मोरङमा बाढीपीडितको विजोग

बाढी पीडितको स्कुलमा बास, घर कहिले फर्कने भन्‍ने चिन्ता

मोरङ-गएको चारदिनदेखि परेको वर्षासँगै विराटगनर महानगरपालिकाभित्र रहेका प्रभावितहरुलाई राहत तथा उद्धार गर्ने कार्य जारी रहेको छ।

वर्षाको कारण मोरङ जिल्लाभित्र महानगरपालिकामा सबैभन्दा बढी प्रभाव परेको छ। विराटनगर महानगरको १, २, ६, ७, ८, ११, १२, १५, १६, १८ र १९ नम्बर वडा बाढीबाट प्रभावित रहेको छ।

महानगरमा मानवीय क्षति नभएको जानकारी दिँदै मेयर भीम पराजुलीले हालसम्म करिब १ हजार बढीको संख्यामा मानिसहरु प्रत्यक्ष रुपमा बाढीको चपेटामा परेको जानकारी दिए।

उनले भने, ‘बाढी र घर जलमग्न भएसँगै महानगरले प्रभावित क्षेत्रबाट उद्धार गरिएका मानिसहरुलाई विभिन्न विद्यालय, सामुदायिक भवनहरुमा शिविर बनाएर राखिएको छ। जहाँ खानपानसहित औषधीउपचारको समेत व्यवस्था गरिएको छ।’

त्यसैगरि, महानगर वडा १२ को बखरीमा डुबानबाट पीडित ४० वर्षीया जानकी ऋषिदेवले घर डुबानमा परेकोले तीन दिनदेखि विद्यालयमा बास रहेको बताइन्। आठ जनाको परिवार रहेको ऋषिदेवले पानी नसुकुन्जेल आफ्नो परिवार विद्यालयमै बस्ने बताउँछिन्। तर कति दिन यसै भन्ने अवस्थामा आफू नरहेको उनको गुनासो छ।

सो विद्यालयमा अधिकांश १० वर्षमूनिका बालबालिका र ७० वर्षमाथिका वृद्धवृद्धा रहेका छन्। पीडित ऋषिदेवले भनिन्, ‘आफ्नो घर भनेको आफ्नै हो। सक्दो चाँडो पानी सुके घर सम्हाल्नु छ। गाईबस्तुलाई हेर्नुछ। यसरी कति दिन आश्रित हुनु हामीले?’

त्यसैगरि सो विद्यालयमा आइतबार मारवाडी युवा मञ्चले करिब ५ सय जनालाई खानाको व्यवस्था गरेको थियो। मञ्चका अध्यक्ष गोपाल अग्रवालले स्थानीय निकायले आवश्यकता माग गरेको खण्डमा आफूहरु सहयोग गर्न तयार रहेको बताए।

यस्तै महानगरले तत्काल उद्धारका लागि टोली तयार गरेको छ। जसले पानी डुबान क्षेत्र, बाढी प्रभावितहरुको सन्दर्भमा सूचना दिने र सोही सूचनाका आधारमा टोली खटिने महानगरको भनाइ छ।

पानी डुबानका कारण स्थानीयमा पानी र हिलोका कारण छालामा समस्या देखिन सक्ने प्राथमिक उपचारकाक्रममा खटिएका कर्मचारीहरुले जनाएका छन्।

असार २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्