सिड्नीमा नेपाली विद्यार्थी वार्डरोबमा मृत भेटिए

सिड्नी– काठमाडौँ विशालनगर घर भई करिब डेढ वर्षदेखि सिड्नीमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी स्वदेश सेढाई मृत फेला परेका छन्।

एक नेपाली परिवारसँग अपार्टमेन्ट शेयर गरेर बस्दै आएका २१ वर्षीय सेढाई आफ्नै कोठाको लुगा राख्ने वाडरोबभित्र मृत अवस्थामा फेला परेका हुन्।

उनी सिड्नीको गिलफोर्डमा बस्दै आइरहेका थिए भने सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा ब्याचलर अफ कम्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका थिए।

अबेर राती १० बजेसम्म गफगाफ गरेर सुत्न गएका सेढाई बिहान अबेरसम्म नउठेपछि उनलाई बोलाउन जाँदा मृत भेटिएको उनका आफन्तलाई उद्धृत गर्दै प्रहरीले जनाएकाे छ।

उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिए तापनि यसको सत्यतथ्य विवरण प्रहरीको अनुसन्धान पश्चात नै खुल्न सक्ने प्रहरीले बताएको छ। प्रहरीले हाल उनको शवलाई लिडकमस्थित मोर्गमा राखेको र आवश्यक कानुनी कारवाहीपश्चात आफन्तलाई बुझाउने बताएको छ।

मृतकका परिवारलाई एनआरएनए अस्ट्रेलिया तथा नेपाली दूतावासले आवश्यक सहयोग गर्ने बताएका छन्। सम्बन्धित निकायसँग सहकार्य गर्दै आफन्तहरूलाई सक्दो सहयोग गरिने एनआरएनए अस्ट्रेलियाले जनाएको छ।

गलत परामर्श, काम र पढाइलाई व्यवस्थापन गर्न नसक्नु, सांस्कृतिक अन्तरलाई व्यवस्थापन गर्न नसक्नु, गलत संगत वा आचरणमा पर्नु तथा नेपाली दूतावास तथा सामाजिक संघसंस्थाले नेपाली विद्यार्थीको मानसिक स्वास्थ्य तथा सामाजिक सचेतनाका प्रभावकारी कार्यक्रमहरू ल्याउन नसक्नुलाई विद्यार्थीहरूले यस्ता गलत बाटो रोज्नुको पछाडिकाे कारक मानिन्छ।

यदि कोही कसैमा  मानसिक  विचलन तथा मनमा आत्महत्या सम्बन्धी सोच आएको खण्डमा अस्ट्रेलियाभर २४ सै घण्टा टोल फ्रि नम्बर १३ ११ १४ मा कल गरेर सहयोग लिन सकिन्छ।

असार २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू