समयमा काम नसक्ने राष्ट्रसेवकलाई सरकारले दण्डित गर्नेः मन्त्री यादव

काठमाडौँ– उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले समयमै काम सम्पन्न नगर्ने राष्ट्रसेवकलाई सरकारले दण्डित गर्ने बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित विद्यमान वाणिज्य तथा आपूर्ती व्यवस्थापन विषयक कार्यक्रममा मन्त्री यादवले यस्तो बताएका हुन्।

विज्ञापन

कार्यक्रममा बोल्दै मन्त्री यादवले उद्योग व्यवसायको समग्र विषयमा छलफल गर्न सरकारले उद्योग वाणिज्यसम्बन्धी विषयगत वृहत बहस एवं छलफलको आयोजना गर्न लागेको भन्दै त्यसका लागि सुझाव दिन निजि क्षेत्रलाई आग्रह गरे।

मुलुकको समग्र विकासको लागि निरपेक्ष व्यापारभन्दा पनि उत्पादन सहितको व्यापारमा जोड दिनुपर्ने आजको आवश्यकता रहेका उनले बताए।

उक्त कार्यक्रममा बोल्दै वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारीले मुल्य सूची हेर्न पाउनुपर्ने उपभोक्ताको नैर्सगिक अधिकार भएको बताए। उनले हाल उपभोक्ता संरक्षण नियमावली बन्ने क्रममा रहेको भन्दै आगमी दिनमा बजार अनुगमनमा तिव्रता आउने बताए।

सो अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजार मूल्य सन्दर्भमा अतिआवश्यक वस्तु र विलासी वस्तुमा अन्तर गरिनुपर्नेमा जोड दिए। उनले विश्व व्यापार संगठनको मान्यताअनुसार नेपालमा भन्सार दरबन्दी कम हुँदै जानु पर्नेमा बढ्दै गएको भन्दै यसले बजार भाउ बढ्ने सम्भावना रहेको बताए।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्