बाँकेमा बाढीको जोखिमबारे पूर्व तयारी, उद्धार टोली एलर्ट

नेपालगञ्ज – बाँकेमा राप्ती नदीले ठूलो जनसंख्यालाई डुवानमा पार्छ । बर्खासँगै राप्ती नदीमा बाढी आउने र डुवान पार्ने भएकाले आकाशमा बादल देखेपछि तटीय क्षेत्रका बासिन्दा रातभरी सुत्न सक्दैनन् । यो कुनै नौलो कुरा भने होइन ।

पछिल्ला केही दिनदेखि पानी परिरहदा तटीय क्षेत्रमा डुवानको जोखिम बढेको छ । शुक्रबार बिहान राप्ती नदीमा २ मिटर ६ सेन्टीमिटर पानी थियो । नदीमा यो वर्षको अधिक भनेको ४ मिटर पानी पुगेको छ । बुधबार रातीको यो मापनलाई ठूलो या जोखिमयुक्त मानिदैन । राप्ती नदीमा ५ मिटर पानी चढ्दा तटीय क्षेत्रका बासिन्दालाई ‘चेतावनी’ दिइन्छ ।

पानीको लेबल ५.४० पुगेपछि ‘खतरा’ मानिन्छ र तटीय क्षेत्रका बासिन्दालाई उच्च ठाउँमा गएर बस्न लगाइन्छ । यो स्थिति यस वर्ष आइसकेको छैन ।

केही दिन यता नियमित पानी परिरहदा राप्ती नदीको जोखिमबारेमा पूर्व तयारी गरिएको छ ।

उद्धार सामाग्री तयारी अवस्थामा राखिएको छ । सेना, सशस्त्र र नेपाल प्रहरीको उद्धार टोली ‘एलर्ट’अवस्थामा राखिएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी बीरबहादुर वली भन्छन्, ‘सूचना आएको ५ मिनेटमा मुभ हुने गरी सुरक्षा निकाय हाइएलर्टमा बसेको छ । उद्धार सामाग्री तयारी अवस्थामा राखिएको छ ।’
बाँकेमा बाढी नै आउने गरी पानी परेको छैन । नेपालगञ्ज र कोहलपुरका केही ठाउँमा नाला थुनिएर पानी तालिएका छन् ।

नगरपालिकाले राम्रोसँग नाली सफा नगर्दा बुझिएर पानी नजादा पानी तालिएका हुन् । पानी घरभित्रै पसेर बस्नै नमिल्ने र उठीबास नै लाग्ने गरी डुवान भएका छैनन् । जिल्लाको समग्र चासो भने राप्ती नदीतिरै हुने गर्दछ ।

बाँके जिल्लाको दक्षिण क्षेत्र डुवानमा पर्न विगतमाजस्तो ठूलो पानी पर्नु पर्दैन । सानै पानी परेपनि त्यसको निकास नरहेकाले डुवानमा पर्ने जोखिम रहेको छ । त्यसको कारण भनेको भारतले दशगजासँग जोड्याएर बनाएको सडकजस्तो पक्की बाँध नै हो । बाँधले पानीको निकास थुन्ने भएकाले नेपाली गाउँ डुवानमा पर्दछन् । जुन असार ८ गतेको पानीले नरैनापुरका आधा दर्जन गाउँ डुवानमा परेर पुष्टि गरिसकेको छ ।

राप्ती नदीको हालत पनि उस्तै छ । भारतले सन् १९८५ मा राप्ती नदीमा लक्ष्मणपुर बाँध र सन् २००० मा कलकलवा तटबन्ध बनाएपछि बाँकेवासीको डुवानको पीडा शुरु भएको थियो । त्यसमा अझ सडकजस्तो बाँध बनाइदिएपछि डुवानको क्षेत्र बढेको छ । ठूलो पानी परेमा नेपालगञ्जसमेत डुवानमा पर्ने जोखिम रहेको छ । नेपालगञ्जको पानीको निकास पनि सडकजस्तो बाँधले थुनेको छ । प्राकृतिक बहावलाई रोकिएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिका अधिकारीहरु डुवानको जोखिमबारे पूर्वतयारी गर्दै विभिन्न गाउँपालिकामा उद्धार सामागी वितरण गर्दै हिडेका छन् । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख गौरी बुढाथोकीले बाढीबारे पूर्वतयारी गरिसकेको बताए ।

‘विभिन्न गाउँपालिकामा पुगेर उद्धार सामाग्री हस्तान्तरण गरेका छौं । जिल्लामा पनि तयारी अवस्थामा छ । उद्धार टोली पनि एलर्ट रहेको छ, बुढाथोकीले भने, राप्ती नदीको सतह डुवानको जोखिमसम्म पुगेको छैन । जिल्लामा अहिलेसम्म कतै डुवान भएको छैन ।’

राप्ती नदीमा बाढी आउदा फत्तेपुर, होलिया, बेतहनी, गंगापुर, नरैनापुर, कम्दी डुवानमा पर्छ । भारतले दशगजामा सडकजस्तो बाँध बनाएकाले अब त हिरमिनिया, जयसपुर, पिप्रहवा, भवानीयपुर, राधापुरलगायतका ठाउँ डुवानमा पर्ने जोखिम रहेको छ । राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध र कलकलवा भन्दा सडकजस्तो बाँधले डुवानको क्षेत्र बढाएको छ ।

सरकारले राप्ती नदीको डुवानलाई रोक्न दुवैतिर पक्की तटबन्ध निर्माणको काम गरिरहेको छ । नदीको दुवै किनारामा पक्की तटबन्ध हुने बित्तिकै डुवानको जोखिम कम हुन्छ । तर, सडकजस्तो बाँधको निकास के त ? अधिकारीहरुले कुनै उपाय सोचेका छैनन् । सडकजस्तो बाँध भत्काउनु पर्ने आवाज आइरहेको छ । सरकारले यस विषयमा भारतसँग कुनै छलफल चलाएको छैन ।

सडकजस्तो बाँध भत्काउन नसकेपनि पानीको निकास हुने गरी ठाउँठाउँमा ठूल्ठूला कल्भर्ट बनाउन आवश्य रहेको लक्ष्मणपुर बाँध संघर्ष समितिका सचिव राजकुमार शुक्ला बताउँछन् । ‘हामीले त सडकजस्तो बाँध भत्काउनु पर्छ । निर्माण रोक्नु पर्छ भनेर लागेका थियौँ । सरकारले वास्तै गरेन, सचिव शुक्लाले भने, भत्काउन नसकेपनि अब पानीको उचित निकास हुने गरी ठाउँठाउँमा कल्भर्ट बनाउन लगाउनु पर्छ । यति पनि गरिएन भने ठूलो पानी पर्ने बित्तिकै दक्षिणभेग पुरै डुवानमा पर्छ ।’

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्