पाल्पाको रैनादेवीका दुई गाउँमा झाडापखाला फैलियो, ५० जना बिरामी

बुटवल-पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको मौरान र अर्चलेका ५० भन्दा बढी मानिस झाडापखाला लागेर बिरामी परेका छन्।

बिरामीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल पाल्पाका प्रमुख डाक्टर पुष्प ज्ञवालीले जानकारी दिए। बिहिबार दिउँसो ४ जनालाई सामान्य झाडापखाला लागेकोमा शुक्रबार बिहानदेखि सिंगो गाउँमै झाडापखाला फैलिएको उनले बताए।

जिल्ला अस्पताल पाल्पाका डाक्टर गगन अधिकारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार थालेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव प्रसाद ज्ञवालीले बताए। उनका अनुसार बिरामीलाई सलाइन चढाउनुका साथै जीवनजल खुवाउने काम भइरहेको छ।

बिरामीमध्ये चारजनालाई थप उपचारका लागि तानसेन स्थित युनाइटेड मिशन अस्पताल ल्याइएको छ। ‘अहिले पनि झाडापखाला नियन्त्रण बाहिर रहेको छ’ उनले भने, ‘तर आत्तिनुपर्ने अवस्था भने छैन, दूषित पानीको कारण झाडापखाला लागेको हुनसक्ने अनुमान छ।’

झाडापखाला लागेका बिरामीहरूको अवस्थाबारे थप विवरण आएको छैन । मौरानमा बिरामी भएका मध्ये अधिकांश कुमाल समुदायका रहेका छन्।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू