६ घन्टादेखि अवरुद्ध त्रिभुवन विमानस्थलमा उडान अनिश्चित

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान समस्या भएपछि उडान/अवतरण अनिश्चित बनेको छ।

धावनमार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ। निरन्तरको प्रयासका बाबजुद पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। उनले विमान रहेको ठाउँमा पानी र हिलो भएकाले तान्न कठिनाइ भएको बताए।

विज्ञापन

धावन मार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक खटिएका छन्। विमानलाई अगाडिबाट तान्न लामो प्रयास असमर्थ भएपछि पछाडिबाट तान्ने प्रयास भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए।

विमान धावन मार्ग नजिक धस्सिएकाले अहिलेकै अवस्थामा कुनै पनि उडान गर्न सकिन्न। विमान निकाल्न अझै कति समय लाग्ने टुङ्गो छैन। अहिलेको अवस्थामा उडान गर्न सकिने भए पनि सुरक्षा चासोलाई मध्यनजर गरी सेवा पुनः सञ्चालन गर्न नसकिएको विमानस्थलका महाप्रबन्धक क्षेत्रीले बताए।

उनले भने, ‘धस्सिएको विमानलाई निकाल्न असाध्यै गाह्रो भइरहेको छ। उपलब्ध सबै संयन्त्र परिचालन गरिएको छ तर पनि सफलता मिलेको छैन। अहिलेकै अवस्थामा उडान गर्न सकिन्छ तर ‘सेफ्टी’ का कारण रोकिएको हो। धावन मार्ग विमानको पङ्खाबाट ८० मिटर टाढा हुनुपर्ने भएकाले अन्तर्राष्ट्रिय त उडान गर्नै मिल्दैन, आन्तरिक उडान चाँहि खोल्नेबारे छलफल भइरहेको छ।’

काठमाडौँ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विभिन्न विमानलाई भारतको लखनउलगायतका गन्तव्यमा ‘डाइभर्ट’ गरिएको विमानस्थलले जनाएको छ। नेपालगञ्जबाट काठमाडौँ आएको यतिको एटिआर–७२ विमान विमानस्थलमा अवतरणको क्रममा बिहान ११ः०५ बजे धावन मार्गमा चिप्लिएको थियो ।

विमान धावन मार्गको दक्षिणतर्फ करीब १० मिटर ‘रन वे स्ट्रिप’ को घाँसे मैदानमा धस्सिएको छ। उडान नम्बर एनवाइटी–४२२ ९नाइन एन एएमएम० विमानमा सवार चालक दलका सदस्यसहित ६६ यात्रु सकुशल रहेको उक्त विमान कम्पनीले जनाएको छ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्