हरैया शिविरका घर टहरामा आगो लगाइयो

हरैया सुकुम्वासी शिविर/ फाइल तस्बिर

धनगढी-कैलालीको हरैया शिविरमा बस्दै आएका सुकम्बासीका टहरामा आगो लगाइएको छ। विहीबार घर टहरा हटाउनको लागि पनेकपाका कार्यकर्ता परिचालन गरिएकोमा शुक्रबार घरमा आगो लगाउन पनि पूर्व माओवादी दलको भातृ संगठन वाइसिएल प्रयोग भएको बुझिएको छ।

गोदावरी नगरपालिका वडा नम्बर–६ मा रहेको हरैया शिविरका संरचनामा आगो लगाउन अत्तरियाबाट पूर्व वाईसिएलमा आवद्ध युवाहरु सो ठाउँमा पुगेका थिए। हरैया शिविरमा तत्कालिन माओबादीले नै २०६१ सालमा सुकम्बासीलाई राखेको थियो।

विज्ञापन

हात हातमा लाठी समातेर युवाहरू घर भत्काउदै आगो लगाउन थालेपछि शिविरमा बस्ने स्थानीयले विरोध गर्न खोजे पनि युवाहरुका अगाडी उनिहरुको केही लागेन।

हरैयाका सुकुम्बासीलाई उठाएर धनगढी उपमहानगरपालिका-१७ स्थित धुरझन्नामा राखिएको थियो। तर त्यहाँ व्यवस्थापन राम्ररी नगरिएको भन्दै केही सुकम्बासी फेरी हरैया फर्किएका थिए।

हाल ४८ परिवार हरैयामै शिविरमा बसोवास गर्दै आएका थिए।हरैयामा सुकुम्बासी बसेको जग्गा खरिद गर्ने सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालि पोखराले धुरझन्नामा ५९ कट्ठा जग्गा किनेर उनीहरुलाई व्यवस्थापन गरेको दावी गर्दै आएको छ।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्