लगातारको वर्षाले पर्साका गाउँहरु डुबानमा, खेतहरु कटानमा

लगातारको वर्षाले डुबानमा परेको पर्साका ग्रामीण क्षेत्र

वीरगञ्‍ज-लगातारको अबिरल बर्षाका कारण बिरगञ्ज महानगरपालिकाका विभिन्‍न गाउँहरु डुबानमा परेका छन्। बर्षाले बिरगञ्ज महानगरपालिकाको श्रीपुर, रानीघाट,राधेमाई, माईस्थान,प्रगति नगर,तेजारथ टोल लगायतका ठाउँहरु डुबानमा परेका हुन्।

यी ठाउहरुको सडकमा पानी जमेर आवत जावत गर्नमा समेत समस्या भएको स्थानीयहरुले बताएका छन्। लागातार परिरहेको वर्षाले पर्साका ग्रामिण भेगका गाउँहरु डुबानमा परेका छन् भने ग्रामीण क्षेत्रका नदीहरुमा पानीको बहाव तेज भएको छ।

विज्ञापन

नदीहरुमा पानीको सतह बढेकोले कुनै पनि बेला नदीको बढी गाउँहरुमा पस्न सक्ने सम्भावना रहेको स्थानीयबासीहरुको भनाई छ। नदीको पानीका कारण खेती योग्य जमिनहरु डुबानमा पर्नुका साथै कटान समेत भएको छ।

भारतसित सिमाना जोडिएको जानकाी टोलमा रहेको ओरिया खोलामा आएको बाढीले नजिकै रहेको दसौता गाउमा बाढी पसेको छ। यसैगरी पर्साकै भिस्वा, मुडली, लङ्गडी, धोबिनी, आशवारी, गुलरिया, जयमङ्गलापुर, सबैठवा, धोरे, हस्वा, मसिहानी, प्रसौनीभाटा, अमरपट्टि, गर्दौल लगायतका अधिकांश गाउँ पनि डुबानमा परेका छन्।

पर्सामा रहेका ओरिया, सिक्टा, गङ्गोल, तिलावे नदीमा आएको बाढीले खेतीयोग्य जमीन र मानवबस्तीमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर १ बिश्रामपुर टोलमा निर्माणाधिन अवस्थामा रहेको स्वाथ्य चौकी भवन डुबानमा परेको स्थानीय दिपेन्द्र साहले बताएका छन्।

साहका अनुसार वर्षाले स्वास्थय चौकी भवन डुबानमा पर्नुका साथै खेतहरुमा बाढीको पानी पसेको छ।नगरपालिकामा रहेको आधा दर्जन कुखुराको फर्म पनि डुबेको साहले बताए।

प्रशासनद्वारा सतर्क रहन अनुरोध


लगातार परिरहेको पानीका कारण गाउहरुमा बाढी आउन सक्ने भन्दै सम्भावित खतराबाट जोखिन जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले लागातारको पानीका कारण बाढी आउन सक्ने खतरा रहेको बताउदै बाढी आएमा वा बाढी आउन सक्ने सँकेत देखापरे नजिकैको प्रहरी चौकी वा जनप्रतिनिधीहरुलाई खबर गर्न आग्रह गरेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहहरुको समन्वयमा डुबान र बाढिको जोखीम रहेका स्थानहरुको पहिचानका लागि विवरण संकलनको काम गरिरहेको भन्दै उनले डुबान र बाढी आइहालेमा त्यहा उद्धारका लागि सुरक्षाकर्मीहरुलाइ पठाउन तयारी अवस्थामा राखिएको जनाएको छ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्