पूर्वीय दर्शनको पुनर्व्याख्या

हामी को हौँ ? हामी यहाँ कसरी आयौँ ? यो ब्रह्माण्ड के हो ? यो कसरी उत्पन्न र विकसित भयो ? हाम्रा सुख र दुःखका कारण के हुन् ? के हामी हाम्रा दुःख र बन्धनहरूबाट मुक्त हुन सक्छौँ ? यस्ता मानव जिज्ञासाहरूका उत्तर पाउने तथा आफू, आफ्नो वातावरण र आफू रहेको ब्रह्माण्डका बारेमा जान्ने मानव उत्कण्ठाको इतिहास धेरै लामो छ। विश्वका सबै सभ्यताहरूले आ-आफ्नै मौलिक ढङ्गले यस्ता दार्शनिक प्रश्नहरूको उत्तर खोज्ने कोसिस गरे होलान्। हिमालयको काख र यसलाई समेट्ने पूर्व पनि त्यस्तो खोजमा लाग्ने प्राचीनतम उदाहरण हो। पूर्वका समाज ती मौलिक दर्शनको प्रभावमा हुर्केका हुन्।

जसरी पश्चिममा फिलसफी (philosophy) शब्द ‘प्रज्ञाको पारख’ वा ‘प्रज्ञा प्रतिको लगाव’ जनाउने अर्थ बोकेर हुर्क्यो, त्यसरी पूर्वको वैदिक सभ्यतामा दर्शन शब्द ‘सत्य र गूढ रहस्यलाई देख्ने र देखाउने ऐना’ को अर्थ बोक्दै हुर्क्यो। यहाँ बौद्धिक खोजको त्यो उपाय, विधि वा पद्धतिलाई दर्शन भनेर चिनियो जसले विश्व, वस्तु र प्रणालीमा रहेको सत्य र गूढ रहस्यलाई उद्घाटन गर्न सकोस्। यो मानियो कि दर्शन त्यो बेला हाम्रो उद्धारका लागि उपस्थित हुन्छ जब हाम्रो खोजको गहिराइमा रहेका खास प्रश्नहरूका प्रामाणिक उत्तर दिन हाम्रो शिक्षा, विज्ञान र अनुसन्धान असमर्थ बनेको हुन्छ।

पूर्वमा शास्त्रीय दर्शनको उदय त्यो बेला भएको मान्न सकिन्छ जब ऋग्वेदको प्रथम श्लोकले “अग्नि (आगो) नै सत्यको उद्घाटन गर्ने उच्चतम शिक्षक हो” भनेर उद्घोष गर्‍यो। हाम्रा गहनतम दार्शनिक प्रश्नहरूको उत्तर फेला पार्ने उच्चतम ज्ञानको स्रोत अग्निमा, अर्थात् कार्यमा रूपान्तरण भइरहेको अवस्थाको ऊर्जामा, रहेको छ भनेर भन्यो। अग्निमा नै पदार्थ र चेतनाको, पदार्थ र ऊर्जाको, स्थूल र सूक्ष्मको,  भूत र आत्माको जटिल सम्बन्धको रहस्य उद्घाटित हुन्छ भन्ने जानेर त्यसपछिको लामो समय पूर्वले अग्निलाई बुझ्नमा खर्च गर्‍यो। आगोमा हवन गरेका सबै जीवित भूतहरू, चैतन्य प्राणी-वनस्पतिहरू हाम्रा आँखा अगाडि नै विघटित भएर सूक्ष्म तत्त्वमा परिणत भएर उठ्छन् र विस्तारित आकाशमा विलीन हुन्छन्। त्यसको ठीक विपरीत ऊर्जा र सूक्ष्म तत्त्वलाई मात्र ग्रहण गरेर एउटा पीपलको सानो बीज एउटा भीमकाय र स्थूल वृक्षमा परिणत हुन्छ। सूक्ष्म तत्त्व र ऊर्जाको यो खेललाई जान्न आकर्षित पूर्वीय दार्शनिकले माने कि तब मात्रै हामीले पदार्थ र चेतनाको सम्बन्ध जान्ने छौँ जब हामीले अग्निलाई राम्ररी बुझेका हुनेछौँ। उनीहरूलाई लाग्यो कि सूक्ष्मतम तहमा हुने पदार्थ र ऊर्जा बीचको लयबद्ध नाचलाई जानेर हामीले जीवनका गहनतम रहस्यहरूलाई उद्घाटन गर्ने छौँ। यसैलाई पूर्वले रोपेको विज्ञान र दर्शनको प्रथम बीज मान्न सकिन्छ। आज आधुनिक विज्ञानले पनि ब्रह्माण्डको उत्पत्ति, विकास र प्रलयको रहस्य जान्नका लागि सूक्ष्मतम तहमा हुने पदार्थ र ऊर्जाको सम्बन्ध जान्न समर्पित प्रमात्रा भौतिकी (quantum physics) को विकास गरिरहेको छ।

त्यही प्राचीनतम ग्रन्थ ऋग्वेदले भन्छ कि हाम्रा अगाडी खुल्दो र फैलँदो यो रहस्यमय ब्रह्माण्ड एउटै पीपलको रुख जस्तो हो जसमा दुई किसिमका ‘चरा’ले वास गर्छन्। पहिलो चराले त्यो पीपलका फललाई खुब स्वाद-पूर्वक खाइरहेको हुन्छ भने अर्काले त्यो रुख र त्यसका फललाई द्रष्टा बनेर हेरिरहेको हुन्छ।[1] यसरी हामी भित्र नै एउटा भोग्ने‘म’ र एउटा जान्ने ‘म’, अर्थात् एउटा भोक्ता ‘म’ र एउटा द्रष्टा ‘म’ विद्यमान हुन्छ भन्ने अवधारणा अगाडि ल्याइएको छ, जुन आज पनि पूर्वीय दर्शनको एक कौतुहलका साथ अध्ययन गरिने विषय बनेर रहेको छ। यसै साथ पूर्वका चिन्तकहरूले हामी भित्र विद्यमान हुने दुःखी ‘म’ र दुःख-रहित ‘म’ विद्यमान हुन सक्छ भन्ने पत्ता लगाए र दुःखको निवारण कसरी गर्ने भन्ने बारेमा अनेकौँ मार्गहरूको विकास गरे। यो समस्त ब्रह्माण्डलाई एउटै जेलिएको प्रणालीका रूपमा बुझ्न सक्नु र एउटा सहकारितामा अडिएको र फैलिएको तन्त्रका रूपमा बुझ्नु उनीहरूको खोजको एउटा बडोरोचक उत्कर्ष जस्तो लाग्दछ।

