मनले डोर्‍याएको गाेसाइँकुण्ड यात्रा

गोसाइँकुण्ड। फाइल तस्बिर

‘रामजी, पर्खिनुस् न।’

बायाँ खुट्टा ढुङ्गामाथि राखेर लामो सास फेर्दै मैले भनेँ। मेरो दायाँ काँधमा छड्के झोला, दायाँ हातमा लौरो थियो।

हुस्सु लागेको थियो, पानी सिमसिम परिरहेको। झोलाबाट रेनकोट निकालेर ओढ्ने जाँगर थिएन, ओत लाग्ने रुख थिएनन् । हामी समुन्द्र सतहबाट ३३०० मिटरको उचाइमा थियौँ । शायद हिमाली क्षेत्रमा प्रवेश गर्दैछौँ भन्ने छनक दिएको थियो मौसमले।

धुन्चेबाट करिव आधाघण्टा हिँडेपछि पुगिन्छ त्रिशुली खाेला जुन गाेसाईँकुण्डबाट बग्दै आएकाे छ ।

चोलाङपाटीबाट माथि लौरी विनायकको उकालो चढ्दै थियौँ। करिब २० मिटरको दूरीमा उकालो चढ्दै थिए उनी। करिब साठी डिग्रीको कोणमा उकालो लागेका हामी अलि छिटो पाइला चालिरहेका थियौँ। मनमा थियो कतिबेला गोसाईँकुण्ड पुगिन्छ भन्ने।

कालो ज्याकेट र कालो ट्रयाकसुट लगाएका राम– राम न्यौपाने, बायाँ हातको लौरो दायाँ हातमा लिँदै टक्क अडिए। पुलुक्क पछाडि फर्किएर मुस्कुराउँदै भने, ‘गाह्रो भयो।’ लामो सास फेरेर ढुङ्गामा बसे। म बिस्तारै उकालो लागेँ र उनकै छेउको ढुङ्गामा बसेँ।

काँधको झोला सँगैका ढुङ्गामा राखेँ। ज्याकेटको चेन तल सारेर आफू उक्लिएको बाटो हेरेँ। हामी लगभग लौरीविनायक पुग्नै लागेका थियौँ। केही माथि ‘लौरिबना’ लेखिएको पहेँलो बोर्ड देखियो। त्योभन्दा अलि माथि देखिएको होटलमा खाना खाने भनेर चोलाङपाटीमा नखाएर उकालो लागेका थियौँ।

कहिले हुस्सु नजिकै आएर जिस्काएर जान्थ्यो हावासँगै। लाग्थ्यो बादल हामीभन्दा तल छ। अलि पर देखिने पहाडको माथि खरायो जस्तै बादल घरी यता घरी उता गरिरहन्थे। छिनभरमा घाम लाग्ने र छिनभरमै बादल र पानी। छिनभरमै परिवर्तन हुने मौसम र मेरा लागि नौलो हिमाली हावापानीले केही असजिलो बनाएको थियो।

अलिमाथि होटलको आँगन हुँदै चारजना ओरालो झरेर हामीतिरै आउँदै थिए। पिठ्युँमा डोको बोकेका पाका पुरुष अगाडि लम्किएर हिँडेका थिए। उनको पछाडि एक युवा, सँगै पिठ्युँमा बच्चा बोकेकी महिला र उनको पछाडि पाको उमेरकी महिला।

देउरालीकाे उकालाे । देउराली पुग्न धुन्चेबाट करिब तिनघण्टा लाग्छ ।

डोको बाकेका ती पाका व्यक्ति हामीलाई देखेर मुस्कुराए। हुस्सुले अँध्यारो बनाएका बेला सेता दाँत टल्किएको देखेँ, उत्तर तर्फ देखिएको लाङटाङ हिमाल जस्तै। मुस्कुराउँदा गाला चाउरी परेको प्रष्ट देखिन्थ्यो। निधारमा लागेको बरियोको पातो मिलाउँदै उनले सोधे, ‘गोसाईँकुण्ड जान लाग्नु भयो?’ हामी भन्दा अगाडि नै।

‘हो । कति टाढा छ ? अझै कति टाइम लाग्छ ?’ रामले फ्याट्ट सोधे । हामीले बाटोमा भेटिने हेरकसँग सोध्दै आएका थियौँ । हाम्रो अर्को प्रश्न हुन्थ्यो ‘लेक लाग्छ कि नाईँ ?’

‘अब बिस्तारै हिँडे तीन घण्टामा पुग्नुहुन्छ’ भन्दै उनी नरोक्किई चोलाङपाटीको ओरालो झरे ।

‘तपाईँहरु चाहिँ कहाँसम्म पुग्नु पर्ने हो?’ मैले फ्याट्ट सोधेँ ।

सबै टक्क अडिए र सबैभन्दा अगाडिका पाका मान्छेले भने, ‘ठूलो स्याफ्रु । पुग्न साढे दुईघण्टा लाग्छ ।’ गोसाईँकुण्मा होटल व्यवसाय गर्दै आएका उनीहरु पाँच दिनको आफ्नो पालो पूरा गरेर घर फर्किएका रहेछन् । अरु थप सोध्ने मेसो आएन, उनीहरुलाई घर फर्किन हतार थियो शायद, रोकिएनन्।

सिमसिमे पानीमा तल चोलाङपाटीका होटलहरु धमिलो देखिन्थे। थोरै दायाँतर्फ टाउको घुमाउँदा अलि तल गहिरोमा हुस्सुलाई छलेर हेर्दा पातला घरहरु देखिन्थे, अड्कल लगायौँ–त्यहीँ हुनुपर्छ ठूलो स्याफ्रु।

‘माथि गएर खाना खानुपर्छ हिडौँ अब’ ढुङ्गामा राखेका झोला बोक्दै रामले भने । १२ बज्न लागिसकेको थियो । अझै कम्तिमा तीन घण्टा हिँड्नु थियो । हामी उकालो लाग्यौँ । राम अघिअघि, म पछिपछि।

देउराली

मनले डोर्‍याएको यात्रा
यो मन अति बदमास छ । जाने भनेर सोच्यो भने जानै पर्ने। गर्ने भनेर सोचेको काम गरिहाल्ने।

केही अलमलकाबीच दुई दिन पहिला कीर्तिपुरको कोठाबाट सुरु भएको थियो हाम्रो यात्रा। असार १० गते बिहान ८ बजेतिर कीर्तिपुरको डाँडो ओरालो झरेर नुवाकोट ककनीका डाँडापाखा छिचोल्दै करिब ४ बजेतिर हामी रसुवा सदरमुकाम धुन्चे पुगेका थियौँ।

मोटरसाइकलको पछाडि बसेका रामले मुखको मास्क तल सार्दै बाटोमा भेटिएकी एक महिलालाई सोधे, ‘दिदी गोसाईँकुण्ड जाने कताबाट हो?’ औँलाले इसारा लगाउँदै उनले भनिन्, ‘यताबाट जानुस्।’

धुन्चे बजार सकिनै लाग्दा बायाँ मोडिने ओरालो आउँछ, त्यही मोडबाट दायाँ लाग्नु पर्छ गोसाईँकुण्ड जान । आफ्नो साधन छ भने त्यहाँ राखिदिने व्यवस्था छ निश्चित रकम तिरेर। बायाँ लागे केरुङ नाका पुगिन्छ।

दायाँ लाग्दा जति अगाडि गयो त्यती नै चर्को सुनिदै जान्छ गोसाईँकुण्डकै पानी बग्दै आएको त्रिशुली खोलाको आवाज जुन धुन्चे बजारबाट अलि तल पुगेपछि त्रिशुली नदीमा मिसिन्छ ।

करिब आधा घण्टा तेर्सो हिँडेपछि पुगिन्छ त्रिशुली खोलाको किनार।

‘नाकको डाँडी जस्तो छ त उकालो’ उकालो चढ्नै लाग्दा रामले भने। म पनि अडिएँ। टाउको उठाएर माथि हेरेँ।

