'गो ब्याक हाेम'

रंगभेदी ट्वीटले संकटमा ट्रम्प

अमेरिकी राष्ट्रपति डेमोक्र्याटिक महिला सिनेटरबारे गरेको टिप्पणीका कारण विवादमा तानिएका छन्। राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक पार्टीका तर्फबाट कंग्रेसमा प्रतिनिधित्व गर्ने महिला नेतृलाई लक्षित गरेर रंगभेदी ट्वीट गरेका थिए । उनको सो ट्वीटपछि तीव्र आलोचना भइरहेको छ ।

ट्रम्पले ल्याटिन तथा अफ्रिकन मुलका महिला नेतृलाई लक्षित गरेर रंगभेदी ट्वीट गरेका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘मुल रुपमा राज्यसत्ता पूर्ण रुपमा खराब रहेको देशबाट आएकाहरुले सुझाव दिनु पूर्व आफ्नो मुल देश फर्किए हुन्छ ।’ त्यसपछि राष्ट्रपति ट्रम्पले कंग्रेसकी सभामुख न्यान्सी पेलोसीलाई लक्षित गरेर ट्वीट गरेका थिए ।

डेमोक्र्याटिक पार्टीका लेफ्ट–विङ्गमा रहेका चार महिला नेतृको समूह ‘द स्क्वाड’ सँग सभामुख पेलोसीको गएको हप्ता विवाद भएको थियो । त्यसको हप्ता दिनपछि ट्रम्पले उनीहरु विरुद्ध रंगभेदी ट्वीट गरेका हुन् । ट्रम्पले ती नेतृहरु आफ्नो ‘मुल’ देश फर्किने भए यात्राको निशुल्क व्यवस्थापनका लागि सभामुख पेलोसी खुशी हुने ट्वीटमा उल्लेख गरेका छन् ।

अमेरिकामै जन्मी हुर्केका एलेक्सान्ड्रिया ओकासिओ–कोर्तेज, रशिदा तलाइब र एयाना प्रेसली तथा बाल्यकालमा अमेरिका आएकी इहान ओमारले कंग्रेसमा ‘द स्क्वाड’ समूह बनाएका छन् ।

ट्रम्पले सो समूहका नेतृलाई लक्षित गर्दै लेखका छन्, ‘डेमोक्र्याटिक पार्टीका ‘प्रोगेसिभ’ कंग्रेस सदस्यहरुका गतिविधि हेर्न रोमाञ्चक लाग्छ, जो त्यस्तो देशबाट आएका हुन् जहाँको सरकार पूर्ण रुपमा बर्बाद, खराब, भ्रष्ट र अयोग्य छ । उनीहरुले नै अहिले चर्को र क्रुरतापूर्ण स्वरमा पृथ्वीको सर्वोत्कृष्ट र शक्तिशाली देश अमेरिकाका नागरिकलाई भनिरहेका छन् कि, सरकार कसरी चलाउन पर्छ ।’

बाल्यकालमा अमेरिका आएकी इहान ओमार साेमालियामा जन्मिएकी हुन् ।

उनले अघि लेखेका छन्, ‘उनीहरु किन आफूहरु आएको त्यो ठाउँ फर्किँदैनन्, जहाँको अवस्था निकै नाजुक, पूर्णरुपमा तहसनहस र अपराधले गाँजिएको छ, उनीहरुले त्यहाँको समस्या समाधान गरे हुने।’

ट्रम्पले थप लेखेका छन्, ‘अति आवश्यकता रहेको सो ठाउँमा उनीहरुको फिर्ताका लागि मलाई लाग्छ न्यान्सी पेलोसीले निकै खुशी भएर निशुल्क यात्राको प्रवन्ध गर्ने छिन् ।’

ट्रम्पले ट्वीटमा कुनै पनि महिला नेतृको नाम लिएका छैनन् । तर पेलोसीको नाम ट्वीटमा उल्लेख भएकाले ट्रम्पले इंगिद गरेका नेतृहरु एलेक्सान्ड्रिया ओकासिओ–कोर्तेज, रशिदा तलाइब, एयाना प्रेसली र इहान ओमार रहेको स्पष्ट भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।


सभामुख पेलोसीले ट्रम्पको ट्वीट ‘जेनोफोबिक’ रहेको उल्लेख गरेकी छन् । उनले ट्रम्पको ट्वीट अमेरिकालाई विभाजित गर्ने खालको रहेको बताएकी छन् ।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्