नदी तटीय बस्तीमा बाढीकै त्रास

दाङ– लगातार परिरहेको पानीका कारण दाङका नदी तथा खोलामा पानीको सतह बढ्न थालेको छ । जसले गर्दा नदी किनारका बस्तीका नागरिक त्रसित बनेका छन् । पानी परिरहेकाले जनजीवन समेत प्रभावित बन्न पुगेको हो । लमही–तुलसीपुर क्षेत्रमा निर्माणाधिन पुलका कारण आवागमनमा समस्या परेको छ ।

दाङका ७९ क्षेत्रहरु बाढी र पहिरोको जोखिममा रहेको विपद् जोखिम विश्लेषणले देखाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७६ अनुसार उच्च र मध्यम गरी दश स्थानीय तहका ७९ वडाहरु बाढी र पहिरोको जोखिममा देखिएका हुन् ।

विज्ञापन

विपद् जोखिम विश्लेषणको सूचक अनुसारको एकीकृत तालिका अनुसार ३६ वटा वडा बाढी र ६ वटा वडा पहिरोको उच्च जोखिममा देखिएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले जानकारी दिए । त्यस्तै मध्यम तर्फ २१ वडा बाढीको र ६ वटा वडा पहिरोको जोखिममा रहेको छ ।

उच्च जोखिममा पर्ने पालिकाका वडाहरुमा राप्ती गाउँपालिकाका वडा नम्बर १ देखी ८ सम्म, गढवा गाउँपालिकाको १ देखी ७ सम्म, राजपुर गाउँपालिकाको पनि १ देखी ७ नम्बर वडा सम्म, दंगीशरणको १ र २ नम्बर वडा बाढीको उच्च जोखिममा रहेको विश्लेषण गरिएको छ ।

त्यसैगरी, बबईको १ र ७, शान्तिनगरको ५, ६ र ७, लमहीको २, ४, ६, ७ र तुसीपुर उपमहानगरको ५, ११ र १३ नम्बर वडा बाढीको उच्च जोखिममा रहेका छन् । विपद् व्यवस्थापन समितिका अनुसार मध्यम जोखिम तर्फ तुलसीपुर उपमहानगरकोे वडा नम्बर १, २, ३, ४, ७, १२, १४, १५, १६, १७, १८ र १९ नम्बर वडा परेका छन् ।

यसैगरी, घोराही उपहानगरको वडा नम्बर ३, ५, ८, ९, ११, १२, लमही नगरपालिकाको ८, ९ र गढवाको वडा नम्बर ८ बाढीको मध्यम जोखिममा देखिएका छन् । दाङमा पहिरोको उच्च जोखिममा ६ वटा वडाहरु परेका छन् ।

बंगलाचुली गाउँपालिकाको वडा नम्बर ३, ४, ५ ६ र शान्तिनगरको १ र ३ नम्बर वडा पहिरोको उच्च जोखिममा छन् । साथै बबई गाउँपालिकाको वडा नम्बर २ र ३, बंगलाचुलीको १, २, ८ र राप्ती गाउँपालिकाका वडा नम्बर ९ पहिरोको मध्यम जोखिममा रहेका छन् ।

विगतका वर्षहरुमा बाढीले दाङमा ठूलो जनधनको क्षति गरे पनि त्यसको प्रतिकार्यका लागि आवश्यक तयारी भने देखिएको छैन् । दाङका दश वटै स्थानीय तहमा विपद् पूर्व तयारीका योजनाहरु शून्य रहेका छन् ।

विपद् व्यवस्थापन समिति गठन भए पनि स्रोत साधनमा स्थानीय तहहरु खाली रहेका छन् । तालिम प्राप्त सुरक्षाकर्मी, उपचारका लागि स्वास्थ्यकर्मी, उद्धार तथा पूर्नःस्थापनका लागि स्रोत सामाग्रिहरु तयारी अवस्थामा रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

उद्धारको लागी तयारी कस्तो छ ?

दाङमा बाढी आएर बस्ती डुबानमा परिहाले उद्धारको लागी चारवटा डुंगा तयारी अवस्थामा राखिएको छ । तीनवटा सुरक्षा निकायसँग र एउटा रेडक्रस मातहत रहेको छ । उद्धारका लागि आवश्यक डोरी,ज्याकेट, लाईट,बुट लगायतका सामग्री तयारी अवस्थामा छ । तर, यी सामाग्री उद्धारको लागी प्राप्त भने होइन ।

जिल्ला प्रशासन कार्यालय दाङको आपतकालीन कोषमा तीन करोड ३८ लाख रकम रहेको छ, भने प्रत्येक स्थानीय तहले १० लाख देखी ५० लाखसम्म बजेट छुट्याएका छन् ।

पश्चिम राप्ती नदीमा पूर्वसूचना प्रणाली जडान

बाढी आउँदै छ भन्ने सूचना दिने जल सतह मापदन केन्द्र राप्ती गाउँपालिका वडा नं. १ बगाह सोतीमा पूर्व सूचना प्रणाली जडान गरिएको छ ।

प्यूठानको झिम्रुक नदीको चेर्नेटामा समेत पूर्व सूचना प्रणाली जडान गरिएको छ । यो प्रणालीबाट नदीमा पानीको सतह बढेमा पूर्वसूचना दिने छ ।

पाँच मिटर जलसतह बढेपछी चेतावनी संकेत बज्छ । अहिले भने १.६७ मिटर मात्रै जलसतह छ । अहिले पानीको सतह स्थीर छ । विपद् प्रतिकार्यको लागी सूरक्षा निकाय हाईअलर्टमा रहेका छन् ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्