बाराका विभिन्न स्थान डुबानमा, झण्डै दुई सय परिवार विस्थापित

वीरगञ्ज– केही दिनदेखिको अविरल वर्षाका कारण बाराका विभिन्न क्षेत्र डुबानमा परेका छन्।

लगातारको वर्षाका कारण मानव बस्ती डुबान हुँदा बाराका करिब दुई सय घरपरिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बाराको विभिन्न स्थानमा डुबानका कारण एक सय ७५ भन्दा बढी घरपरिवार विस्थापित भएका हुन्।

बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौराले फेटा गाउपाँलिका–१ त्रिवेणीमा ८०, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ रमौलीमा ३५ , वडा नम्बर १० मा २५  र वडा नम्बर २४ हरपुरमा २५ घरपरिवारलाई अन्यत्र सारिएको जानकारी दिए।

राठौरले जिल्लाका विभिन्न क्षेत्र डुवानमा परेको जानकारी आईरहेको र उद्धारका लागि प्रहरी परिचालन भइरहेको जानकारी दिए। राठौरले वर्षा नरोकिएकाले जिल्ला प्रहरी कार्यालय मातहतका सबै कार्यलयलाई सतर्क राखिएको जानकारी दिए।

यसैगरि बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ५ टेढाकटी , रुपौलिया बिर्ता र आसपासका टोलहरु बाढीका कारण डुबानमा परेका छन्। विगत पाँच दिनदेखि लागातार परिरहेको पानी कारण अरुवा नदी र बिर्ता खोलामा आएको बाढी बस्तीमा पसेकाे छ। नदीको बाढी बस्तीमा छिरेपछि ती टोलका २ सय घर परिवार विस्थापित भएका हुन्।

उनीहरु आफ्नो घर छाडी सिमरौनगढ सडकमा शरण लिएर बसेको स्थानीय देवशरण साहले जानकारी दिए। यस्तै बाराको पचरौता नगरपालिका वडा नम्बर ८ मा रहेको तियर नदीको किनारमा रहेका बाजोपटी टोल, अमरपटी लगायत आसपासका गाउँका एक सय घर डुबानमा परेको स्थानीय किशोरी यादवले बताए। उनीहरु घर छाडेर सुरक्षित स्थानमा शरण लिएर बसेका छन्। अविरल वर्षका कारण बाराको पचरौता नगरपालिका, सिमरौनगढ नगरपालिकाका गाउँहरुमा बाढी पसेकाे छ।

यस्तै बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ मा रहेको लालमन चौधरीको घर भत्केको छ। चौधरी परिवार घरभित्रै रहेको बेला अचानक घर भत्किएको हो। चौधरी परिवारका सदस्यहरु भने सकुशल रहेको स्थानीय अनिल चौधरीले जानकारी दिए।

वर्षाका कारण भत्किएकाे घर ।
असार २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू