केरा, चना तथा बदाम, जसले बढाउँछ पाचनमा सहयोग गर्ने ब्याक्टेरिया

कुपोषणबाट प्रभावित भएका बालबालिकाको पाचन प्रक्रियामा सहयोग गर्ने खालका ब्याक्टेरिया केरा, चना तथा बदामसहितका खाद्य पदार्थमा पाइने र त्यसबाट कुपोषित बालबालिकाको विकासका सहयोग पुग्ने अनुसन्धानबाट देखिएको छ ।

केरा, चना तथा बदामबाट बनेका परिकारले स्वस्थ माइक्रोअर्गानिजम (ब्याक्टेरिया) को मात्रा बढाउन सहयोग गर्ने अमेरिकी अनुसन्धानकर्ताले बंगलादेशमा गरेको अनुसन्धानमा देखिएको हो ।

पाचन प्रक्रियामा सहयोग गर्ने खालका ब्याक्टेरियाको मात्रा बढेपछि कुपोषणका कारण प्रभावित भएर शारीरिक तथा मानसिक विकास रोकिएका बालबालिकाको हड्डी, मस्तिष्क तथा शरीरका अरु भागको वृद्धि विकासमा सहयोग पुग्ने अनुसन्धानकर्ताले बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा पाँच वर्षमुनिका १५ करोड बालबालिका कुपोषणबाट प्रभावित रहेका छन् । कुपोषित बालबालिका साना तथा कमजोर हुनुका साथै उनीहरुमा पाचनका लागि सहयोग गर्ने मित्रु ब्याक्टेरियाको मात्रा पनि कम हुन्छ ।

स्वस्थ बालबालिकाको तुलनामा पाचनका लागि सहयोग गर्ने ब्याक्टेरिया कुपोषित बालबालिकामा कम हुँदा पोषणायुक्त खानाको असर पनि उनीहरुमा कम देखिन्छ । तर केरा, चना तथा बदामले पाचनलाई सहयोग गर्ने ब्याक्टेरिया बढाउन सहयोग गर्ने अनुसन्धानकर्ताले बताएका छन् ।

अमेरिकाको सेन्ट–लुइसमा रहेको वासिङ्टन विश्वविद्यालयका वैज्ञानिकले बंगलादेशका बालबालिकामा पाचनका लागि सहयोग गर्ने विभिन्न मित्र ब्याक्टेरियाको अध्ययन गरेका हुन् ।

उनीहरुले त्यसपछि कुन खाद्यान्नले महत्वपूर्ण ब्याक्टेरियाको वृद्धिमा सहयोग गर्छ भनेर मुसा तथा सँगुरमा परीक्षण गरिएको हो ।

त्यसमा केरा, चना तथा बदामले सबैभन्दा बढी सहयोग गर्ने देखिएको हो । यस्ता माइक्रोबले हड्डीको विकास, मस्तिष्कको विकास र प्रतिरोधात्मक क्षमताको बिस्तार गर्न सहयोग गर्ने देखिएको हो ।

असार २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्