ओरियन्टल कोलोनीका भुक्तभोगी

‘पानीले अपार्टमेन्ट यति चाँडो डुबायो, मैले केही बचाउनै सकिनँ’

हामी यो कोलोनीमा बसेको १२ वर्ष भयो। सधैँको वर्ष त होइन, तर कुनै-कुनै वर्ष लगातार पानी परेको बेलामा हाम्रो कोलोनीको दोस्रो खुड्किलोसम्म जमेर पानी आउँथ्यो। तर यो वर्ष सोच्नै नपाई सबै बिगार्‍यो।

हामी बाबा-आमासहित १२ जना यो कोलोनीमा बस्छौँ। कोलोनीको भुईँतल्लामा हाम्रो अपार्टमेन्ट छ। अपार्टमेन्टमा पुग्नलाई उक्नले दुई खुड्किला भन्दा माथि विस्तारै पानी आउन थाल्यो। हामी सामान निकाल्न पर्छ कि, अरु ठाउँमा सर्नुपर्छ कि भन्ने सोच्दै मात्र के थियौँ, कोलोनीको पर्खाल भत्किएर पानीको बाढी आयो।

पछाडिको विष्णुमतिको पानी आएको रहेछ। एकैछिनमा पानी कम्मर माथिसम्म पुग्ने गरी आयो। सामानहरु सबै डुबे, म बच्चाहरुलाई कता लैजाने भन्ने सोच्न थालेँ। यो सबै यति छिटो भयो कि मैले के गर्ने-नगर्ने सोच्न नै सकिन। हेर्दाहेर्दै पानीले हाम्रो किचेन, बेडरुम, बैठक सबैलाई भिजायो। हामी लगाएको कपडामात्रमा त्यहाँबाट निस्कने बाटो खोज्न थाल्यौ।

‘विमल श्रीवास्तव’ जो मेरो बुवा हुनुहुन्छ, उहाँको औषधि र अस्पतालका केही कागजात हातमा लिएर हामी बाहिर निस्कन खोज्यौँ।

कोलोनीको ग्राउण्ड फ्लोरमा १६ परिवार बस्छन्। हामी सबैको क्षणभरमा नै बिचल्ली भयो।

जसोतसो बाहिर निस्कियौँ, हामीले देख्न सक्थ्यौ, हाम्रा

सामानहरु सबै पानी तैरिरहेका थिए। साँझसम्म पानी कम भएको थिएन। कहाँ बस्ने, के गर्ने भन्ने अन्यौल भयो। साना बालबच्चा अनि बाबाआमालाई कहाँ लैजाने ? यही कोलोनीमा मेरो आमाजुको अपार्टमेन्ट छ। हामी त्यहीँ बस्यौँ, हाम्रा छिमेकी कहाँ गए, मलाई थाहा छैन।

राती ३ बजेतिर हाम्रो घरको पानी कम भयो। तर, जताततै हिलैहिलो मात्र भयो। पलङहरु तैरिएका थिए। दराजमा पनि पानी पसेको छ। त्यो अपार्टमेन्टमा बत्ती छैन, अँध्यारो छ। हामी अहिले होटलमा बसिरहेका छौँ। कोलोनी सफा गर्न अहिले आइरहेका छन्।

बाढीको समस्या अहिलेमात्र देखिएको हैन, काठमाडौँको सुविधासम्पन्न ठाउँमा यो अवस्था छ भने तराईमा के होला ? विपद्पछि देखिने समस्या न्यूनीकरणको लागि हाम्रो पूर्वतयारी कमजोर छ।

 

(कुलेश्वरको ओरियन्टल कोलोनीमा बस्ने शमा शाहसँगको कुराकानीमा आधारित। शुक्रबारको बर्षाले उनी बस्ने कोलोनी डुबाएको थियो। )

असार २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्