अमेरिकी ‘साम्राज्यवाद’ विरुद्ध ‘विश्व जनमत’ जुटाउन भेनेजुएली राष्ट्रपति मादुरो पुत्र नेपालमा

काठमाडौँ – अमेरिकाको नाकाबन्दी र नियतविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउने क्रममा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टोको नेतृत्वमा तीन मन्त्रीहरु सहित ११ सदस्य टोलीले नेपाल भित्रिए लगत्तै भेटघाट तीव्र पारेका छन् ।

तर अमेरिकासँग नेपाल निकट बन्दै गएको बेला प्रधानमन्त्री लगायत कुनै पनि उच्चअधिकारीहरुले औपचारिक रुपमा उनीहरुसँग नभेट्ने निर्णय गरेको उच्च स्रोतको दाबी छ ।

निकोस मादुरोको राष्ट्रपतिको दोस्रो सपथ ग्रहण कार्यक्रममा भेनेजुएला पुगेका सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य बलराम बास्कोटा, रामप्रसाद सापकोटा (दीपशिखा) लगायतको पहलमा त्यो टोली २८ गते नेपाल आएलगत्तै पार्टीका नेताहरुसँग भेटघाट अघि बढाएको थियो।

उनीहरु नेपाल भित्रनुमा पूर्ववर्ति माओवादीका नेताहरुको बढी हात रहेको बुझिएको छ।

उनीहरुले नेकपाका सचिवालय सदस्य झलनाथ खनाल, बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतसँग छुटछुटै भेट गरेका छन्।
प्रवक्ता श्रेष्ठले उनीहरुले आफूहरुसँग भेटमा भेनेजुएलाको नाकाबन्दीका कारण आर्थिक अवस्था कठिन रहेको र त्यो परिस्थितिको सामना गर्दा कसरी अन्तर्राष्ट्रिय समर्थन हासिल गर्न सकिन्छ भन्नेमा जिज्ञासा राखेको पुष्टि गरेका छन्।

क्आन गुयडोलाई अमेरिकाले भेनेजुयलाको राष्ट्रपतिमा मान्यता दिँदै भेनेजुएलामा आर्थिक नाकाबन्दी समेत लगाएको थियो ।

त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकोलस मदुरोको समर्थन गर्दै अमेरिकाले भेनेजुयलामा ‘साम्राज्यवादी कू’ गरेमा असहनीय हुने भन्दै अमेरिकाविरुद्ध वक्तव्य जारी गरेका थिए।

तर अमेरिकाले त्यसलाई लिएर आपत्ति जनाएको थियो। त्यसपछि अमेरिकासुँग सम्बन्ध सुधारको प्रयासमा प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका थिए । प्रचण्डको अमेरिका भ्रमण गराउन नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले भूमिका खेलेका थिए ।

भेनेजुएलामा पछिल्लो केही वर्षदेखि अस्थिर रहेको राजनीतिक तथा आर्थिक अवस्था हाल उत्कर्षमा पुगेको छ । राष्ट्रपति मादुरोलाई रुससहितका देशको समर्थन छ ।

उनको विरुद्धमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका विपक्षी नेता क्आन गुयडोलाई अमेरीकासहित अधिकांश दक्षिण अमेरिकी देशको समर्थन छ । उनले आफूलाई गएको जनवरी २३ मा राजधानी काराकासमा भएको प्रदर्शनको क्रममा भेनेजुएलाको अन्मरिम राष्ट्रपति घोषित गरेका थिए ।

हाल मादुरो र गुयडो पक्षबीच वार्ताको प्रयास भइरहेको छ ।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्