पूर्वका दार्शनिक उत्कर्षका समयमा नयाँ ज्ञानको उत्पादन प्रामाणिकतामा आधारित हुनु पर्ने परम्पराको विकास गरिएको थियो। त्यसैका आधारमा ज्ञानको पूर्वीय खोज प्रणालीले विज्ञान र दर्शनका धेरै वटा प्रतिस्पर्धी र परिपूरक शाखाहरूको निर्माण र विकास गर्यो। ती मध्ये तीनवटा शाखाहरू एकदम विकसित र सुसङ्गठित भएर निस्कँदै पूर्वको ठूलो भूभागमा फैलिन सफल भए। ती मध्येको एउटा हो भक्तिमार्ग जहाँ व्यक्तिले आफ्ना समस्याको समाधान पाउन कोही विचार, सम्प्रदाय, नेता, धर्मगुरु वा देवतामा आफूलाई समर्पण गर्ने र त्यसकै माध्यमबाट आफ्नो मुक्तिको मार्ग तय गर्ने हुन्छ। अर्को मार्ग योगमार्ग हो जहाँ एउटा व्यक्तिले प्रकृति र समाजमा विद्यमान हुने विरोधाभासहरूलाई नयाँ समाधान र सिर्जनाका अवसरका रूपमा हेर्ने र तिनको एकतामा आफ्नो मुक्ति प्राप्त गर्ने विचार राख्दछ। तेस्रो मार्ग साङ्ख्यमार्ग हो जहाँ व्यक्तिले बाहिर जटिल र अस्थायी देखिने कुनै एक वस्तु, तथ्य वा प्रणाली अनेकौँ सरल र स्थायी वस्तु, प्रणाली वा नियमबाट बनेको थाहा पाउने र त्यसरी प्राप्त शुद्ध-ज्ञान, विज्ञान वा सत्य नै उसको मुक्तिको पर्याय बन्ने मान्यता राख्दछ। यी तीनवटै मार्गबाट बन्ने एक एकीकृत दार्शनिक प्रणाली, अर्थात् त्रिमूर्ति दर्शन यो पुस्तकको मूल विषयवस्तु हो।

भक्ति, योग वा साङ्ख्य जुनसुकै मार्गमा पनि अनुयायीहरू मिश्रित प्रकारका हुने गर्छन्, प्रतिद्वन्द्वीवैचारिक ध्रुव हुने गर्छन्।ती ध्रुव मध्ये एउटा भौतिकवादी, प्रकृतिवादी वा पदार्थलाई सृष्टिको मूल कारण मान्ने ध्रुव हो भने अर्को चेतनावादी, ईश्वरवादी, वा ईश्वरको इच्छा र खटनपटन सृष्टिको मूल कारण हो भन्ने ध्रुव हो। यी दुईका बीचमा एउटा मध्यमार्गी धार रहने गर्छ जसले प्रकृति-पुरुष द्वैधतालाई सृष्टिको मूल कारण मान्दछ। वैदिक दार्शनिक परम्परामा यो प्रकृति-पुरुष द्वैधता मान्नेतेस्रो धारले पदार्थ र ऊर्जा, पदार्थ र चेतना, भूत र आत्मा सधैँ सँगै रहने र तिनको संयुक्त उपस्थितिमा मात्रै यो ब्रह्माण्ड र सृष्टिको उचित व्याख्या गर्न सकिने मान्दछ।

भक्ति, योग र साङ्ख्यको आ-आफ्नै मौलिक विकास हुँदै जाँदा अन्ततः भक्तिमार्ग सवैभन्दा सङ्गठित र लडाकू बनेर निस्क्यो र व्यापक रूपमा विस्तारित भयो। आम मानिसका लागि यो अति उपयोगी रहँदा-रहँदै पनि यसले आफ्नो फैलावटका लागि विश्वासको, र कतिपय अवस्थामा अन्धविश्वासको, सहारा लिने गर्छ। फलस्वरूप विश्वासका आधारमा नभएर प्रमाणका आधारमा मात्र सत्य-तथ्यको निरूपण गर्न सकिन्छ भन्ने साङ्ख्यमार्गलाई यो भक्तिमार्गले आफ्ना बाटाका काँडाका रूपमा लिएर दमन गर्न पुग्यो। साङ्ख्यमाथिको यो दमन पछि लामो समयसम्म रहेको भक्तिको एकल वर्चस्वले हाम्रो समाज र सभ्यताको विकासका लागि प्रतिकूल असर पार्यो। फेरि हालका समयमा आइपुग्दापुराना अन्धविश्वासको आलोचक र प्रामाणिक ज्ञानको प्रवर्तक बनेर निस्केको आधुनिक विज्ञान बलियो बनेर निस्क्यो। यो आधुनिक विज्ञानकोसम्पर्कमा आए पछि हाम्रो समाजको आधुनिक पुस्ता भौतिकवादी कित्तामा पुग्यो। यो भौतिकवादी पुस्ताले आफ्ना सवै गहन प्रश्नहरूको उत्तर आधुनिक विज्ञानमा पाउने आशा राखेको थियो तर ती सवै प्रश्नको उत्तर त्यहाँ पनि पाउन सकेन, न त भौतिक वस्तु र सुविधाको पर्याप्तता केवलले मानिसलाई मुक्त स्थितिमा पुर्याउन सक्यो। उसले आत्मा भन्ने त्यस्तो केही हुँदैन भन्दै त आयो तर आम मानिसलाई त्यो पत्यारिलो लागेन। आम मानिसलाई जीवन बडो रहस्यमय लागिरह्यो, उनीहरूले जीवनलाई एउटा भौतिक वस्तुहरूको सङ्घटन मात्र मान्न तयार भएनन् बरु यसलाई संवेदना, भावना, करुणा, कामुकता, व्यक्तित्व, सुख रदुखमा जेलिएको तथाआत्मोत्थान, आत्म-जागरूकता र मुक्तिका लागि लालायित अस्तित्वका रूपमा लिइरहे।

लाग्छ, जीवनलाई हेर्ने फरक-परक दृष्टिकोण भए अनुसार एउटै समाजमा रहेका अनेकौँ हाम्रा गन्तव्यहरू भिन्न-भिन्न छन्। मुक्ति के हो र मुक्ति केलाई मान्ने भन्ने बारेमा पनि हाम्रा धारणाको कुनै एकरूपता छैन्। आज आफूलाई विज्ञानमा आधारित गर्ने आजका भौतिकवादी हामीहरूले पनि मानव मुक्तिको कुनै वैज्ञानिक टुङ्गो लगाउन सकेका छैनौँ।बरु जब एउटा भौतिकवादीलाई सांसारिक दुःखले घेरेर सङ्कटमा पार्छन् तब उसका लागि आत्महत्या, आत्म-हानी, वा हिंस्रक विद्रोह बाहेक अरू बाटाहरू बाँकी नहुने देखियो जबकी एउटा अध्यात्मवादीका लागित्यही अवस्था आध्यात्मिक जागरण, आत्म-ज्ञान, र व्यक्तिगत विकासको बाटो पनि उपलब्ध हुन्छ। भौतिक दुःख निवारण गर्न आवश्यक र सम्भव भए पनि केवल भौतिक उपायबाट मात्र मानिसलाई मुक्त तुल्याउने कुरा बडो दुर्गम लाग्दछ। भौतिक रूपले हामी बन्धन मुक्त हुँदैमा र भौतिक दुःख निवारण हुँदैमा हाम्रा आत्मिक र दैविक दुःख निवारण हुन्छन् भन्ने हुँदैन। त्यसैले वैदिक दर्शनले आधिभौतिक, आध्यात्मिक र आधिदैविक गरि तीन विधाका दुःख निवारण गर्नुलाई मानव पुरुषार्थका रूपमा लिएको हो।

भक्ति, योग र साङ्ख्यमा मानव मुक्तिका तीनवटा मुख्य मार्ग हुन् तर एउटै मार्ग सवै मानवका लागि उपयुक्त हुन सक्दैन। एउटै उपायबाट हाम्रो जटिल समाजका, मूलतः आज उदाउँदो शिक्षित समाजका, बहुविध समस्याहरूको समाधान वा आवश्यकताको पूर्ति गर्न सकिँदैन। भक्ति, योग वा साङ्ख्य कुनै पनि मार्गमा निहित यस्ता द्वैधता र विरोधाभास छन् कि उसको एकल वर्चस्वले अन्य दुईलाई छायामा पार्न सक्यो भने उसले आफ्नै लक्षलाई समेत नष्ट गर्न पुग्दछ। आगामी समयमा हामीलाई यो कुरा बारे थप बोध हुँदै जानेछ कि भक्ति, योग र साङ्ख्य तीनवटै क्षेत्रको सन्तुलित विकासबाट मात्रै हामीले दीर्घजीवी, सभ्य र न्यायिक समाजको विकास गर्न सफल हुने छौँ।

प्राचीनतम ग्रन्थ ऋग्वेदले भन्छ कि हाम्रा अगाडि खुल्दो र फैलँदो यो रहस्यमय ब्रह्माण्ड एउटै पीपलको रुख जस्तो हो जसमा दुई किसिमका ‘चरा’ले वास गर्छन्। पहिलो चराले त्यो पीपलका फललाई खुब स्वाद-पूर्वक खाइरहेको हुन्छ भने अर्काले त्यो रुख र त्यसका फललाई द्रष्टा बनेर हेरिरहेको हुन्छ। यसरी हामी भित्र नै एउटा भोग्ने‘म’ र एउटा जान्ने ‘म’, अर्थात् एउटा भोक्ता ‘म’ र एउटा द्रष्टा ‘म’ विद्यमान हुन्छ भन्ने अवधारणा अगाडि ल्याइएको छ, जुन आज पनि पूर्वीय दर्शनको एक कौतुहलका साथ अध्ययन गरिने विषय बनेर रहेको छ।

साङ्ख्य, भक्ति र योग एउटा त्यस्तो ओदानका तीनवटा खुट्टा हुन् जसमा समाजका लागि आवश्यक खाना पकाउने ताउलो बसालिएको हुन्छ।  अनि प्राकृतिक सम्पदालाई बालेर त्यो ताउलामा समाजले आफूलाई चाहिने ज्ञान, विज्ञान, प्रविधि, कला, संस्कृति, रचना, सिर्जना, सुशासन,व्यापार, व्यवसाय, सुख र समृद्धि जस्ता पाकहरू पकाउँछ, खान्छ र पुष्टिन्छ। तर यदि त्यो ओदानका तीन मध्ये कुनै एक मात्र खुट्टो भाँचिएमा त्यसको सन्तुलन गुम्छ, त्यो ताउलो पल्टन्छ र समाजले आफूलाई चाहिने सवै आहार सन्तुलित रूपमा पाउँदैन र छिटै ऊ कुपोषणको सिकार बन्न पुग्दछ। यही सन्तुलनको खाँचो बुझेर वैदिक सभ्यताले त्रिमूर्ति देवतामा उसको त्रिमूर्ति दर्शन उतार्न पुग्यो।

वैदिक सभ्यताले आफ्नो साङ्ख्य, भक्ति र योग दर्शनलाई ब्रह्मा, विष्णु र शिव देवता तथा सरस्वती, लक्ष्मी र पार्वती देवीमा उतारेको छ। यही सभ्यतालेलामो परिष्करणबाट निर्माण गरेर ती देवी देवताका मूर्तिमा उतारिएका प्रतीक, चिह्न र लक्षणहरूको प्रयोग गरेर वैदिक त्रिमूर्ति दर्शनको दार्शनिक सारलाई समाजमा प्रसारण गर्दै आएको छ, जहाँ हरेक देवी वा देवताले एउटा विशिष्ट दार्शनिक अवधारणाको प्रतिनिधित्व गर्दछन्। ठूलो सांस्कृतिक र भाषिक विविधता भएको विशाल दुनियाँमा कुनै जटिल दर्शनलाई सहज रूपमा र अर्थमा गोलमटोल हुन नपाउने गरि फैलाउन यस्ता दृश्यमय प्रतीकको उपयोग गर्नु आवश्यक देखेर वैदिक सभ्यताले यस्तो प्रतीकमा आधारित ज्ञानको प्रसारण प्रणालीको विकास गर्यो। फलस्वरूप त्रिमूर्ति देवी-देवतामा वैदिक दर्शनको सारलाई उतार्न सम्भव भयो।

यो प्रणालीमा शिक्षण, सिकाई, ज्ञान, विज्ञान र अनुसन्धानको दर्शनलाई ब्रह्मा र सरस्वतीमा उतारिएको छ। विधि, प्रविधि, रचना र संयोजनको दर्शन शिव र पार्वतीमा उतारिएको छ। सुशासन, व्यापार, वाणिज्य र समृद्धिको दर्शनलाई विष्णु र लक्ष्मीमा उतारिएको छ। यी तीनवटै दर्शनको समष्टिले त्रिमूर्ति दर्शनलाई जनाउँछ। यो त्रिमूर्ति दर्शनले आफूलाई वैदिक, अवैदिक, आस्तिक, नास्तिक, ईश्वरवादी र भौतिकवादी सवैलाई समेटेको हुन्छ। यो दर्शनले एउटा शिक्षित, चिन्तनशील, नवप्रवर्तनकारी, गतिशील, सुशासित र समृद्ध समाजमा साङ्ख्य, भक्ति र योगको सन्तुलित विकास भएको हुनु पर्छ भन्ने मान्यता राख्छ। यसले न त ज्ञान-विज्ञानको मात्र एकल प्रधानताको वकालत गर्छ, न प्रविधि र नवीनता एकलको, न सुशासन एकलको, न व्यापार वाणिज्य एकलको। त्यस्तो सन्तुलनद्वारा समाजको सुख, शान्ति, उन्नति र प्रगति टिक्छ भन्ने मान्यतालाई यो दर्शनले राख्छ।

वैदिक परम्पराका यी फरक दार्शनिक धारहरू एकदम भिन्न र मौलिक मान्यतामा अडिएका हुन्छन्। यो भिन्नतालाई तलको चित्रमा देखाइएको छ। जस्तो कि ब्रह्माका अनुयायीहरूले अपनाउने साङ्ख्य सिद्धान्तले भन्छ : “प्रमाणको अभावमा कुनै पनि सूचना, विचार वा सिद्धान्तको सत्यता सिद्ध हुँदैन”[2] र “ज्ञान विना मुक्ति पनि हुँदैन”[3]। यो पद्धतिले प्रमाणका आधारमा मात्र सत्यको निरूपण गर्नु पर्छ र प्रामाणिक ज्ञानलाई मात्र ज्ञानका रूपमा लिनु पर्छ भन्ने मान्दछ। यसको सिद्धान्तले सत्यको खोज, विद्या आर्जनको सही पद्धति र वैज्ञानिक ज्ञानको आधारशिलाको निर्माण गर्दछ। साङ्ख्यमार्गीहरूका लागि सवै भन्दा ठूलो धन नै विद्या हो र जीवनको लक्ष्य ज्ञानको आधारशिलामा मुक्ति प्राप्त गर्ने हो। यो बाटो विद्याको आर्जन र वैज्ञानिक खोजमा हिँड्ने व्यक्तिहरूको हो, शिक्षण र अनुसन्धान संस्थाहरूको हो।

शिवका अनुयायीहरूले अपनाउने योग सिद्धान्तले भन्छ : “स्वतः प्रस्फुरित हुने, अर्थात् प्रतिभामूलक, चेतको जागरणबाट सवै विषय जान्न सकिन्छ।”[4] अर्थात्, सोचको कुनै चरणमा तथ्यलाई झ्याप्पै देख्न सकिन्छ। बौद्ध मार्गमा पनि ज्ञानलाई भन्दा ध्यानलाई महत्ता दिने चिन्तन प्रभावी छ। यसले विना आश्रय स्वतः प्रस्फुटित हुने ध्यानको अवस्थालाई वोधिचित्त भन्छ र बोधिसत्त्वले बोधिचित्तबाट सम्पूर्ण धर्मलाई देख्छ भनेर मानेको हुन्छ। यस्तै हुन्छ प्राविधिक र संयोजनकारी दुनियाँमा रमाउने मानिसहरूको आधारभूत मान्यता पनि। उनीहरूका लागि केके कुरालाई कसरी जोड्यो भने एउटा उपयोगी यन्त्र वा पद्धति वा प्रणाली बनाउन सकिन्छ भनेर जान्नु त्यहाँ भित्र रहेका सवै सिद्धान्त र सत्यलाई जाने बराबर हो। यन्त्रको संयोजनबाट मोबायल फोन बन्छ र कुरा गर्न सकिन्छ भने किन विद्युत्-चुम्बकीय क्षेत्रको सिद्धान्त जान्नु पर्‍यो ? त्यो हो उनीहरूको मान्यता। प्रणाली, प्रविधि र नवप्रवर्तनको बाटोमा हिँड्ने व्यावसायिक, विशेषज्ञ र प्राविधिकहरू र त्यस्तो काम गर्ने संस्थाहरूका लागि यो उत्तम मार्ग हो।

विष्णुका अनुयायी भक्तहरूले अपनाउने भक्तिमार्गले भन्छ : “मेरो शरणमा आउ, मैले तिमीलाई तिम्रा सवै पापहरूबाट उद्धार गर्नेछु”[5]। यसको भौतिकवादी संस्करणले भन्छ कि “तिमी मेरो सङ्गठनमा आऊ, मैले तिमिलाई स्वर्ग दिनेछु।” सवै भक्तिमार्गी धर्म-सम्प्रदायहरू र सवै राज्यसत्ताहरू यो मान्यतालाई जनसाधारणमा स्थापित गराएर टिकेका हुन्छन्। उनीहरूले शासकमा शक्तिको एकीकरणलाई तथा “साम, दान, दण्ड, भेद”[6] को नीतिलाई अनुमोदन गर्दछन्। विष्णुका आयुधहरूमा पनि त्यसै अनुरूप शङ्ख, चक्र, गदा र पद्म रहेका छन्। भक्तिको यो बाटो धर्मगुरुहरूको तथा राजनीति-कर्मीहरूको हो, सत्ता प्राप्तिलाई केन्द्रमा राखेर हिँड्ने व्यक्ति र दलहरूको हो। तर साम, दान, दण्ड र भेदको नीति अपनाउन ब्रह्मा वा शिवका अनुयायीहरूका लागि वर्जित छ, उनीहरू व्यक्ति स्वयंलाई नै उसको मुक्तिदाता भनेर मान्दछन्।

विष्णुका अनुयायीहरूमध्ये एउटा त्यस्तो वर्ग हुन्छ जसले धन प्राप्तिका लागि हिँडेको हुन्छ, जो लक्ष्मीको पूजक हुन्छ। उनीहरूको सिद्धान्तले भन्छ : “शरीरका इन्द्रियहरूले काम गर्न खाना जसरी अत्यावश्यक छ, त्यसरी समस्त मानव कार्यका लागि धन आवश्यक छ। त्यसैले, धन सांसारिक गतिविधिहरू गर्ने अत्यावश्यक साधन हो।”[7] अझ “वित्तं सर्वसाधनम् उच्यते” लाई धन नै सवै साधन हो भनेर पनि उल्था गर्न सकिन्छ। एउटा समाजमा लक्ष्मीमार्गी एउटा यस्तो वर्ग हुन्छ जसले धनलाई नै मुक्तिको प्रधान साधन देख्दछ।

यी भिन्नताको अध्ययनबाट प्रत्येक वैदिक देवी देवता खास मौलिक दार्शनिक अवधारणालाई बोकेका हुन्छन् भनेरहामीलाई थाहा हुन्छ। माथिका चारै प्रकारका दार्शनिक वा वैचारिक धारमा काम गर्ने आधारभूत मान्यताले के देखाउँछन् भने विज्ञानका, प्रविधिका, व्यापारका र राजनीतिका मान्यताहरू आ-आफ्नै र मौलिक हुन्छन्। तिनमा कुनै एकलाई आफ्नो प्रधान लक्ष्य बनाउनेहरू स्वाभाविक रूपमा फरक विचार र मान्यताबाट उत्प्रेरित भएका हुन्छन्। उनका मन्त्र वा सूत्र ती खास मार्गमा लाग्नेहरूका लागि नितान्त उपयोगी हुन्छन, तर अरूका लागि उपयोगी नहुने मात्र नभएर वर्जित पनि हुन सक्छन्। फलस्वरूप, ती भिन्न र मौलिक क्षेत्रहरूको सन्तुलित विकास विना एउटा प्रगतिशील र सभ्य समाजको विकास गर्न नसकिने बोध पनि हामीलाई हुन जान्छ।

विज्ञान, प्रविधि, सुशासन र आर्थिक विकास एउटा गतिशील समाजको विकासका चारवटा अत्यावश्यक स्तम्भ हुन् (हेर्नुस् तलको चित्र)। यी चारवटै क्षेत्रको सन्तुलित उन्नयन नगर्ने समाजको विकास दिगो हुँदैन। यी मध्ये कुनै एकको अभावमा समाजको विकासमा गतिरोध उत्पन्न हुन जान्छ। त्यसैले, व्यक्ति-विशेषले आफ्नो जीवनको लक्ष्य मुताबिक यी मध्ये कुनै एक मार्गलाई अपनाएर उसको जीवन सफल बनाउन सके पनि एउटा समग्र समाजको सफलता त्यस्तो हुन सक्दैन। समाज सफल र समृद्ध हुन यी सवै विधाको सन्तुलित विकास हुनु पर्छ। एउटा व्यक्तिको मुक्ति अत्यन्त व्यक्तिगत र उसको आफ्नो चेतना, ज्ञान, अवस्था र लक्ष्य सापेक्ष हुन्छ। त्यसैले एउटा व्यक्तिको मुक्ति अर्कालाई बन्धन जस्तो लाग्न पनि सक्छ। तर एउटा समाजले सवै विविधता, विचित्रता र विरोधाभासलाई आत्मसात् गरेको हुनु पर्छ। त्यसैले, त्रिमूर्ति दर्शन एउटा आधुनिक समाजले अपनाउनु पर्ने दर्शन हो जसले एउटा निरन्तर उन्नत समाजको दार्शनिक आधारशिला प्रदान गर्दछ।

