इङ्ल्यान्डलाई फाइनल पुर्‍याएका कप्तान भन्छन् : चार वर्षअघि फाइनल पुग्ने कुरा हास्यास्पद हुन्थ्यो

अस्ट्रेलियाविरुद्ध जित हात पारेपछि इङ्ल्यान्डका कप्तान मोर्गन र जोए रुट।

लन्डन : इयोन मोर्गनले चार वर्षअघि इङ्ल्यान्डले एकदिवशीय विश्वकपको फाइनल  खेल्ने कुरा हास्यास्पद हुने गरेको बताएका छन्।

घरेलु मैदानमा जारी १२ औँ संस्करणमा बिहीबार अस्ट्रेलियालाई पराजित गर्दै इङ्ल्यान्ड २७ वर्षपछि फाइनल पुगेपछि टोलीका कप्तान मोर्गनले भने- ‘जब हामी सन् २०१५ को विश्वकपबाट बाहिरियौँ, त्यसपछि आगामी संस्करणमा इङ्ल्यान्डले फाइनल खेल्ने कुरा गर्दा मानिसहरु हाँस्थे (हास्यास्पद हुन्थ्यो)। यदि तपाईले भन्नु भएको थियो भने म नै हास्थेँ होला।’

विज्ञापन

अस्ट्रेलिया र न्युजिल्यान्डमा आयोजित त्यस संस्करणमा इङ्ल्यान्डले कमजोर प्रदर्शन गरेको थियो। त्यतिबेला समूहगत चरणबाटै बाहिरिएको इङ्ल्यान्डले केही नमिठा हार पनि ब्यहोरेको थियो।

बिहीबार साविक विजेता अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्यान्ड सन् १९९२ पछि पहिलोपटक एकदिवशीय विश्वकपको फाइनल पुगेको हो। यसअघि तीनपटक फाइनल खेलेको इङ्ल्यान्ड विश्व च्याम्पियन भने हुन सकेको छैन।

‘सन् २०१५ को विश्वकपपछि हामी जहाँ थियौँ र आज जहाँ छौँ यसमा नाटकिय सुधार भएको छ खासगरी खेल्ने शैली र हामीमाथी तपाईहरुले  अपेक्षा गर्ने स्तरमा’, मोर्गन भन्छन्।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्