त्रिशुली खोलाको झोलुङ्गे पुल तरेर पाँच मिनेट पैदल हिँडेपछि अघि हेरको उकालो भेटियो। पहिरोले असरल्ल पारेका ढुंगाहरु हुँदै उक्लिनु पर्छ। यही ढुंगे उकालो थियो हाम्रो यात्राको पहिलो उकालो। त्यहीँबाट सुरु भयो गोसाईँकुण्डको उकालो बाटो।

झण्डै ३ घण्टाको उकालो लागेपछि पुगिन्छ देउराली। देउराली समुद्र सतहबाट २६०० मिटर उचाइँमा छ। हातको मोबाइलबाट जता फर्के पनि फोटो खिच्न मन लाग्ने। यसरी, अब यसरी, भएन फेरि यसरी । फरक स्टायल, फरक पोज।

गन्तव्यको कसलाई मतलव!

सिङ गाेम्पा

फोटो खिच्दै, कस्तो आयो भन्दै हेर्दै। थकाइ लागे थचक्क बस्दै।

हाम्रा आफ्नै विश्लेषण हुन्थे हरेक ठाउँका। शायद यति उचाइमा छौँ। यो रुखको नाम यो हो। जंगलभरि रोपिएका निङ्गालो शायद पाण्डाका लागि हो। यस्तै–यस्तै।

सात बजिसकेको थियो। हामी उक्लँदै गरेको देउरालीको डाँडाले घाम छेकिसकेको थियो। सुनसान जंगलमा यदाकदा चरा र झ्याउँकिरीको आवाज कानमा ठोकिन्थ्यो। मुस्किलले हामी उक्लिरहेका थियौँ।

अग्लाेठाउँबाट दखिएकाे सिङ गाेम्पाकाे बस्ती।

माथि टुप्पामा बत्तिको मधुरो प्रकाश देखेँ, गाइँगुइँ आवाज सुनियो। देउराली नजिकै थियो होला। धुन्चेमा मोटरसाईकल राखिदिएका दाइले भनेका थिए–’माथि देउरालीमा होटल छ रात परे त्यहीँ बस्नुहोला।’ उकालो लाग्दा हामी पनि बाटोका तीनवटा होटल छोडेर हिडेका थियौँ। भोली फेरि उकालो लाग्न सजिलो हुन्छ भनेर।

देउरालीको टुप्पामा पुग्दा झमक्क साँझ परिसकेको थियो। होटलको आँगनमा उक्लियौँ। काठको बेन्चमा झोला बिसाएँ, लौरो अड्याएँ।

राम छेउमा आएर बसे। मरो मुखमा पुर्लुक्क हेरे, मुसुक्क हाँसे र भित्र पसे  बासको व्यवस्था गर्न।

हुस्सुले वरिपरिका पाखा ढाकेको थियो। मन्द चलेको चिसो हावाले छालामा छोएर भाग्दा शरीरभरी काँडा उम्रन्थे। दायाँ हातले बायाँ पाखुरा सुमसुमाउँदै आँगन हुँदै उकालो लागेको गोरेटोबाटो हेरेँ। भोलि उठेर यही उकालो उक्लिनु छ, मन मनै सम्झिए  थकित ज्यान उकालो सम्झिएर झन थकित भयो। तर गोसाईँकुण्डकाे उत्साहले त्यो थकान भुलाईदिन्थ्यो।

खाने र सुत्ने व्यवस्था भयो। हामी काठको भर्‍याङ उक्लिएर पहिलो तलामा पुग्यौँ। ‘सुत्ने ठाँउ त राम्रो रहेछ,’ बेडमा बस्दै रामले भने। टाउको हल्लाएर मैने मौन सर्मथन गरेँ।

बिहानै पुनः सुरु भयो उत्साहको यात्रा

सूर्य उदाएर सुसाइरहेको त्रिशुली खोलापारी डाँडाको क्षितिजसम्म पनि आइपुगिसकेको थिएन, हामी देउरालीबाट धिम्साको उकालो लाग्दा। आँगनमा आएँ। दायाँ हातमा लौरो थियो। काँधमा छड्के झोला। अलि अगाडि पहेँलो बोर्ड थियो। लेखिएको थियो देउराली २६२५ मिटर। वाण चिन्ह देखाएर लेखिएको थियो धिम्सा २ घण्टा। सँगै रहेको धाराको पाइपबाट दुई अञ्जुली पानी खाएँ। उकालो हेरेँ। लामो सास फेरेँ।
राम सर हिँड्नुस्। बोतलमा पानी भर्दै गरेका उनले पुलुक्क मतिर हेर्दै भने, ‘बिस्तारै हिँड्दै गर्नुस्।’ हामी उकालो लाग्यौँ।

चाेलाङपाटी।

त्यहाँबाट करिब २ घण्टामा धिम्सा र करिब १ घण्टा ३० मिनेटमा सिंङ गोम्पा पुगिन्छ। धिम्सा समुन्द्र सतहबाट ३००७ मिटरको उचाइमा छ भने सिङगोम्पा ३३०० मिटरको उचाईमा छ। धिम्साबाट अलिकति उकालो लागिसकेपछि देखिने रुखहरु र मौसम परिवर्तन हुँदैजान्छ। उच्च पहाडी क्षेत्रमा पाइने बुट्यानहरु सुरु हुन्छन्। हुस्सु नजिकै आएर छोएर जान्छ। ठाउँ ठाउँमा थकाइ मार्न बस्ने व्यवस्था गरिएको छ।

यो एक ट्रेकिङ्ग रुट हो। काठमाडौँबाट सुन्दरीजल हुँदै सिन्धुपाल्चोकको चिसापानी, कुटुमसाङ, घोप्टे हुँदै गोसाईँकुण्ड पुगेर चोलाङपाटीको ओरालो झर्दै धुन्चे पुगेर काठमाडौँ फर्कन सकिन्छ। यस्तै ठ्याक्कै त्यसको उल्टो काठमाडौँबाट धुन्चे पुगेर देउराली, धिम्सा, सिङ गोम्पा, चोलाङपाटी, लौरीविनायकको उकालो चढदै गोसाइँकुण्ड पुगेर घोप्टेको ओरालो भरेर सुन्दरीजल हुँदै काठमाडौँ फर्किन सकिन्छ।

लाैरीबिनायक


टक टक टक जुत्ता लगाएर काठमा हिँडेको आवाज मेरो कानमा ठोक्कियो। को हुनुहुन्छ यहाँ भन्दै एक युवक होटलमा छिरे। मेरो निद्रा बिच्कियो। २० बर्ष जति उमेरका दुई बहिनीहरु होटल समालेर बसेका थिए। दाइ र भाउजुले होटल जिम्मा दिएर तल स्याफ्रु घर गएका रहेछन्। हामीलाई खाना उनीहरुले नै पकाएर खुवाएका थिए।

ढोकामा अडिएर ती युवाले सोधे ‘कोठा छ’?

‘छ।’ भन्दै युवती कोठा देखाउन उनलाई पछि लगाएर भित्र छिरिन्। काठको घर, चिसो हावा भित्र पस्छ भनेर सिसाले गमक्क ढाकेको थियो। लौरीविनायकको उकालो चढ्दा केही गाह्रो महशुस भएको थियो मलाई। करिब १२ बजे खाना खाएर होटलको कुनामा आराम गरेको म २ बजे बिउँझिएँ। बाहिर प्रस्ट देखिन्थ्यो। बाहिर केही गाइँगुइँ मधुरो सुनियो। टाउको उठाएर सिसाबाट हेरेँ- राम उनीहरुसँग कुरा गरिरहेका थिए। नियालेर हेरेँ- त्यो ५ जनाको समुह त्यही थियो जोसँग हाम्रो भेट तल देउरालीको होटलमा भएको थियो जुन होटलमा हामी बास बसेका थियौँ।

आखाँ मिच्दै बाहिर निस्किएँ। मन्द चिसो हावा चलेको थियो। हलुका हुस्सु अल्लिपरको थुम्कामा उडिरहेको थियो। त्यही थुम्कामा एकजना दाइ चौरीको लागि गोठ तयार गर्दै थिए।

अब हिँड्ने? रामले साधे।

हुन्छ भन्दै मैले टाउको हल्लाए।

भित्र गयौँ। झोला बोकेर ती बहिनीहरुसँग बिदा लिएर उकालो लाग्यौँ। मनमा डर थियो लेक लाग्छ कि भन्ने। जहाँ अप्ठेरो हुन्छ त्यहीँबाट फर्कने हामीले निर्णय गरेका थियौँ।

