अफ्रिका कप अफ नेशन फुटबल

इन्जुरी समयको पाँचौँ मिनेटमा उत्कृष्ट फ्रि–किक गोल, महरेजको अल्जेरिया फाइनलमा

इजिप्टमा जारी अफ्रिका कप अफ नेशन फुटबल अन्तर्गत आइतबार राति भएको सेमिफाइनलमा जित निकाल्दै अल्जेरियाले फाइनलमा स्थान बनाएको छ ।

रियाद महरेजको कप्तानीमा रहेको अल्जेरियाले नाइजेरियालाई २–१ ले पराजित गरेको हो । अल्जेरियाको जितमा इन्जुरी समयको पाँचौँ मिनेटमा कप्तान महरेजले फ्रि–किक मार्फत गरेको गोल निर्णायक बन्यो ।

४० औँ मिनेटमा नाइजेरियाका विलियम ट्रूस्ट–एकोङले आत्मघाती गोल गरेपछि अल्जेरियाले अग्रता लियो । ७२ औँ मिनेटमा नाइजेरियाले पेनाल्टी पायो, त्यसलाई सदुपयोग गर्दै ओडिअन इग्हालोले टिमका लागि बराबरी गोल गरे । तर इन्जुरी समयको पाँचौँ मिनेटमा उत्कृष्ट फ्रि–किक मार्फत गोल गर्दै अल्जेरियालाई फाइनलको यात्रा गराएका हुन् ।

अल्जेरियाले आउँदो शुक्रबार हुने फाइनलमा सेनेगलसँग प्रतिस्पर्धा गर्ने छ । आइतबार राति नै भएको अर्को सेमिफाइनलमा ट्युनिसियालाई पराजित गर्दै सेनेगलले फाइनलमा स्थान बनाएको हो ।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्