फाइल तस्बिर

चितवन-बढ्दो गर्मी, खेतीपाती र विद्यार्थीको परीक्षाका कारण रक्तदान कार्यक्रमको आयोजना नहुँदा बिरामीका आफन्तले रगत पाउन मुस्किल भएको छ । अस्पतालमा बिरामी राखेर रक्तसञ्चार केन्द्रमा रगतको प्रतीक्षामा बस्नेको सङ्ख्या बढ्दै गएको छ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार आवश्यकमात्रामा रगत सङ्कलन नहुँदा समस्या उत्पन्न भएको हो । चिनजान भएका बिरामीका आफन्तले आफैँले दाता खोजेर रगत लिने गरेका छन्।

अति आवश्यक भएकालाई रगत पुर्‍याइएको पौडेलले जानकारी दिए। रगतको व्यवस्थापन गर्न नसक्दा अति आवश्यक बाहेकका शल्यक्रियाको समय सार्नुपर्ने अवस्थासमेत सिर्जना भएको पौडेलले बताए।

केन्द्रमा दैनिक १५० युनिट रगतको माग हुने गरेको छ भने रक्तदान र केन्द्रमा नै रक्तदाता पुगेर दिने रगत ७५ युनिट मात्र हुने गरेको उहाँले जानकारी दिए। रगत अभावका कारण बिरामीका आफन्तले हैरानी व्यहोर्नु परेको छ ।

देशकै केन्द्र भागमा रहेकाले यहाँ आउने दुर्घटनाका घाइते, भरतपुर अस्पतालमा हुने प्रसुतिको शल्यक्रिया, क्यान्सर अस्पतालमा हुने बिरामीको शल्यक्रियामा बढी रगत आवश्यक पर्दछ। यहाँका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र निजी अस्पतालले पनि शल्यक्रिया र अन्य उपचारका क्रममा बिरामीलाई रगत चढाउने गर्दछन्।

जेठ महिनादेखि साउनसम्म रगतको चरम अभाव हुने गर्दछ । मानिसको खेर जाने रगतले जीवन बचाउन सकिने भएकाले रक्तदानमा सहभागी भई सहयोग पुर्‍याइदिन केन्द्रले आह्वान गरेको छ।

नेपाल स्वयंसेवी रक्तदाता समाज, युथ फर ब्लड र दारिग्याङ लगायतका समूहले रक्तदाता खोजी सहयोग गर्दै आएका छन्। कार्यालयमा ५०० भन्दाबढी रक्तदाताको नाम र नम्बर राखिएको छ। अति आवश्यक हुँदा उनीहरुलाई पनि बोलाउने गरिएको पौडेलले बताए।

केन्द्रले चितवन, धादिङ, नवलपुर, नवलपरासी, बारा, पर्सा, तनहुँ, लमजुङ, गोर्खालगायतका १२ जिल्लाबाट रगत सङ्कलन गर्दै आएको छ। यी जिल्लामा गर्मीका कारण रक्तदाताको अभाव भएपछि रगतको समस्या देखिएको हो। जिल्लामा रहेका अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या उच्च रहेकाले रगतको माग बढी रहेको छ।

असार २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्