इंग्ल्याण्ड फाइनलमा, विश्वकपले २३ वर्षपछि नयाँ विजेता पाउने

लन्डन– घरेलु टोली  इंग्ल्याण्ड जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। बिहीबार साँझ भएको सेमिफाइनलमा इंग्ल्याण्डले पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियालाई ८ विकेटले हरायो। इंग्ल्याण्डले फाइनलमा न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

अस्ट्रेलियाको पराजयसँगैँ  एकदिवशीय विश्वकपले २३ वर्षपछि नयाँ विजेता पाउने निश्चित भएको छ। सन् १९९६ मा श्रीलंका विजेता बनेयता विश्वकपले नयाँ विजेता पाउन सकेकाे थिएन। हालसम्म यो प्रतियोगिता अस्ट्रेलियाले पाँचपटक, भारत र वेस्ट इन्डिजले दुई–दुई पटक तथा पाकिस्तान र श्रीलंकाले एक–एक पटक जितेका छन्।

न्यूजिल्याण्ड एक र इंग्ल्याण्ड तीनपटक फाइनल पुगेर पनि उपाधि भिडन्तमा निराश भएका थिए। इंग्ल्याण्ड २७ वर्षपछि प्रतियोगिताको फाइनल पुगेको हो।  साविक विजेतासमेत रहेको अस्ट्रेलियाविरुद्ध इंग्ल्याण्डले शानदार प्रदर्शन गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियालाई २ सय २३ रनमा सिमित गर्दै जितको आधार बलियो बनाएको थियो। इंग्ल्याण्डले ३२ ओभर एक बलमा दुई विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

घरेलु टोलीका जेसन रोयले ८५ रन बनाए। जोनी बेयर्स्टले ३४ , जोए रुट ४९ र इयोन मोर्गनले ४५ रन बनाए। इंग्ल्याण्डले  पहिलो विकेटका लागि एक सय २४ रनको साझेदारी गरेको थियो। अम्पायरको खराब निर्णयको शिकार भएका रोयले ६५ बलमा ५ छक्का र ९ चौका प्रहार गरेका थिए। उनीविरुद्ध अम्पायरले विकेटकिपरद्वारा क्याच आउटको निर्णय दिए पनि टेलिभिजन रिप्लेमा ब्याटमा बल लागेको देखिएन।

यसअघि  टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय २३ रन जोड्यो। १४ रन जोड्दा तीन विकेट गुमाएको अस्ट्रेलियाका लागि पूर्व कप्तान स्टिभन स्मीथले मात्र सम्हालिएर खेले। स्मीथले ८३ रन बनाए। एलेक्स कारेले ४६ रन बनाए।

स्मीथ र कारेले चौथो विकेटका लागि एक सय ३ रनको साझेदारी गरेपनि पुरा समय अष्ट्रेलिया दबाबमा रह्यो। टोलीले एक सय १७ रन जोड्दा कारे चौथो विकेटका रुपमा आउट भएपछि अस्ट्रेलिया थप दबाबमा आएको थियो।

तेस्रो नम्बरमा ब्याटिङमा आएका स्मीथले छैटौँ विकेटका लागि ग्लेन म्याक्सवेलसँग ३९ र सातौँ विकेटका लागि मिचेल स्टार्कसँग ५१ रनको साझेदारी गरे। माथिल्लो क्रमका  डेभिड वार्नर ९, एरोन फिन्च शुन्य र पिटर ह्यान्ड्सकम्ब ४ रनमा आउट भएपछि अस्ट्रेलिया १४-३ को स्थितीमा देखिएको थियो। म्याक्सवेलले २२  र स्टार्कले २९ रन बनाए।  स्मीथले १ सय १९ बलमा ६ चौका हिर्काए।

इंग्ल्याण्डका बलर अदिल रसिद र  क्रिस वाेक्सले तीन–तीन विकेट लिए।  जोफ्रा आर्चरले  दुई विकेट हात पारे। आर्चरले १० ओभरमा ३२ र रसिदले १० ओभरमा ५४ रन दिए। फाइनल आइतबार हुनेछ। न्यूजिल्याण्डले बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले हराएको थियो।

 

असार २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्