सोमालियाको एक होटलमा आत्मघाती बम बिस्फोट तथा अन्धाधुन्ध गोली प्रहार

सोमालियाको दक्षिणी क्षेत्रमा रहेको होटलमा आत्मघाती आक्रमण हुँदा कम्तिमा सातजनाको ज्यान गएको छ । ज्यान जानेमा क्यानडियन–सोमाली टेलिभिजन पत्रकार होडन नालायिह पनि रहेको जनाइएको छ ।

आत्मघाती आक्रमणकारीले बिस्फोटक पदार्थसहितको कार किस्मायोमा रहेको एसासी होटलमा बिस्फोट गराएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । घटनामा नालयिहका श्रीमानको पनि ज्यान गएको छ ।

इस्लामिक समूह अल–शबाबले आक्रमणको जिम्मा लिएको छ । आक्रमण भएका बेला होटलमा क्षेत्रीय राजनीतिज्ञ र नेताहरु थिए । उनीहरुले आउँदो क्षेत्रीय चुनावका बारेमा छलफल गरिरहेका थिए ।

कार बम बिस्फोट भएपछि होटल भित्र गोली चलेको सुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अझै पनि होटलमा आक्रमणकारी छन् या छैनन् भन्ने स्पष्ट भएको छैन ।

असार २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्