साङ्ख्य, योग र भक्तिलाई आध्यात्मिक दृष्टिकोणबाट नहेरेर व्यावहारिक आँखाले हेर्दा पनि तिनीहरूको भूमिका परिपूरक प्रकारको हुन्छ। हामीलाई विज्ञान र वैज्ञानिक दुनियाँको विकास गर्न साङ्ख्यमार्गको आवश्यकता पर्छ। आविष्कार, प्राविधिक नवप्रवर्तन र पद्धतिगत् नवप्रवर्तनलाई उचाइमा पुर्‍याउन योगमार्गको आवश्यकता पर्छ। उचित राज्य व्यवस्था र आर्थिक विकास गर्न भक्तिमार्गको आवश्यकता पर्छ। हामीलाई सत्य र मुक्ति सिकाउन साङ्ख्य चाहिन्छ, भ्रातृत्व र एकता सिकाउन योग चाहिन्छ, अनि स्वधर्म र कर्तव्यपरायणता सिकाउन भक्ति चाहिन्छ। हामीलाई ब्रह्मचिन्तन सिकाउन साङ्ख्य चाहिन्छ, आत्मचिन्तन सिकाउन योग चाहिन्छ, र कर्मचिन्तन सिकाउन भक्ति चाहिन्छ। हामीलाई समस्या जान्ने बनाउन र शङ्का, तर्क, प्रश्न र खोज गर्न सिकाउन साङ्ख्य चाहिन्छ, अरूको बुद्धि, मार्गनिर्देश र अनुकरणबाट कार्यसम्पादन गर्न सिकाउन भक्ति चाहिन्छ, अनि हृदय र तर्कलाई सन्तुलनमा राख्न, विवेकले काम गर्न र जटील वा विषाक्त समस्याको सन्तुलित समाधान गर्न सिकाउन योग चाहिन्छ।लोकचेतना र लोकसर्वोच्चता ल्याउन साङ्ख्य चाहिन्छ, लोकहित र लोककल्याण ल्याउन योग चाहिन्छ, र लोकअनुशासन र लोकसमृद्धि ल्याउन भक्ति चाहिन्छ। अलोलुप्ता, निस्पृहा, वैराग्य र तपस्या सिकाउन साङ्ख्य चाहिन्छ, सहजता, सरलता, वहाव र सुन्दरता सिकाउन योग चाहिन्छ, र त्याग, बलिदान, उत्सर्ग र अभ्युदय सिकाउन भक्ति चाहिन्छ। साङ्ख्य चेतना हो, योग साधना हो, भक्ति सङ्ग्राम हो, र जीवन ती सवैको मिश्रण हो। साङ्ख्य प्रकाश हो, योग शान्ति हो, भक्ति जागरण हो, र उचाइतर्फ लम्किरहेको समाज ती सवैको अनौठो मिश्रण हो। साङ्ख्यको बीउ ज्ञान हो, योगको बीउ ध्यान हो, भक्तिको बीउ गुरु हो, र ती सवैको बीउ जिज्ञासा हो। साङ्ख्य एक्लैले अल्पजीवी ऋषितन्त्र जन्माउँछ, योग एक्लैले अल्पजीवी गणतन्त्र जन्माउँछ, भक्ति एक्लैले अल्पजीवी राजतन्त्र जन्माउँछ, तर साङ्ख्य, योग र भक्तिको सन्तुलनले एउटा दीर्घजीवी, सक्षम, सुमधुर र श्रीसम्पन्न राज्यतन्त्र जन्माउँछ। त्यसैले यदि साङ्ख्य, योग र भक्तिलाई तीन पुराण मान्ने हो भने ती सवैलाई बुझेर तिनको मर्म आत्मसात् गर्नु भनेको एउटा पूर्ण पुराणको आँखिझ्यालबाट जीवन र जगत् लाई बुझ्नु बराबर हो।

विज्ञानको विकास प्रविधिको विकासको आधारशिला हो। प्रविधिको विकास आर्थिक र व्यापारिक विकासको आधारशिला हो। आर्थिक-व्यापारिक विकास राज्यमा उपलब्ध हुने शासकीय शक्तिको आधारशिला हो। न्यायिक राज्यतन्त्र विज्ञान र प्रविधिको विकासको आधारशिला हो। यो अघिको बाक्य किन सत्य भने, विज्ञान र प्रविधिको विकासका लागि आवश्यक वैधानिक, बौद्धिक र आर्थिक प्रबन्ध एउटा दूरदर्शी राज्यतन्त्रले मात्र दिन सक्छ। व्यापारी-व्यवसायीले अनावश्यक ठानेको तर देशलाई आवश्यक परेको विज्ञान प्रविधिको विकासका लागि कर आदिको माध्यमबाट अर्थतन्त्रबाट आवश्यक रकम निकाल्ने र आवश्यक नियम-कानूनको प्रबन्ध गर्ने काम उपयुक्त राज्यतन्त्रले मात्र गर्न सक्छ।

यो विश्वमा त्यस्तो कुनै एक वाद छैन र कुनै एक मार्ग छैन जसले हामी सवैलाई मुक्ति दिन सकोस्। मानिसले शोषण रहित समाज र मानव मुक्तिको चाहमा सताव्दियौँ समय र धेरै रगत कुनै न कुनै नयाँ मार्गको स्थापनाका लागि खर्च्यो र पनि उसले मुक्तिको वास्तविक उज्यालो देख्न पाएको छैन। युरोप अमेरिकामा अति भक्तिमार्गी सम्प्रदाय पनि आयो, अति भौतिक विज्ञानको विकास पनि भयो, र अति धनधान्य पनि प्राप्त भयो र पनि त्यहाँ मानिसले मुक्तिको श्वास फेर्न सकेन, गरीब देशबाट हेर्दा स्वर्ग लाग्ने ती देशका मानिस भित्र भित्रै आक्रान्त छन्। बाटा, घर, बगैँचा, कार र भौतिक वस्तुहरूलाई चिल्ला पार्ने दौडमा मानिस बाहिर जति कस्मेटिकले पोतिए पनि उनको अन्तरात्मा फुस्रो भइरहेको छ। त्यसैले उनले पनि समाजका लागि उत्तम मार्ग फेरि खोज्नु पर्ने भएको छ। नेपालीले पनि मुक्ति खोज्दै धेरै कष्ट खेपिसके तर त्यो लक्ष एउटा सपना वा माया जस्तो मात्र प्रतीत भइरहेको छ। हामीलाई मुक्ति दिन्छु भन्ने आकाङ्क्षीले जति राम्रा भाखामा मुक्तिको गीत गाए पनि भक्तिमार्गको अन्तिम गन्तव्य भनेको सत्ता हो। अनि सत्ताको प्रकृति भनेको सत्ताको आकाङ्क्षीलाई उसले खोजेको सत्ता र धन प्राप्त भइसके पछि ती कुराको निरन्तरताको चाहना बढाइदिने हो।

