युवा उद्यमशीलता सम्मेलनमा आइएमई सह-आयोजक

काठमाडौँ-नेपाल युवा उद्यमशीलता सम्मेलनको सह-आयोजकमा आइएमई फाउण्डेशन रहने भएको छ।

आगामी साउन २७ र २८ गते हुन गइरहेको युवा उद्यमशीलताको आइएमइ फाउण्डेशन सह–आयोजक रहने भएको हो।

अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२ को अवसर पारेर आयोजित उक्त सम्मेलनमा नेपाल सरकार अन्तरगर्तको राष्ट्रिय युवा परिषद्, प्रदेश नम्वर ३ सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय रविशाल मिडिया ग्रुप आयोजकका रुपमा र आइएमई फाउण्डेसन सह-आयोजकका रुपमा रहने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्मेलनमा सह-आयोजक रहने सम्बन्धमा बिहिवार आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल र सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारी पत्रमा हस्ताक्षर गर्दै आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सम्मेलनले उद्यमशीलताका नविनतम् अवसरको खोजीगर्ने, नयाँ स्टाटप कम्पनीलाई प्रोत्साहन गर्ने र उद्यमशीलताको सोच भएका तर लगानीका लागि प्रर्याप्त पुँजी नभएका युवाहरुका लागि लगानी बारे लगानीकर्तासँग छलफल गर्न उपयुक्तप्लेटफर्म प्रदान गर्ने बताए।

सम्मेलनका मुलआयोजक समितिका संयोजक बिशाल गैरेले प्रादेशिक संरचना भित्र युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी नीति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणलेसम्मेलन सफल रहने बिश्वास व्यक्त गरे।

सो सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् भने करिव ३ हजार युवा उद्यमीहरु सहभागी हुने छन् र देशभरका ७७ जिल्लाबाट सहभागी पाँच सय युवा उद्यमीहरुको सहभागीता रहने आयोजक जानकारी दिएको छ।

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्