‘हाम्रो घर बाढीले बगायो, अब कहाँ बस्ने ? के खाने?’

उदयपुर-लगातारको वर्षाले आएको बाढीले गाइघाट देउरीमा रहेको मुसहर बस्तीमा दुइजनाको घर भत्काएको छ।
त्रियुगा-९ उत्तराइटोल- देउरीका मुसहर बस्तिका पपु बिक र जगेशर सदाको घर भत्काएको हो।
घर भत्किएपछि उनीहरु छिमेकीको घरमा बास बस्न बाध्य भएका छन्। घरमा रहेको खाद्यान्न र लत्ता कपडा समेत निकाल्न नपाएको जगेशर सदा बताए।
उनले भने, ‘ निरन्तर बर्षा भइरह्यो। हामी रातभरी त्यही घरमा बसेका थियौ। तर अचानक बाढीले भत्काइ दियो। हामी ज्यान जोगाउन घरमा छिमेकीको भाग्यौ।’
उनले आँखाभरी आँशु पार्दै भने, ‘हाम्रो घर बाढीले बगायो। अब कहाँ बस्ने? के खाने?’
यस्तै पपु बिकको पीडा उस्तै छ। उनको पनि घर बाढीले भत्काइदिएपछि परिवारसहित छिमेकीको घरमा बस्न बाध्य भएका छन्।
उनी निरास हुँदै भन्छन्, ‘ हाम्रो त पाँच जनाको परिवार छ। तर अब घर नै बाढीले लगिदियो। हामी कहाँ जाने, के खाने भन्ने चिन्ताले सताएको छ।छोराछोरी सानै छन् कसरी हुर्काउने ? ‘
त्रियुगा नदीमा बाढी आउँदा शिरदेखि तिरसम्म करिव ४३ किलोमिटरको गाउँबस्तीमा रहेको करीब २ हजार घर डुबानमा परेको छ।