बिचारा जनता ! दश दिशाका वाद र सम्प्रदाय चहार्दा पनि उनलाई उही निख्लो अन्धविश्वासको अन्य संस्करण बाहेक केही मिलेको छैन, मुक्तिको उज्यालो उनलाई प्राप्त छैन। होस् पनि कसरी ! साङ्ख्य र योगले सन्तुलित नगरेको कुनै पनि भक्तिमार्गले भौतिकवाद, विज्ञान, विचार, नीति, ईश्वरवाद, राष्ट्रवाद, राजावाद, जातिवाद, आधुनिकतावाद वा जेसुकैको हवाला दिए पनि ऊ मूलतः विश्वासको सहारामा हुन्छ। अन्ततः विश्वासले न विज्ञानको काम गर्न सक्छ न विवेकको, उसले गर्ने सक्ने भनेको विरोध र विद्वेषको काम हो, जसले तुरुन्त उसको प्रतिवादीको जन्म दिन्छ। त्यस्तै हो निख्लो साङ्ख्यको हालत पनि; उसले पनि एक्लैमा न सुशासनको काम गर्न सक्छ न संयोजनको, उसले गर्ने भनेको विवाद र विश्लेषणको काम हो। अनि निख्लो योगले पनि न समृद्धिको काम गर्न सक्छ न सत्यको, उसले गर्ने भनेको गरीबीले युक्त कलामा र गरीबीले युक्त समानतामा सन्तोष दिलाउने हो।

त्यसैले अब पूर्व देखि पश्चिमसम्मको समस्त मानव सभ्यतालाई मुक्तिको मार्गदर्शन के हो भनेर फेरि खोज्नु पर्ने भएको छ। सायद वैदिक समाजले पत्ता लगाएको त्रिमूर्ति दर्शन नै हामीले हुर्काउन चाहेको त्यो ‘मुक्ति वृक्ष’ को बीज हो। त्यो किनभने यसले हामीलाई कुनै अतिमा खाँदेर पिल्साउँने नभएर सम्यक वा सन्तुलित बाटो समात्न सहज बनाउँछ। यसको दर्शन पश्चिमा दार्शनिकको जस्तो क्लिष्ट र थोरैले मात्र बुझ्ने प्रकारको नभएर निरक्षरलाई पनि बुझाउन र आम जनमानसमा फैलाउन सहज हुने गरी मुर्ति र तस्वीरमा कुँदिएको छ। यो दर्शन उहिल्यै देखि हाम्रो आफ्नै आँगनमा हुर्के बढेको हुनाले हाम्रो आफ्नै मौलिकताको परिचायक छ र विश्व समुदायका लागि समेत उपयोगी छ। हामीले बडो गौरव र आत्मविश्वासका साथ भन्न सक्छौँ कि यो हाम्रो आफ्नै थियो, छ र हुनेछ। यो त्रिमूर्ति दर्शनलाई गहन रूपमा बुझेर त्यसलाई व्यवहारमा ल्याउन सक्नुमा हाम्रो मुक्तिको रहस्य लुकेको छ।

हाम्रो परम्पराको चिन्तन रूपी खेतमा साङ्ख्य, योग र भक्तिको मिश्रित बाली लगाउने चलन थियो। त्यही मिश्रित प्रणाली अपनाउनुका कारण वैदिक काल एउटा यस्तो समय थियो जुन वेला एउटै समाजमा साङ्ख्य, योग र भक्तिमार्गीहरू साथसाथै र एक-अर्काको संरक्षण र परिपूरणमा फस्टाइरहेका, फक्रिरहेका र फैलिइरहेका थिए। जो व्यक्तिलाई जुन मार्ग ठीक हो त्यही मान्नुपर्छ भन्ने हाम्रो मान्यता थियो। एउटै मन्दिरमा ब्रह्मा, विष्णु र शिवका मूर्तिहरू अटाएका थिए। ती तीनवटै मार्गको समन्वय गरिएको कारणले वैदिक समाजले वैज्ञानिक, प्राविधिक, राज्यतन्त्रात्मक, व्यावसायिक र आध्यात्मिक क्षेत्रमा चामत्कारिक उन्नति गर्न सफल भएको थियो।कालान्तरमा ती मान्यताहरू धमिलिँदै गएर सत्यलाई शास्त्रहरूले ढाक्न थाले; ज्ञान र विज्ञानको विकास छायाँमा पर्न गयो; कुनै एउटा मार्गको मात्र वर्चस्व स्थापित हुने र अरू ओझेलमा पर्ने हुन गयो। धेरै हण्डर खाए पछि बल्ल ती शास्त्र र विश्वासका पर्दाले ढाकेर हराइरहेको सत्यलाई खोजेर नै हाम्रो कल्याणको मार्ग प्राप्त हुने होश हामीमा पलाउँदै छ।

