कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, महाधिवेशनको विषयले प्रवेश पाउने

नेपाली कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ – आइतबार केहीबेर मात्र बसेर स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आजदेखि निरन्तरता पाउने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजेदेखि पार्टी कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका, पार्टीको नियमावली, भाताभुंग भएका भातृ संगठनहरुको अधिवेशन, पहिलो चरणमा सम्पन्न भएको जागरण अभियानको समीक्षालगायतका विषयमा छलफल हुनेछन् ।

विज्ञापन

त्यस्तै बैठकमा समसामयिक राजनीतिक घटनामक्रम र सरकारको कार्यशैलीबारे पनि छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए । विधानअनुसार प्रत्येक चार/चार वर्षमा हुने महाधिवेशन २०७६ फागुनमा हुनुपर्ने भए पनि सभापति देउवाले डेढ वर्ष कार्यकाल लम्ब्याउने घोषणा गरेपछि उनी इतिरका नेताहरु अर्को महाधिवेशनको मिति तय गरेर त्यहीअनुसार कार्यतालिका पारित गर्नुपर्ने पक्षमा छन् ।

नियमित प्रक्रियाअनुसार फागुनमा महाधिवेशन हुने संभावना टरिसकेकाले थपिने अर्को एक वर्षभित्र जसरी पनि महाधिवेशन गर्नुपक्ष अडान वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले पक्षले राखेको छ । यो विषयमा बैठकमा निक्कै रस्साकस्सी हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए ।

त्यस्तै आइतबारको बैठकमा पेश भएको पार्टीको नियमावलीबारे पनि गम्भीरताका साथ छलफल हुने कांग्रेसले जनाएको छ । नियमावली मस्यौदा समितिका संयोजक रमेश लेखकले पेश गरेको नियमावलीले कांग्रेसलाई मास वेशबाट क्याडर वेशमा लैजाने प्रस्ताव गरेको छ ।

कम्युनिष्ट पार्टीमा जस्तै अब नेपाली कांग्रेसका सदस्य र क्रियाशिल सदस्यले नियमित रुपमा पार्टीलाई लेवी बुझाउनु पर्ने प्रस्ताव नियमावलीमा गरिएको छ । यो विषयले पनि केन्द्रीय समितिको बैठकमा महत्व पाउने देखिन्छ ।

बैठकले संक्रमणकालीन व्यवस्थाअनुसार अन्तरिम कालका लागि एकीकृत भएका संगठनहरुमा अधिवेशन गर्ने कि तदर्श समिति बनाउने भन्ने विषयमा निर्णय लिनेछ ।

अनुशासन समितिको प्रतिवेदन, भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने विषयमा, पार्टीका जनसम्पर्क समितिको अधिवेशनको सम्बन्धमा, पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुको कामको समीक्षा पनि बैठकमा हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्