जर्मनीमा कलाकार लुकेको विषयमा थिएटर भन्छ, ‘संस्थाको साख गिर्‍यो’

पोखरा – युथ थिएटर पोखराले जर्मनीमा नाटक पछि सम्पर्कविहिन भएका कलाकारको कारण संस्थाको साख गिरेको बताएका छन्। शुक्रबार थिएटरले कलाकार हराएको विषयमा पत्रकार सम्मेलन गरी आधिकारीक जानकारी दिएको हो। लोक नाटक ‘घेरो’ मञ्चन पछि ४ जना कलाकार शर्मिला बस्नेत, सम्झना शर्मा, संरचना पौडेल (अञ्जना) र मधुसुदन पौडेल सम्पर्कविहिन भएका थिए। नाटक मञ्चन गर्न १२ जनाको टोली असार १८ गते जर्मनी गएको थियो।

शुक्रबार पत्रकार सम्मेलनमा थियटरका अध्यक्ष कपिल शर्माले कलाकार लुकेको विषयमा मानव तस्करी गरेको समाचार प्रकाशन गर्नु गलत भएको बताए। जर्मनी जादा सबै कलाकारलाई नेपाल फर्कने प्रतिबद्धता गराएर लगिएको बताउँदै उनले भने, ‘त्यहाँ जाँदा संस्थाले सहीछाप गरेर लगेको हो । आउँदो सेप्टेम्बरमा क्यानडामा नाटक देखाउनुछ । हामीले किन कलाकार बेच्थ्यौं र? हामीले भगाएको प्रमाणित भए सजाय भोग्न तयार छौं ।’

विज्ञापन

शर्मा सम्पर्कबिहिन कलाकारले आफूलाई सञ्चो नभएको बताएपछि होटेलमा नै आराम गर्न अनुमति दिएको र पछि आउँदा उनीहरु नभएको दाबी गरे। ‘हाम्रो टोलीका अफिसियल डाक्टरलाई उपचारका लागि लिएर आउँदा उनीहरु सामान होटलमै छोडेर भागिसकेका थिए,’ उनले भने। लुकेको भनिएका मध्ये सम्झना शर्मा पोखरा फर्किसकेही छिन् । बाँकी ३ जना उतै छन्।

जर्मनीबाट लुकेकामध्ये मधुसूदन पौडेल केही दिनअघिसम्म सम्पर्कमा रहेर अचेल सम्पर्कविहीन भएको र शर्मिला बस्नेत, संरचना पौडेल (अञ्जना) भने भागेकै दिनबाट सम्पर्कमा नरहेको थिएटरका सचिव पोखरेलले जानकारी दिए । उनले कलाकार भागेकोबारे आयोजक र नेपाली दुतावासलाई जानकारी दिएको बताएका छन्।

जर्मनीमा भागेका मध्ये मधुसूदनले २ दिनअघि पोर्चुगलमा रहेको फेसबुक मार्फत जानकारी गराएका थिए। युथ क्रियसन थियटरका सदस्य समेत रहेकी सम्झना शर्मा नेपाल फर्किएकी छिन् । उनले आफू भागेको नभई ट्रान्जिटमा परेर ढिलाई भएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएकी छिन् ।

सम्झना ‘घेरो’ नाटकका लेखक केदार शर्माकी पत्नि हुन् । पौडेलले आफ्नी श्रीमती उतै लुकेको नभइ भिसअवधि ११ दिनको रहेकाले ढिलाइ भएको प्रष्टाए । उनले भने, ‘कलाकार सबैको भिसा म्याद अलगअलग थियो । सबैभन्दा बढी म्याद सम्झनाको ११ दिनको थियो । त्यसमा पनि उनी २१ घन्टा ट्रान्जिटमा परिन्। अन्य असार २३ गते नै नेपाल आइसकेका थिए।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू