बझाङकाे उरै नाकामा सुरक्षा व्यवस्था नहुँदा जडिबुटी तस्करी बढ्यो

धनगढी– चीनको तिब्बतसँग जोडिने देशको सबै भन्दा छोटो दुरी रहेको बझाङ जिल्लाको एक मात्र नाका उरैमा अहिले तस्करहरुको बाक्लो उपस्थिति रहेको छ।

खासगरी अहिले जडिबुटी निकासीको सिजन रहेकाले यस नाकामा तस्करहरुको उपस्थिति बढेको हो। बझाङ जिल्लामा रहेको यस नाकामा विगतका वर्षहरुमा पनि करोडौँको जडिबुटी तिब्बतको चाईनामा जाने गरेको पाईन्थ्यो भने यस बर्ष पनि सयौ तस्करहरुले विभिन्न खाले जडिबुटीहरु यसै नाकाबाट ओसार–पसार गरिरहेका छन्।

साईपाल गाउँपालिका अन्तर्गत पर्ने यस क्षेत्रमा यार्चागुम्बु, वनलसुन, चिराईतो, कटुकी, सत्तो, लगायतका बहुमुल्य जडिबुटीहरु पाईन्छन्। साईपाल गाउँपालिका हुँदै तिब्बत जोडीने यस नाकाबाट बहुमुल्य जडिबुटीहरुको ओसारपसार हुने गरेको छ। ठूला–ठूला तस्करहरु साईपाल गाउँपालिका तथा तिब्बत र नेपालको सिमानामा घर बनाएर बसेका छन। साथै तस्करहरुले सिमानामा रहेका ठूला ठूला ओडारहरुमा पनि जडिबुटी राख्ने गरेका छन्।

आजभोली जडिबुटीको सिजन नै भएकाले यार्चागुम्बासँगै वनलसुन कटुकी, चिराईतो, सत्तो जस्ता जडिबुटीहरु अवैध रुपमा उरै नाका हुँदै तिब्बत निकासी भईरहेको छ। यससँगै बझाङ जिल्लाबाट छोटो दुरि रहेको एक मात्र नाकामा हुम्ला हुँदै जडिबुटी आउने पनि गरेको छ। हुम्लाबाट आउने त्यो नाका साईपाल गाउँपालिकाकै राईढुङगीमा जोडिन्छ।

तस्करहरूले तिब्बत लैजान जडिबुटी बझाङको नाका जोडिने साईपाल, कालङ्गा, नयाँ राईढुङगी हुँदै उरैबाट ताक्लाकोट पुर्‍याउने गरेका छन्। यो नाकाबाट तस्करहरुले पुर्जा नभएको जडिबुटी ओसार पसार गर्ने समय भनेकै वैशाख, जेठ, अषाढ, साउन, भदौ र असोज महिना हो।

‘स्थानीय तह बनेपछि पछि यस नाकामा धेरै राजस्व उठाउँलाकी भन्ने आशामा थियौँ’, साईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले भने, ‘तर सोचे जस्तो राजस्व उठाउन सकेका छैनौँ। जडिबुटीका बारेमा जिल्ला वन कार्यालय बझाङले न त स्थानीय सरकारसँग हातेमालो गरेको छ नत जडिबुटी को राजस्व उठाउने सम्वन्धी हक अधिकार नै दिएको छ।’

जिल्ला वन कार्यालयका कुनै पनि कर्मचारी यस ठाउँमा नभेटिने गरेको अध्यक्ष धामीले बताए। गाउँपालिका अध्यक्ष धामीले भने, ‘जिल्ला वन कार्यालयलाई हामीले धेरै भन्यौँ र सुरक्षा निकायको उपस्थिति हुनुपर्छ यो समयमा नाकाबाट जडिबुटी धेरै जान थाल्यो भन्दै जिल्ला प्रशासन कार्यालयलाई चिठी लेख्दा पनि कुनै सुनुवाई भएन।’ उनले जडिबुटी तस्करी रोक्न यहाँको सिमानामा प्रहरी चौकीसँगै सशस्त्र प्रहरी राख्न जरुरी रहेको बताए।

राजस्व उठाउन र प्रहरीलाई सहयोग गर्न साईपाल गाउँपालिकाले गाउँपालिका प्रहरी अर्थात स्वयंसेवक भनेर १० जना स्थानीयहरुलाई राखेको अध्यक्ष धामीले बताए। उनले भने, ‘गाउँपालिकाको लक्ष्य ५० लाख राजस्व उठाउने भएता पनि अहिले १६ लाख भन्दा केही बढी राजस्व उठेको छ। लक्ष्य पुरा गर्न र तस्करी रोक्न राईढुङगीमा थप सुरक्षा आवश्यक छ।’

असार २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्