बुद्ध मन्दिर । लाैरीबिनायकबाट करिव २ घण्टाकाे उकालाे चढेपछि पुग्न सकिन्छ । जुन ४२०० मिटरकाे उचाइमा छ ।

साना साना झार मात्र छन् त्यहाँ भन्दा माथि । त्यही झारको गन्धले लेक लाग्ने समस्या गराउन सक्छ भन्ने सुनेका थियौँ । ती झारबाट तर्कँदै उकालो लाग्यौँ हामी ।

३९०० मिटरको उचाइबाट ४२०० मिटरको उचाइमा आउन करिब २ घण्टा लाग्यो । लौरीविनायकबाट उकालो लाग्यो भने आउँछ बुद्ध मन्दिर, जुन ४२०० मिटरको उचाइमा छ।

टुप्पामा छ बुद्धको मूर्ति । छत दायाँतर्फ ढलेको छ। ठाउँ पूरै भग्नावषेश । काखमा छ सानो खिया लागेको दान बाकस। बाकसको ताला तोडेर भुइँमा छ । कसले गर्‍यो होला यो काम, मनले मनलाई सोध्यो।

राम अगाडि बढिसकेका थिए । अलिकति फोटो र भिडियो खिचेर म पनि अगाडि बढेँ।

कुहिराेले ढाकेकाे सरस्वतिकुण्ड

बायाँतर्फ भिर र दायाँतर्फ खोच । तेर्सो हिँड्दै जाँदा सुरुमा देखिन्छ सरस्वती कुण्ड । त्यही कुण्डबाट झरना बनेर गएको पानी त्रिशुली खोला बन्छ । थोरै उकालो लागेर सानाे थुम्कोमा पुगे भैरवकुण्ड देखिन्छ । भैरवकुण्ड सरस्वती कुण्डभन्दा ठूलो रैछ भन्दै थियौँ, तलबाट बग्दै आएको हुस्सुले हेर्दाहेर्दै ढाकिदियो। तिनलाई दायाँ पार्दै लुरुलुरु हामी बाटो लाग्यौँ ।

हामी करिब ५ बजेतिर गोसाईँकुण्ड पुग्यौँ ।

हिमालको काखमा शान्त छ गोसाईँकुण्ड । कुण्डबाट निस्किएको झरनाको अवाज बाहेक कहिँकतै केही कानमा ठोक्किँदैन। तालको वरिपरि यदाकदा चरा उडिरहेको देखिन्छन् । जता हेर्‍यो, चट्टाने पहाड । छेउमा ढुंगा देखिने गहिरो र अलि पर निलो डरलाग्दो गहिरो । कहिँबाट आएको हावाले शान्त तालमा हल्का हलचल ल्याउँछ । तालको वरिपरि पहेँला, सेता र राता भुईँफूल ढकमक्क छन् ।

कुण्डकाे वरिपरि देखिने फुलहरु

तालको एक छेउमा गुजुम्म होटलहरु छन् । होटलबाटै ओरालो लागेर कुण्डसम्म पुग्नु पर्छ । ओरालो लाग्दै गर्दा शिवको मन्दिर छ । मन्दिरसँगै नियमहरु लेखिएको स्तम्भ छ । तालको छेउमा लहरै फोहोर फाल्ने ठाउँ बनाइएको छ । तर त्यसको उपयोग गरिएको छैन । नुहाएर कपडा भुईँमा फाल्न जागर चलाउनेहरुले सँगैको डस्टबिनमा राख्न जागर चलाएका छैनन्।

असारको पहिलो हप्ता मनसुन सुरु भइसकेको छैन। कुण्डको डिलमा रहेको ढुङ्गामा बसेर आकाश हेर्ने हो भने पानी पर्ने छाँट छैन। कहिँकतै खरायो जस्तै बादल यता उता गरिरहेका छन्। खै कताबाट आउँछ हुस्सु, चकमन्न हुने गरी ढाकिदिन्छ सबै। हिँउ पग्लिएर कुण्डमा मिसिइसक्यो। अलिअलि कतैकतै देख्न सकिन्छ।

४३८० मिटरको उचाइमा रहेको यो कुण्डभन्दा माथि ४ वटा र तल २ वटा कुण्ड छन्। गोसाईँकुण्डको किनारै किनार त्रिशूलधारा हुँदै उकालो लागिसकेपछि बायाँ तर्फ छ बर्दकुण्ड। अलि अगाडि निकण्ठकुण्ड। दायाँ तर्फ सजिलै नदेखिने ठाउँमा छ चन्द्रकुण्ड। सबैभन्दा माथि सिरानमा छ सूर्यकुण्ड । सूर्यकुण्डबाट फर्कदा बायाँ तर्फ छ आमाकुण्ड।

भिडियो हेर्नुहोस्:

 

नेपाल उपत्यकाको नजिकको हिमाली क्षेत्रमा छ गोसाईँकुण्ड।

संस्कृतिविद् जगमान गुरुङ भन्छन्, ‘ठ्याक्कै यही समय भनेर थाहा नभएपनि यो कुण्ड तामाङका झाँक्रीहरुले पत्ता लगाएका थिए । अरुले असारको शुक्र पूर्णिमालाई गुरु पूर्णिमा मान्दछन् तर तामाङहरुले साउनको पूर्णिमालाई गुरु पुर्णिमा मान्दछन् । अहिले पनि उनीहरु झाँक्रीहरुको समूहसहित त्रिशूल धारामा स्नान गरेर आउँछन्।’

तालकाे छेउमा रहेकाे शिवमन्दिर ।

गुरुङका अनुसार पछि हिन्दु मान्यताको प्रवेश भयो। हिन्दुहरुले भगवान महादेवसँग यहाँको मान्यता जोडे। ‘विषले त महादेव भन्दैन’ रिसले कालकुट विष पिएका महादेवलाई निल्नु न ओकल्नु भयो। निलौँ आफू मर्ने, ओकलौँ संसार सखाप हुने। उनले गलामा नै राखे। गला निलो भयो। त्यसै कारण कुण्डमाथिको हिमाललाई निलकण्ठ हिमाल भन्ने गरिन्छ।

रिसले चुर महादेवले हिमालमा त्रिशूल रोपे । त्रिशूलको तीन चुच्चा गाडिएको ठाउँबाट पानी आयो र त्यसलाई त्रिशूल धारा भनियो । गोसाईँकुण्डलाई दायाँ पारेर सूर्यकुण्डको उकालो लाग्दा भेटिन्छ त्रिशूल धारा ।

बिहानी पख हाेटलसँगै देखिएकाे गाेसाईँकुण्ड ।

गुरुङका अनुसार तामाङ भाषामा यसलाई ‘ङ्य्ह्यो’ भन्ने गरिन्छ। जसको अर्थ ‘पोखरी’ भन्ने हुन्छ। नेवारी भाषामा ‘शिवलुती’। ‘लुती’ भनेको स्नान हो । र आम भाषामा भनिने ‘गोसाईँकुण्ड’को अर्थ ‘गोसाईँ’ भन्नाले जोगी (शिव) र ‘कुण्ड’ भनेको ताल हो।

जनै पूर्णिमाको दिन यहाँ जात्रा लाग्छ। रसुवाको बाटो हुँदै गएर कुण्डमा स्नानगरी जलबोकेर सुन्दरी जलको बाटो हुँदै घर नगई पशुपतिमा महादेवलाई चढाएर आ–आफ्नो घर जाने चलन छ।

काठमाडौँका मल्ल राजाहरुको सभ्यता पनि यसमा जोडिएको गुरुङ बताउँछन् । उनका अनुसार पाटन र भक्तपुरको होइन काठमाडौँका मल्ल राजाहरु राज्य अभिषेकको पहिलो बर्ष शिवलुतीको स्नान गर्ने चलन थियो।

यी सबै महत्वले भरिएको गोसाईँकुण्ड यात्रा सकेर फर्केको हप्ता बित्यो। तर अझै पनि राम र मेरो मनमा त्यहाँको यात्रा ताजा छ।

असार २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्