लगातारको झरीले काठमाडौँका सडक जलमग्न (तस्बिरहरु)

काठमाडौँ – अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परि विभिन्न जिल्लामा मानिसहरुले ज्यान गुमाएका खबर आइरहेका छन् ।

काभ्रेमा एकै घरका दुईजनाको मृत्यु भएको छ भने भोजपुरमा पनि दुईजनाले ज्यान गुमाएका छन् । विशेष गरी प्रदेश १, २ र ३ मा लगातारको झरीले क्षति पुर्‍याउन थालेको छ ।

विज्ञापन

बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौँ उपत्यकामा पनि शुक्रबार बिहानैदेखि पानी परिरहेकाे छ । लगातारको झरीका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।

पानीको निकास राम्रोसँग नभएपछि राजधानीका सडकहरु जलमग्न भएका छन् । सवारी साधन गुडाउन अप्ठ्यारो भएको छ भने पैदल यात्रुहरुलाई पनि सास्ती भएको छ ।

सडकमा पैदलयात्री तथा सवारी साधनहरु कम देखिएका छन्। कतिपय स्थानमा सवारी साधनहरु पानीमा अड्किएका छन्। नदीहरुमा पनि पानीको बहाव बढेको छ।
तस्बिरहरु: मन्दिरा राउत/देश सञ्चार
असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्