महाभारतको आदिपर्वमा विदुषी शकुन्तलाले राजा दुश्यन्तलाई सत्यको महत्ता बताउँदै भन्छिन्: “हजार अश्वमेध यज्ञ र सत्यलाई एउटै तुलामा दुइतिर राखेर जोखियो भने हजार अश्वमेध यज्ञभन्दा सत्य नै गह्रौँ हुन्छ। ‘सवै वेद जान्नु र सवै तीर्थ जानु’ सँग ‘सत्यमा चल्नु र बोल्नु’ को तुलना गर्ने हो भने या त ती समान हुन्छन् या त सत्यले जित्छ।”[8] त्यही भावनामा विद्वान् ले भनेको हो भनेर वा शास्त्रमा लेखिएको छ भनेर सवैकुरा फटाफट सत्य मान्दै जाने होइन कि ती भनाइ र लेखाइबाट हामीले सत्यलाई छानेर लिन सक्नु पर्छ। महाभातमा द्रौपदीले “के धर्म त्यो? सत्य जहाँ रहेन। के सत्य? जो निश्छल नै भएन॥”[9] भनेको कुरालाई मनन गरेर चाहे पुराण हुन् वा वेद नै किन नहुन्, तिनलाई सत्यका कसीमा घोटेर हामीले सत्यको मात्र प्रवर्धन गर्नु पर्छ र सत्यको मात्र अनुशीलन गर्नु पर्छ, अन्धभक्तिको होइन र असत्यको पनि होइन।

हामी एउटा नयाँ परिवेशमा छौँ। बदलिँदो युगमा छौँ। ज्ञानको भोक जागेको युगमा छौँ। एउटा सामाजिक र वैचारिक उथलपुथल र हुलमुलका बीचमा छौँ। फेरि पनि हाम्रो सामाजिक र सांस्कृतिक धरातल त उही पुरानो मौलिकताकै जगमा निर्मित छ। त्यसैले, यदि हामीलाई हाम्रा ऐतिहासिक वैज्ञानिक, दार्शनिक, सांस्कृतिक र अन्य प्रकारका उत्कर्षहरूलाई छोप्ने मात्र नभएर अबको युगको अनुकरणीय समाजको रूपमा स्थापना गरौँ भन्ने लाग्छ भने हामीले फेरि पनि साङ्ख्य, योग र भक्तिको सह-विकास र सह-प्रवर्धन गर्नु पर्ने हुन्छ, त्रिमूर्ति दर्शनलाई अपनाउनु पर्ने हुन्छ।

प्रतीकवादी भाषामा भन्दा ब्रह्मालाई प्रमाण, तर्क र विज्ञान (प्रुफ्, लजिक र सायन्स) का देवता, विष्णुलाई विश्वास, भक्ति र सुशासन (बिलिफ्, डिभोसन र गभर्न्यान्स) का देवता, रशिवलाई अनुभव, अवलोकन र संयोजन (एक्स्पेरियन्स्, अब्जरभेशन र इन्टिग्रेशन) का देवता मान्नुपर्ने हुन्छ। त्रिमूर्ति देवता र तिनमा बुनिएको दर्शनलाई बराबर महत्त्वका साथ स्थापित गर्नु पर्ने हुन्छ र तिनमा समन्वय ल्याउनु पर्ने हुन्छ। ब्रह्मा, विष्णु र शिव तीनवटै देवताका मूर्तिहरू एउटै मन्दिरमा अटाउने ती पुराना दिनहरूलाई फेरि फर्काउनु पर्ने हुन्छ। साङ्ख्य, योग र भक्ति तीनवटै मार्गको यथोचित विकास गर्दै, कुनै एक मार्गले अर्को मार्गमाथि दमन गर्ने नभएर सह-अस्तित्वपूर्ण सहकार्य गर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ। एकबाट समाधान नहुने समस्याको अर्कोद्वारा परिपूरण गर्ने व्यवस्था मिलाउनु पर्ने हुन्छ, व्यावहारिकजगत् मा पनि र आध्यात्मिक जगत् मा पनि। तब मात्रै यो ठाउँले वैदिक कालदेखि गुमेको आफ्नो चमकलाई फेरि फर्केको देख्न पाउनेछ। यो समाज फेरि विश्वमा सत्यको प्रकाश छर्नेसमाजमा रूपान्तरित हुनेछ।

[1]द्वा सुपर्णा सयुजा सखाया, समानं वृक्षं परिषस्वजाते। तयोरन्यः पिप्पलं स्वाद्वत्ति, अनश्नन्नन्यो अभिचाकशीति॥ ऋग्वेद १।१६४।२॥

[2]प्रमाण अभावान् न तत् सिद्धि॥ साङ्ख्यदर्शनम् ५।१०॥

[3]ऋते ज्ञानात् न मुक्ति:॥ साङ्ख्यकारिका॥

[4]प्रतिभाद्वा सर्वम्॥ योगदर्शनम् विभूतिपाद, ३।३३॥

[5]सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज। अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच:॥ गीता १८।६६॥

[6]साम्ना दानेन भेदेन समस्तैरथ वा पृथक्। विजेतुं प्रयतेतारीन्न युद्धेन कदा चन॥ मनुस्मृति ७।१९८॥

[7]अशनात् इन्द्रियाणीव स्युः कार्याणी अखिलानि अपि। एतस्मात् कारणात् वित्तं सर्वसाधनमुच्यते॥ पञ्चतन्त्र॥

[8]अश्वमेध सहस्रं च सत्यं तुलया धृतम्। अश्वमेधसहस्राद् हि सत्यमेव विशिष्यते॥ सर्ववेदाधिगमनं सर्वतीर्थावगाहनम्। सत्यं च वचनं राजन् समं वा स्यान्नवा समम्॥ महाभारत आदिपर्व ७४।१०३-१०४॥

[9]महाभारत सूक्तिसुधा, मुकुन्दशरण उपाध्याय, सर्वज्ञ पब्लिकेसन, काठमाण्डू, २०६४,पेज ८०

(डा. ढकालको ‘पूर्वीय दर्शनको पुनर्व्याख्या’ बाट निकालिएको सारांश। उक्त पुस्तक असार ३०  गते सोमबार प्रकाशित हुँदैछ।)

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्