पर्सामा बाढीले सडक सम्पर्क टुट्यो, राहत वितरणमा समस्या

फाइल तस्बिर

वीरगञ्ज– पाँच दिनदेखि लागातार परिरहेको पानीका कारण वीरगञ्ज महानगरपालिकासहित पर्साका ग्रामीण क्षेत्रहरुको सडक सम्पर्क टुटेको छ। अविरल वर्षाका कारण सडक टुटफुट भएकोले ग्रामीण क्षेत्रहरुको सडक सम्पर्क टुटेको हो।

वीरगञ्ज महानगरपालिकाको ग्रामीण क्षेत्र वडा नम्बर ३० लालपर्सा टोलमा भेडाहा खोलाको पानी सडक माथिबाट बगिरहेका कारण वीरगञ्जसँग ग्रामीण क्षेत्रका वडाहरुको सडक सम्पर्क अवरुद्ध भएको छ। लालपर्सा टोलमा रहेको सडक माथिबाट तीन फिट पानी भएकाले वडा नम्बर २८ बगही, २९ बस्डिल्वा, ३० लालपर्सा, ३१ बेल्वा टोलको सडक सम्पर्क वीरगञ्जसँग अवरुद्ध भएको छ।

यस्तै पर्साको ग्रामीण भेग जोड्ने हुलाकी सडक, पदम रोड, गण्डक नहर सडकमा बाढीको पानीले क्षति पुर्‍याएकोले उक्त सडकमा आवतजावत गर्नमा कठिनाई भएको छ। सखुवाप्रसौनी गाउँपालिको खजुरिया र तिरही खोला, पटेर्वा सुगौलीको गादी खोला र पर्सागढी नगरपालिकाको सिंघाइ खोलामा आएको बाढीले सडक अवरुद्ध भएको छ।

यसैगरी थरुहट सडकको हरपुर, एकटाँगा, श्रीपुर पचगाँवा, पटेर्वासुगौली, सेढवाका विभिन्न स्थानमा भलुवाही खोलाको बाढी र वर्षाको कारण सडक अवरुद्ध भएको छ। ग्राभेल र माटोले पुरेर बनाइएका सडकहरू धेरैजसो हिलाम्य भएर सडक अवरुद्ध भएका छन्।

हुलाकी सडकको गर्दौल, रामनगर, लखनपुर, हरपुर, नौकाटोला र नौकाटोलादेखि सुवर्णपुरसम्मको सडक हिलोको कारण अवरुद्ध छ। त्यहाँ सवारीसाधन सञ्चालन हुने अवस्था छैन। गण्डक सडक अन्तर्गत वीरगञ्ज महानगरको जगरनाथपुर, मनियारीदेखि बहुदरमाई नगरपालिकाको डोकैला बहुअरी, सखुवाप्रसौनीको महुवन र जगरनाथपुर गाउँपालिकाको औराहा, झकरा मसिहानी, जानकीटोलासम्म सडकखण्ड अवरुद्ध छ।

नहर र सडक मर्मतको नाममा माटो पुर्ने काम भएकोले पनि हिलो, खाल्डो भएर सवारीसाधन चल्ने अवस्था नरहेको स्थानीयले बताएका छन्। बाढीका कारण राष्ट्रिय राजमार्गसँग ठोरीको सडक सम्पर्क चार दिन यता विच्छेद हुँदा जनजीवन प्रभावित भएको छ। जिल्ला सदरमुकाम वीरगञ्ज र चितवनको भरतपुरसँग ठोरीको सिधा सडक सम्पर्क टुटेपछि बाढी तथा डुवान प्रभावितलाई राहतका सामाग्री अहिलेसम्म पुर्‍याउन सकिएको छैन।

प्रहरी चौकी अन्यत्र सारियो

लागातार परिरहेको पानीका कारण बाढीले प्रहरी चौकीमासमेत क्षति पुर्‍याई बस्न सक्ने अवस्था नभएपछि पर्साको ग्रामीण क्षेत्रका तीनवटा प्रहरी चौकीहरु अन्यत्र सारिएको छ। पर्साको पकाहा मैनपुर गाउँपालिकाका सबैठवामा रहेको प्रहरी चौकी सबैठवालाई नेपाली कांग्रेसको वडा नम्बर ५ को भवनमा सारिएको छ।

यस्तै छिपहरमाई गाउँपालिकाको बुडगाई प्रहरी चौकीलाई गाउँपालिकाको वडा नम्बर ३ मा बन्दै गरेको २ तल्ले पक्की घरमा सारिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। त्यसैगरि बाढीको पानीले समस्या भएपछि पकहा मैनपुर गाउँपालिकाको खेस्राहा टोलमा रहेको खेस्राहा प्रहरी चौकीलाई पनि अन्यत्र सारिएको छ। प्रहरी चौकीलाई खेस्राहा विद्यालयमा सारिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

यसैगरी पाँच दिनदेखिको झरीका कारण पर्साका केही स्थानमा घरहरुमा पानी पसेको छ भने केही घरहरुसमेत भत्केका छन्। पर्साको कालिकामाई गाउँपालिकाको वडा नम्बर १ र ५ मा दुई वटा घर बाढीले भत्काएको छ। पकहा मैनपुर गाउँपालिकामा १५ वटा घरहरुमा पानी पसेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। यस्तै जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा २५ वटा घरहरुमा पानी पसेको छ। ती मध्ये ६ वटा घरहरुमा बस्न नमिल्ने गरि पानी पसेपछि घरका मानिसहरुलाई अन्यत्र सारिएको छ।

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ निचुटाको मोर टोलमा केही घरहरुमा बाढी पसेको तथा त्यहाँ प्रहरी टोली खटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

असार २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्