कोशी अञ्‍चल अस्पताल परिसर डुबानमा, मृतकका आफन्तद्वारा शव राखेर प्रदर्शन

मोरङ-अविरल वर्षाका कारण विराटनगरमा अवस्थित कोशी अञ्‍चल अस्पताल परिसर डुबानमा परेको छ।

बिहीबार अस्पतालको अग्रभाग, प्रशासन भवन तथा औषधालयमा पानी पसेको थियो। यद्दपी,अस्पतालमा क्षेत्रमा पानी डुबान भएसंगै मोटरपम्पबाट पानी निकासी गरिएको अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. रोशन पोखरेलले जानकारी दिए।

वर्षाका कारण बिहीबार बेलुका फार्मेसीतर्फ पनि डुबान भएको उनको भनाइ छ।तथापि डुबानबाट औषधीमा नोक्सानी नभएको डा. पोखरेलले स्पस्ट पारे। डुबानग्रस्त क्षेत्रमा बिहीबारदेखि नै मोटरपम्पबाट पानी निकासी गरिएको बताएका मेसु डा. पोखरेलले शुक्रबार दिउँसोबाट ती डुबान क्षेत्रबाट पानी निकासी गरिसकिएको जानकारी दिए।

यसक्रममा अस्पतालमा आउने विरामीको उपचार सेवामा कुनै समस्या नभएको डा. पोखरेलको भनाइ छ। अस्पतालमा पानी डुबान भएलगत्तै बिराटनगर महानगरपालिकाले आसपासको नाला सफाइ गरेको थियो।

अर्कोतर्फ शुक्रबार दिउँसो बिराटनगर १४ निवासी सेमानन्द यादवको मृत्युलाई लिएर अस्पताल बाहिर तनाव भएको थियो। २८ दिन अघि छोराको विवाहको कुरालाई लिएर महानगरपालिका वडा नम्बर १४ जतुवा का वडाध्यक्ष बलदेव यादवको घरमा पुगेका सेमानन्दमाथि आक्रमण हुदाँ घाइते भएका थिए।

उपचारार्थ यादवको बिहीबार भएको मृत्युलाई लिएर उनका परिवारले दिउँसो अस्पतालको मुल गेट अघि सडकमा शव राखेर प्रदर्शन गरेका थिए। मृतकका आफन्तले कुटपिटमा संलग्त भएकाहरुको बारेमा किटानी जाहेरी दिदाँ समेत पक्राउ नगरिएको भन्दै उनीहरुले प्रदर्शनी गरेका थिए।

मृतकका आफन्त धिरेन्द्र यादवले कुटपिटमा संलग्न जनप्रतिनिधि लगायत अन्य व्यक्तिहरु खुलेआम हिंडडुल गरेपनि पक्राउ नगरिएको दुखेसो गरे।पीडित परिवारको तर्फबाट कुटपिट गर्ने विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउन माग गर्दै किटानी जाहेरी दिंदा पनि प्रहरीले वास्ता नगरेको यादवको भनाइ छ।

सोही क्रममा प्रहरीले घटनामा संलग्‍नलाई तत्काल पक्राउ गरेर कारबाही अघि बढाउने प्रतिवद्धता जनाएपछि पीडित पक्ष शव बुझन तयार भएको थियो। शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको छ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्