वर्षासँगै आएको बाढीपहिरोबाट प्रदेश एकमा नौ जनाको मृत्यु

मोरङ– तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट प्रदेश एकमा नौ जनाको मृत्यु भएको छ।

प्रदेश एक आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार वर्षासँगै बाढी र पहिरोका कारण खोटाङमा तीन, भोजपुरमा दुई तथा ओखलढुंगा, इलाम, पाँचथर र सुनसरीमा एक–एक जनाको मृत्यु भएको हो।

विज्ञापन

त्यसैगरि मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले हालसम्म जिल्लामा मानविय क्षति नभएको जानकारी दिए। यद्यपी वर्षापछि डुबान र बाढीका कारण जिल्लाभर करिब ८ सय घरपरिवारका ३ हजार मानिस प्रभावित भएको उनले बताए।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार वर्षाका कारण ३ हजार मानिसले आफ्नो घर छाडेर बाहिर बस्नुपर्ने बाध्यता आएको छ। हाल उद्धारका लागि आवश्यक स्थानमा नेपाली सेनासहित नियमित रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय जनप्रतिनीधिको समन्वयनमा कार्य भइरहेको उनले जानकारी दिए।

यस्तै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ। वर्षासँगै शुक्रबार कोशी ब्यारेज कन्ट्रोल रुममा मापन गरिएको पानीको बहाव प्रतिसेकेण्ड १ लाख ६५ हजार क्यूसेक पुगेको थियो। कन्ट्रोल रुमका अनुसार पानीको सो बहाव यसपटकको अधिकतम हो।

प्रतिघण्टा नदीमा पानीको बहाव बढ्दै गएको बताएको ब्यारेज कन्ट्रोल रुमका अनुसार दिउँसोसम्म ब्यारेजको ५६ ढोकामध्ये २२ वटा ढोका खुल्ला गरिएको थियो। नदीमा पानीको बहाव उच्च भएसँगै ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ। सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

सप्तकोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक पुगेपछि रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिन्छ।

यसअघि २०६५ साल भदौ २ गते १ लाख ६८ हजार प्रतिसेकेन्ड क्यूसेक पानीको वहाव हुँदा सप्तकोसी नदीको पूर्वी तटबन्ध भत्किएको थियो। जसकारण स्थानीय हरिपुर, श्रीपुर, पश्चिमकुशाहा र लौकही गाविस डुबानमा परेका थिए। सो समय डुबान प्रभावित क्षेत्रबाट ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए।

असार २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्