दुले चोरले हैरान

नेपालगञ्ज – नेपालगञ्जको एक रेडियो स्टेशनबाट केही महिनामा १२ वटा साइकल चोरी भयो। सिसि क्यामेरामा चोर देखा पर्छ। सिसि क्यामेरामा देखिएको फोटोसहित स्टेशन प्रमुख प्रहरी कार्यालयमा पुग्छन्। न त अहिलेसम्म चोर पक्राउ पर्‍यो न त साइकल चोरी नै बन्द भएको छ। चोरीबाट हैरान भएका स्टेशन प्रमुख भन्दै थिए, ‘एसपी सा’प, म त कर्मचारीको साइकलको पैसा तिर्दा तिर्दै हैरान भइसके। केही त गरिदिनु पर्‍यो।’

नेपालगञ्जमा ‘आँखा झिकिम्म, सामान गायब’ को अवस्था रहेको छ। प्रहरीको भाषामा यो ‘साधारण चोरी’ले हैरान नै पारेको छ। पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा पनि साधारण चोरी उकालो नै लागेको देखिन्छ।

विज्ञापन

आर्थिक वर्ष २०७५÷७६ को जेठ मसान्तसम्ममा ७९ वटा साधारण चोरी भएका छन्। गएको वर्ष ५४ र त्यसअघि ४० वटा साधारण चोरी भएका थिए। यो प्रहरीमा आइपुगेको तथ्यांक हो। साइकल, घुम्ती फोरेका, घरका सामान चोरेका कतिपय घटना त प्रहरीसमक्ष पुग्दै पुग्दैनन्।

लागु औषध प्रयोगकर्ताको संख्या बढोत्तरी भइरहदा चोरीका घटना पनि उकालो लाग्दै गएको हो। किनकी, प्रहरीले पक्राउ गरेका चोरहरु अधिकांश लागु औषध प्रयोगकर्ता रहेका छन्। यो वर्ष जिल्लामा डाँका चोरी ५, नकवजनी चोरी २, जबरजस्ती चोरी र चौपाया चोरी एक÷एक, सवारी चोरी १४ वटा रहेका छन्। सवारी चोरी गतवर्ष र अघिल्लो वर्ष ८÷८ वटा थिए।

साधारण चोरी आफ्नै कमजोरीले हुने गर्दछन्। घर बाहिर जादा छिमेकीलाई भनेर नजानु, घर वरिपरि कोही आए÷गएको ख्याल नगर्नु, सामान जथाभावी राख्नु, मुख्यद्वार बन्द नगर्नु, ठूला कार्यालयमा समेत गेटपाले नराख्नुजस्ता कारणले चोरी भइरहेका छन्। नगरका प्रहरी बिटमा प्रहरी नहुनु, लागु औषध प्रयोगकर्ता बालक÷किशोरहरु सानो तिनो सामान चोर्न घरघर चहार्नु, सीमावर्ती बजार नजिक भएकाले पारीबाट समेत सानातिना सामान बेच्ने निहुँमा चोर आउने भएकाले नेपालगञ्जमा साधारण चोरीको संख्या बढ्ने गरेको छ।

प्रहरीले चोरीमा पक्राउ परेको व्यक्ति छुट्दा उसको गतिविधि निगरानी गर्ने गर्दछ। कतिपय भने चोरीकर्ममा जेल परेर छुट्ने बित्तिकै फेरि उही धन्दामा लागेका छन्। पटके चोरको संख्या पनि बजारमा धेरै छ।

चोरी बढ्नुमा लागु औषध प्रयोगकर्ताको ठूलो हात रहेको छ। पूर्व लागु औषध प्रयोगकर्ताहरु अनुभव सुनाउँछन्, ‘कामधन्दा केही हुँदैन। घरपरिवारले पैसा दिदैनन्। अनि, लागु औषध खरिद गर्न कहाँबाट पैसा ल्याउने ? त्यसका लागि एउटै उपाय चोरी नै हो। चोरीको शुरुवात प्रायः आफ्नै घरबाट शुरु हुने गर्दछ।’

जिल्लामा प्रहरीले यो वर्षमात्रै २ सय १८ जना लागु औषध प्रयोगकर्तालाई पक्राउ गरेको छ। पक्राउ संख्या गतवर्ष १ सय ४७ र अघिल्लो वर्ष १ सय ३७ थियो।नेपालगञ्जमा साधारण चोरी बढीजसो रातीमा हुने गरेको छ। यहाँ हुने ठूल्ठूला चोरी भने दिउँसो भइरहेको छ। नेपालगञ्जमा चोरी हुने सामान बेच्न गाह्रो पनि छैन। सीमावर्ती रुपैडिहामा लगेर चोरले सस्तोमा बेच्ने गर्दछन्।

वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयमा साधारण चोरीका घटना लिएर दैनिकजसो नै पीडितहरु आउने गरेका छन्। कतिपयले रिस साँध्न चोरीको आरोप लगाएर आएको पनि पाइएको छ। बिहीबार नै सरुवा भएर गएका वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज नारायण डाँगीले नेपालगञ्जमा साधारण चोरीको निवेदन आइरहने बताए।

‘घरघरमै, व्यक्तिको पछि पछि नै प्रहरी लाग्न सक्दैन, आफू सचेत नहुँदा चोरीको फन्दामा परेका निवेदन आइरहन्छन्, डाँगीले भने, प्रहरीले चोरलाई समात्दै कारबाही गरेको पनि छ।’

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू