सर्पदंश: औषधि छ तर, उपचार हुँदैन, बच्‍ने कसरी ?

दाङ-लमही नगरपालिका वडा नं. ६ देउपुर निवासी हुर्मतबहादुर डाँगीलाई केही दिन अघी सर्पले टोक्यो। सर्पले टोक्दा वित्तिकै डाँगी र घर परिवारका अन्य सदस्य अत्तालिन पुगे । हतार हतार सर्पले टोकेको ठाउँमा चिरेर रगत बग्‍ने बनाईयो।

बिष वग्ने अनुमानमा घाउँ चिरियो। अनि खुट्टामा डोरीले कसेर बाँधियो। केहीबेरमा लमही अस्पताल पुर्‍याइयो । त्यहाँ प्राथमिक उपचार गरेर गोरुसिंगे सर्पदशं उपचार केन्द्रमा रिफर गरियो।

सर्पले टोकेको व्यक्तीमा बिष चढेको थिएन । गोरुसिंगेमा २४ घण्टा राखियो । सर्पको बिषको असर नदेखिएपछि डिस्चार्ज गरियो । ‘सर्पले टोक्यो भने कुन सर्पले टोक्यो भनेर ख्याल गर्नुपर्दो रहेछ।

बिषालु सर्प हो की होइन ख्याल गर्नुपर्दो रहेछ। सर्पले टोकेको घाउँ बिगार्नु हुदोरहेनछ’ हुर्मतबहादुरका भाई नरबहादुर डाँगीले भने–‘दाईलाई बिषालु सर्पले डसेको रहेनछ । २४ घण्टा अवजरमा राखेर डिस्चार्ज गरेपछि हामी घर आयौं ।’ यो एउटा उदाहरण मात्रै हो।

जिल्लाभित्र सर्पदंशको उपचार प्रभावकारी नहुदा उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। प्रयाप्त स्रोत साधन र सिपको अभावमा दाङ जिल्ला भित्र सर्पदशंको उपचार प्रभावकारी हुन नसकेको हो।

यसका अतिरिक्त सर्पदंशको प्राथमिक उपचार र लक्षण बारे सामान्य ज्ञान नराख्दा धेरैले दुःख पाउने गरेका छन्।

जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशीक अस्पताल तुलसीपुर र लमही अस्पतालमा सर्पदशंको उपचार हुदै आएपनि प्रभावकारी रुपमा सेवा उपलब्ध छैन्। एन्टीस्नेक भेनम भएपनि त्यो औषधी प्रयोग गरेर उपचार गर्ने अन्य पूर्वाधार नहुदा चिकित्सकले रिक्स नमोल्ने गरेको पाइएको छ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङको तथ्यांक अनुसार तीन बर्षको अवधिमा जिल्लामा १२ जनाको अकालमा मृत्यु भएको छ। केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालका अनुसार ०७३ मा ३, ०७४ मा ४ र ०७५ मा ५ जनाको सर्पदंशको कारण मृत्यु भएको छ।

सर्पले टोकेपछी मानिसहरु धामी झाक्रिको खोजीमा समय विताउने गर्छन्। जसले गर्दा उपचारमा विलम्ब हुदा विषालु सर्पले टोकेका व्यक्तीको अकाल मृत्यु समेत हुने गरेको छ।

सर्पदंश उपचारको लागि स्वास्थ्यकर्मीलाई तालिम


लमही नगरपालिकाले लमही अस्पतालबाट सर्पदशंको उपचार प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको छ। लमही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सर्पदशंकको उपचारलाई प्रभावकरी रुपमा सञ्चालन गर्न तालिम प्रदान गरिएको लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले बताए।

‘लमही नगरपालिकाले लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न स्वास्थ्यकर्मीलाई दक्ष बनाउन थालेको हो। लमही अस्पतालका स्वास्थ्यकर्मी मात्रै होइन राप्ती, गढवा र राजपुर गाउँपालिकाका स्वास्थ्यकर्मीलाई समेत सामेल गराएका छौं’।

