आदिकवि भानुभक्तको २०६ औँ जन्मजयन्ती मनाइँदै

फाइल तस्बिर

काठमाडौँ – नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६ औँ जन्मजयन्ती आइतबार देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

सरल नेपाली भाषामा अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनमा ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । विसं १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ”, भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ‘भोली भोली भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

भानुभक्तको निधन १९२५ असोजमा भएको थियो ।

यसैबिच तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

असार २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्