चितवनमा ४७ प्रतिशत मात्र रोपाइँ

चितवन-जिल्लामा ४७ प्रतिशत रोपाइँ भएको छ। मनसुन ढिलो सक्रिय हुँदा र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण जिल्लामा अपेक्षाकृत रोपाइँ नभएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ।

केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले जिल्लामा कूल धान रोपाइँ २८ हजार ६०० हेक्टरमध्ये आजसम्म करीब १३ हजार ३७० हेक्टरमा मात्र रोपाइँ भएको जानकारी दिए।

कार्यालयका प्रमुख सुधीर श्रेष्ठका अनुसार जिल्लामा अघिल्लो वर्षको तुलनामा रोपाइँको प्रतिशत बढेको छ। अघिल्लो वर्ष यही समयमा ३९ प्रतिशत मात्र रोपाइँ भएको उहाँले जानकारी दिनुभयो। अहिले कृषकले डिपबोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गरेको उनले बताए।

आकाशे भरमा रोपाइँ हुने र बीउ ढिला राखेका किसानको हकमा भने अहिलेसम्म रोपाइँ भएको छैन। कार्यालयका अनुसार भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा रोपाइँ हुनसकेको छैन। पानी पर्न ढिला गरेका कारण ती क्षेत्रमा रोपाइँ हुन नसकेको हो।

भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकामा १५÷१५ प्रतिशत मात्र रोपाइँ भएको छ। यस्तै माडीमा ३५ प्रतिशत, रत्ननगरमा ८० प्रतिशत, खैरहनीमा ९५ प्रतिशत, राप्तीमा ९० प्रतिशत र कालिका नगरपालिकामा ६५ प्रतिशत खेतीयोग्य जमीनमा रोपाइँ भएको छ।

बाली विकास अधिकृत पौडेलले रोपाइँ ढिला हुँदा बीउको उमेर बढ्ने भएकाले उत्पादकत्व यस वर्ष घट्नसक्ने बताए। ढिलो रोपाइँ गर्दा सूर्यको प्रकाशमा कमी भयो भने पनि उत्पादन घट्न जान्छ।

रोपाइँ हुन नसकेका क्षेत्रमा नहरको पानी ढिला छोड्नु र सिँचाइका लागि आकाशे पानीमा भर पर्नुपर्ने भएकाले समस्या आएको कार्यालयका सूचना अधिकारी रामराजा पौडेलले जानकारी दिए। घिल्लो वर्ष जिल्लामा एक लाख ६७२ मेट्रिकटन घान उत्पादन भएको थियो।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्