उनले भने–‘सर्पले टोकेकाहरु उपचारको लागि अनेत्र जानुपर्ने बाध्यता अव हटाउछौं।’ लमही नगरपालिकाले यस बर्ष सर्पदंश उपचार केन्द्रको लागी बिनियोजन गरेको बजेटबाट भवन बनाउन टेण्डर आह्वान गरेको छ। एक करोड दश लाखको लागतमा भवन बनाउन थालिएको हो।

सर्पको टोकाईबाट यसरी बच्‍न सकिन्छ


सर्पदंशको उपचारमा अनुभव प्राप्त डाक्टर समिर कुमार अधिकारीका अनुसार सर्पको टोकाईबाट प्रभावित हुने व्यक्ति किसान हो । किसानपछि वालबालिका सर्पको टोकाइकामा पर्ने गरेका छन्।

अधिकारीका अनुसार कृषि कार्यमा संलग्न हुदा होस या घर बाहिर निस्कदा खुट्टा पुरा ढाक्ने बुट, हातमा पञ्जा लगाउदा सर्पको टोकाईबाट बच्न सकिन्छ।

कोब्रा, करेत जस्ता विषालु सर्पका टोकाइका कारण देखिने लक्षणहरु


–स्वादमा भिन्‍नता
–बान्ता हुनु
–आँखाको परेला उठाउन गाह्रो हुनु
–स्वरमा परिवर्तन आउनु
–घाँटी भाचिने चिन्ह (ब्रोकेन नेक साइन)
–नाडी छिटो छिटो चल्नु
–स्वास फेर्न मा समस्या देखिनु

यसरी गरौं प्राथमिक उपचार


–बिरामीलाई सबै भन्दा पहिले शान्त पर्नु पर्दछ । सर्प दंश बिरामी आत्तिएर बढी स्वास्थ्य समस्या आउने र हृदय घात बढी हुने भएकोले बिरामीलाई परामर्श दिई शान्त पार्नु पर्दछ।

– बिरामीलाई सजिलो हुने गरी भुइमा सुताउनु पर्दछ र शरीर मा कसिएको समान हरु र कसिएको लुगा फुकाली दिनु पर्दछ ।

–टोकेको ठाउँ वरीपरि प्रेसर ब्यान्डेज लगाउने ।

–टोकेको ठाउँ लाई सकेसम्म नचलोस भन्न को लागि काठ वा स्प्लिन्त को प्रयोग गर्ने किनभने टोकेको भाग बढी चलेमा सर्प को बिष मांसपेशिका छिटो सोसित भएर रगतमा मिसिन सक्छ ।

(यी सबै कुराहरु गरिसकेपछि छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा पुर्याउनुपर्दछ ।)

के नगर्ने?


–टोकेको सर्प लाई मार्ने कोशिस नगर्ने । यसले गर्दा अरु व्यक्ति पनि घाइते हुन् सक्दछ।

–टोकेको घाउलाई नचलाउने । यसबाट अरु इनफेक्सन हुने र बिष छिटो फैलिने सम्भावना हुन्छ।

–रवर वा डोरीले कडा रुपमा नबाधने। यसले रक्तसंचार लाई अबरुद्ध पार्छ। यदि रबर तन्किएर ४० मिनेट भन्दा बढी बाधेमा कोषिका हरु मर्दै (नेक्रोसिस) जाने छ र धेरै ढिलो भए नेक्रोसिस भएको भाग नै काटेर फ्याक्नु पर्ने हुन् सक्दछ।

–धामी झाक्री संग उपचार गराउछु भन्दा बिरामीको मृत्यु हुने सम्भावना बढ्ने भएको जति सक्दो चाडो सर्प दंश उपचार केन्द्र मा लागने

–टोकेको ठाउमा कुनै चिजले नकाट्ने, नचुसने, कुनै मलम वा रासायनिक कुरा नदलने।

असार २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्