बाढीले मिरगञ्‍ज पुल प्रभावित भएपछि मालबाहक सवारी नेपाल भित्रिन पाएन

मोरङ-बाढीको कारण भारतको बिहारस्थित मिरगञ्ज पुल प्रभावित भएसँगै शनिबारदेखि मालवहाक ठूला सवारीसाधन नेपाल भित्रन सकेका छैनन्।

बिराटनगरस्थित भन्सार कार्यालयका अनुसार बाढीका कारण पुलमा क्षति पुग्न सक्ने जनाउदै भारतीय पक्षले सो पुलबाट ठूलो सवारी साधनमा रोक लगाएको हो।

बिराटनगर भन्सार कार्यालयका सूचना अधिकृत मनिराम पौडेलले गएको शनिबारबाट भारततर्फबाट मालसमानका कुनैपनि सवारीसाधन नेपालतर्फ नआएको जानकारी दिए।

सूचना अधिकृत पौडेलले भने, ‘वर्षा र पुलको अवस्थालाई हेर्दै भारततर्फबाट हाल मिरगञ्ज पुलमा ठूला सवारी साधनमा रोक लगाइएको छ। जसका कारण नेपालतर्फ आयात हुने मालवहाक सवारी र भारततर्फ जाने खाली सवारी समेत ठप्प रहेको छ।’

शनिबारदेखि हाल कुनैपनि मालवहाक समान नेपाल भित्रन सकेको छैन। नेपाल र भारत सरकारको प्राथमिकतामा सो पुल नपर्दा उद्योगी ब्यवसायीहरुले दैनिक कष्ठ भोग्नु परिरहेको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश एकका उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिए।

यसअघि पनि पटक पटक सम्बन्धित निकायलाई पुलको विकल्पबारे ध्यानाकर्षण गराउँदासमेत ती निकायबाट कुनैचासो नलिइएको उनको गुनासो छ। महासंघका वरिष्ठ उपाध्यक्ष राउत भन्छन, ‘पुलमा क्षति पुगे पूर्वक्षेत्रका धेरै उद्योग कोल्याप्स हुन्छन्, बन्द हुने अवस्थामा पुग्छन्।त्यसैलेपनि यस समस्याको समाधानमा सरकारले गम्भीर भएर सोच्नुपर्ने अवस्था छ।’

अर्कोतर्फबाट सुनसरीको भण्टावारीतर्फबाट मालसमान ल्याउदाँ ढुवानी खर्च बढेको महासंघले जनाएको छ। सो क्षेत्रबाट मालसमान ल्याउदै उद्योग सञ्चालनमा कठिनाइ हुने बताएका उद्योगी राउतले भने, ‘सो रुटबाट समान ल्याउन धेरै समस्या छ।त्यहाँ हुदै समान ल्याउन समय बढि लाग्ने र समानको मुल्यबृद्धि समेत हुनेछ।’

हाल भारतको आइसिपीमा रहेका केही मालवहाक सवारी भित्रिएको जनाएको भन्सार कार्यालयले बाढी र खोलामा पानीको बहाव कम भएपछि मात्र मालवहाक सवारी आउन सक्ने अपेक्षा गरेकोछ।

केही वर्ष अघिको भीषण बाढीले क्षतिपुगेको सो पुलबाट पछिल्लोसमय ४० टन सम्मको सवारी साधन भित्रिने गरेको थियो। त्यसभन्दा बढि तौलसहित मालसमानको सवारीसाधन सुनसरीको भण्टावारी हुदै भित्रने गरेको थियो।

भारतबाट दैनिक ३ सय बढि मालवहाक सवारी साधन भित्रिने गरेको छ।जसबाट दैनिक करिब १५ करोड संकलन हुने गरेको छ। गएको शनिबारबाट सवारीसाधन नभित्रिदाँ राजश्व संकलनमा नोक्सानी भइरहेको कार्यालयको भनाइ छ।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्