटेको छैन्। लौका, करेला, भान्टा, खुर्सानी, परवर, भिन्डी, बोडी लगायत तरकारी भारतबाट नेपाल आउने गरेको छ।

नेपाली उत्पादनले तरकारी बजार धान्‍न नसकेपछि भारतीय तरकारी नेपाली बजारमा आउने गरेको हो। तर बिषादी परिक्षणको ‘नाटक’ले तरकारीको मुल्य आकासिन पुगेको उपभोक्ताको दाबी छ। दाङको प्रमुख बजार घोराही, तुलसीपुर, नारायणपुर, लमही, भालुवाङ लगायतका ठाउँमामा भारतीय तरकारी आउने गरेको छ।

नारायाणघाटको तरकारी भनेर बजारमा भारतीय तरकारी बिक्री हुने गरेको स्वयम व्यवसायीले बताउने गरेका छन्। केही तरकारी सल्यानबाट समेत आउने गरेको छ। तर, स्थानीय स्तरमा उत्पादन भएको तरकारीले उपभोक्ताको माग धान्‍न सक्ने अवस्था छैन।

जसले गर्दा मूल्यमा समेत असर पार्ने गरेको छ। वर्षाको समयमा तरकारीको उत्पादन समेत घट्ने हुँदा त्यसको असर बजारमा समेत परेको छ। ‘स्थानीय उत्पादन घटेको छ। तरकारीको अझै अभाव हुँदै जाने देखिन्छ’, लमहीका तरकारी व्यवसायी प्रकाश भुसालले भने, ‘तरकारीको मुल्य त हरेक दिन जसो फेरबदल भैरहन्छ। हामीले नै महंगोमा खरिद गर्छौँ। अलिकति नाफा त खानै पर्‍यो।’

पसलै पिच्छे फरक-फरक मूल्य


तरकारी पसलमा तरकारीको मूल्यमा पनि एकरुपता छैन। तरकारी बजारमा अनुगमन नहुँदा मुल्यमा समेत फरक पर्ने गरेको छ। पसलै पिच्छे एक किलो तरकारीमा १०/१५ रुपैयाँ फरक पर्ने गरेको छ। तरकारी पसलमा मुल्य सूची समेत राखिएको छैन्।

पसल सञ्चालकले जति भन्यो त्यती मूल्यमा तरकारी किन्नुपर्ने बाध्यता रहेको उपभोक्ता तारा थापाले बताइन्। ‘पसलमा तरकारी किन्न गयो। जति भन्छन् त्यति मुल्य हाल्नै पर्‍यो’, उनले भने, ‘यसो अर्काे पसलमा बुझ्न पुग्दा किलोमा १०-१५ त फरक परिहाल्छ।’

तरकारी व्यवसायीको कुनै समिति छैन्। लमही क्षेत्रमा तरकारी व्यवसाय गर्दै आएकाहरुको बजार व्यवस्थित गर्न नगरपालिकाले छलफल गर्ने तयारी गरेपनि अझै सम्म हुन सकेको छैन्। तरकारी बजार व्यवस्थित नहुँदा पसल पिच्छे मूल्यमा फरकपना देखिएको छ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू