हुम्लामा दुई दिनदेखि हवाई सेवा ठप्प

सिमकोट– जिल्लामा मनसुन भित्रिएसँगै दुई दिनदेखि हवाई सेवा बन्द भएको छ।

हवाई सेवा बन्द भएपछि मानसरोवर कैलाशको धार्मिक यात्रा गरेर सिमकोट फर्केका भारतीय पर्यटकहरु रोकिएका छन्। निर्माण सामाग्रीदेखि दैनिक उपभोग्य सामान पनि आउन बन्द भएको छ।

बुधबार बेलुका मानसरोवर कैलाशको यात्रा गरि सिमकोट फर्केर आएका ४० जना भारतीय पर्यटकहरु बिहीबार नेपालगञ्ज फर्कने कार्यक्रम रहेको भए पनि मौसमका कारण हवाई सेवा शुक्रबारसम्म पनि संचालनमा नआउँदा सिमकोट मै रोकिएका छन्। साथै हिल्साबाट सिमकोट आउने पर्यटकहरु पनि हेलिकोप्टरहरुले उडान भर्न नसकेपछि हिल्सा मै रोकिएका छन्। सिमकोट र हिल्सामा रोकिएका पर्यटकहरु होटेलमा बास बसिरहेका छन्।

यता सिमकोटबाट हिल्साका लागि यात्रा गर्ने आठ जना मानसरोवर कैलाशका यात्रीहरु पनि बिहीबारदेखि कुनै हेलिकप्टरहरुले उडान नभर्दा सिमकोट मै रोकिएको हुम्ला रिसोर्ट एण्ड स्पाका म्यानेजर पेमा लामाले बताए।

नेपालगञ्ज झर्नुपर्ने ती भारतीय पर्यटकहरुको सिता र तारा एयरलाईन्समा टिकट बुक गरिएको छ। यता बिहानभरीको वर्षाको कारण भिजिबिलिटी कम भएका कारण शुक्रबार पनि फ्लाईट हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ।

जसको कारण नेपालगञ्जबाट आउनुपर्ने ३० जना भारतीय नागरिक नेपालगञ्ज मै रोकिएको सिता एयरका सिमकोट इन्चार्ज छपाल लामाले बताए।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्