विमानस्थलमा सुटकेश गुडाउँदै आउनुपर्ने छोरो जब बाकसमा बन्द भएर आयो

विमानस्थलमा सुटकेश गुडाउँदै आउनुपर्ने छोरो जब बाकसमा बन्द भएर आयो

मृतक दिपेशका बुवा ऋषिराम पौडेल र काका हरि पाैडेलसहित आफन्तहरु।

काठमाडाैँ – आठ महिना अगाडि छोरो मलेसिया उड्दा बुवा ऋषिराम पौडेलले छोरालाई यसरी लिन आउनु पर्ला भनेर सोचेका थिएनन्। हुन त कसले पो साचेको हुन्छ र!

असारको महिना बादलले गमक्क ढाकेको थियो। पानी पर्न कम भएको थिएन काठमाडाैँमा। असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको घडीमा घण्टाको सुइले १२ बजाइ सकेको थियो। भित्रबाट निस्कनेहरु हाँस्दै निस्किएका थिए। आफन्त लिन विमानस्थल पुगेकाहरु कुर्कुच्चा उचालेर घाँटी तन्काएर हेर्दै थिए, अब त आए होलान् भनेर!

तर त्यही भिडमा एउटा परिवार आँशुसहित छोराको पर्खाईमा थियो। बुवा ऋषिराम पौडेलसँगै काका हरि पौडेल आँसु थामेर छोरो आउने बाटो पर्खिरहेका थिए। आउने बाटो उही हो तर अवस्था फरक थियो। ट्रलीमा सुटकेस राखेर गुडाउँदै हाँस्दै आउनु पर्ने छोरो बाकसमा बन्द भएर आउँदै थियो।

बुवा ऋषिराम पौडेल आगमन कक्ष भित्र जान्छन् र छोराकाे शव भएको कफिनको पछि लागेर आउँछन्, आखाँबाट बगेको आँशु रोक्दै।

पाैडेलको परिवार बाँकेको कोहलपुरमा बस्छ। आमाबुवा र दुई छोरा। चार जनाको सुखी परिवार। तर अब त्यो खुशी चुँडिएको छ।

२२ वर्षका जेठा छोरा दिपेश पौडेल १२ कक्षाको परीक्षा सकेर बसेका थिए। त्यसभन्दा बढी  पढाउने खर्च परिवारले व्यहोर्न सक्ने स्थिति थिएन। बुवा सामान्य खेती किसानी गर्छन् र आमा उनलाई सघाउँछिन्।

पौडेल परिवारले ऋण गरेर आठ महिना अगाडि छोरालाई मलेसियाका पठाएका थिए। काम पानीजहाजबाट सामान लोड अनलोड गर्ने थियो। उनका काका हरि पौडेलका अनुसार काम र कमाई राम्रै थियो। भाइ आईटी पढ्दै थिए। जिन्दगी राम्रै चलेको थियो।

बुवा ऋषिराम पौडेल गाडिमा रहेको छोराको कफिन हेर्दै ।

असार १४ गतेको त्यो एक क्षणले पौडेलको परिवारमा असारको झरी जस्तै आँखामा पनि आँसुको वर्षात हुन थाल्याे। सडक दुर्घटनामा दिपेशको ज्यान गयो। मलेसियामा रहेका उनका भान्जा रवि धितालले फोन गरेर परिवारमा खबर गरे।

त्यही एक कल फोनले पौडेलको परिवारको खुशी खोसेर लग्यो। हरि पौडेल भन्छन्,‘ घटना भएको आधा घण्टामै भाञ्जाले मलाई फोन गरेर जानकारी दिए।’ काका हरिलाई सुरुमा विश्वास लागेन।

छोराको मृत्युले पौडेलको परिवार शोकमा छ। २२ वर्षको छोरा, जसको हाँस्ने खेल्ने उमेर थियो, उसले अकालमा ज्यान गुमायो। जसको कमाईबाट परिवारको खर्च चल्दै आएको थियो। तर त्योभन्दा परिवारमा छोरा गुमाएको पीडा छ। ‘जे हुनु भयो, आफूलाई समाल्नुहोस्’ सबैले भन्ने यही हो। तर बाआमाले  त  आफ्नाे छाेराे गुमाएका छन्। आफ्नो बुढेसकालको एक साहारा गुमाएका छन्।

दिपेशकाे शव रहेकाे कफिन ल्याइँदै।

घटना सुनिसकेपछि जे हुनु भयो भन्दै परिवार छोराको शव झिकाउने प्रयासमा लाग्यो। काठमाडौँको वाइड स्पेस इन्टरनेसनल म्यानपावरमा धाए। जुन म्यानपावरमार्फत छोरा मलेसिया उडेका थिए। काका हरि पौडेलका अनुसार म्यानपावरले कम्तिमा १५ दिन लाग्ने र नाता प्रमाणित लगायतका कागज ल्याउन भन्यो। छोरा गुमाएको पीडामा छोराको शव भए पनि कहिले आउँछ भन्ने पिर परिवारमा पर्‍यो।

म्यानपावरले १५ दिन लाग्ने बताएपछि मृतकका मामाले अर्को उपाए अपनाए। उनी बर्दियाकी सांसद बिमला विकलाई भेट्न गए। उनकै पहल र श्रम मन्त्रालय र वैदेशिक रोजगार प्रवर्दन बोर्डले शव काठमाडौँ ल्याउने व्यवस्था गरिदियो।

शनिबार बुबा ऋषिराम पौडेल र उनका भाई हरि पौडेलले विमानस्थलबाट दिपेशकाे शव बुझेका छन्। सँगै आएकी सांसद बिमला विकलाई परिवारले पीडा भुलेर धन्यवाद दिन बिर्सिएन। शवलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको गाडीमा कोहलपुर लगियो।

आठ महिनाअघि निधारमा टिका र बिदाइको हात हल्लाउँदै प्रदेश पठाएको छोरालाई त्यही प्रदेशले सधैँको लागि टाढा बनाईदियो। कफिनमाथि हँसिलो फोटो टाँसिएको थियो। अब पौडेल परिवारले त्यो हाँसो फोटोमा मात्र देख्न पाउनेछ र याद गर्ने छ छोरासँग बिताएका ती २१ वर्ष। कफिन गाडीमा राखेर अगाडि बढ्यो बुवा भने आखाँबाट आँशु झार्दै एक टकले हेरिरहे।

मृतक दिपेश पौडेलको कोहलपुरमा परम्परा अनुसार आइतबार दाहासंस्कार गरिएको छ।

मृतक दिपेश पौडेल
असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्