त्रियुगा नदीको बाँध फुट्दा २ हजार घरपरिवार विस्थापित, सेना-प्रहरीद्वारा उद्धार र राहत

फाइल तस्विर

उदयपुर- चार दिनको लगातारको वर्षाले त्रियुगा नदीमा बाढी आउँदा शिरदेखि तिरसम्म करिव ४३ किलोमिटरको गाउँबस्तीमा रहेको करीब २ हजार घर डुबानमा परेको छ।

त्रियुगा नदीमा आएको बाढीले डुबानमा परेको बस्ती। सप्तकोशीको भंगालोको कारण त्रियुगा नदीको पानीको निकास नहुँदा बेलका नगरपालिका-१ अम्बासीमा बाँध फुटेर नगरपालिकाको आमबासी, पुरन्दह, भागलपुर, बेलहा, करैया, चन्द्रपुर लगायतका गाउँ डुबानमा परेको हो। तस्बिर-सुखीलाल चौधरी

बाढीले त्रियुगा नगरपालिकाले त्रियुगा नगरपालिका १२ त्रिवेणी टोल, चौदण्डीगढी नगरपालिका ५ बेल्हा खैरा र बेलका नगरपालिका-१ अम्बासीमा बाँध फुटेर बस्ती डुबानमा परेको बेलका नगरपालिका २ का वडा सदस्य कुमार अधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार सप्तकोशीको भंगालोको कारण त्रियुगा नदीको पानीको निकास नहुँदा बेलका नगरपालिका-१ अम्बासीमा बाँध फुटेर नगरपालिकाको आमबासी, पुरन्दह, भागलपुर, बेलहा, करैया, चन्द्रपुर लगायतका गाउँ डुबानमा परेको हो।

उनले भने, ‘त्रियुगा नदीमा यो वर्षेनीको समस्या हो, सप्तकोशीको भंगालोले त्रियुगा नदीको पानीको बहावलाई निकास हुन दिँदैन र त्रियुगा नदी गाउँ गाउँमा पस्छ।’ उनका अनुसार नगरपालिकाका आधा दर्जन गाउँमा गरी करिव २ हजार घरपरिवार विस्थापित भएका छन्।

यस्तै फत्तेपुर पुल र चन्द्र नहरको विचमा बाढी पस्दा आमबासीका करिव २ सय ५० भन्दा बढीको उद्धार गरिएको इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज नविन कुमार सिंहले जानकारी दिए। उनका अनुसार घरहरुमा करीब ७ देखि ८ फिटसम्म पानी जमेको छ।

डुवानमा परेकाहरुको अन्‍नपात, खानेकुरा, लत्ताकपडा बगेकोले राहतको लागि नगरपालिका, नेपाल रेडक्रस सोसाइटीले बाँडने तयारी गरेको छ।

यस्तै त्रियुगा नदीले चौदण्डीगढी नगरपालिका-५ बेल्हामा बाँध फुटाएको छ। बाढीले सयौ बिहागहा जमिन बगरमा परिणत भएको छ भने १० घर परिवारको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले उद्धार गरेको स्थानीय युवा भाष्कर चौधरीले जानकारी दिए। उनका अनुसार उद्दार गरिएका परिवारलाइ स्कुलमा राखिएको छ।

यता त्रियुगा नदीले त्रियुगा नगरपालिका १२ त्रिवेणी टोलमा बाँध फुटदा दुई घर भत्काएको छ। विष्णु मगर र प्रथम डुमको घर बाढीले भत्काएको छ। यस्तै बरुवा खोलाले पनि पुरानो गाईघाट, लक्ष्मीपुर, विसनपुर लगायत गाउँ डुबानमा परेको छ।

तस्बिरहरु-सुखीलाल चौधरी/भाष्कर चौधरीको सहयोगमा

असार २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्