ग्रिजम्यानलाई भित्र्याएपछि अब नेइमार बार्सिलोना फर्कने सम्भावना कति ?

लन्डन : ब्राजिलियन स्टार स्ट्राइकर नेइमारले तिव्र इच्छा व्यक्त गरिरहेपनि बार्सिलोनाले आफ्ना यी पूर्व खेलाडीलाई तत्काल फर्काउने सम्भावना सकिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन्।

बार्सिलोनाले फ्रान्सेली स्ट्राइकर एन्टोइन ग्रिजम्यानलाई आबद्ध गरेपछि नेइमारको पुनरागमन सम्भावना तत्काललाई टरेको हो। चर्चित अनलाइन डेलीमेलका अनुसार ग्रिजम्यानलाई भित्र्याउन बार्साले ३१.५ मिलियन युरो ‘लोन’ लिएको थियो।

यहि कारण कम्तीमा दुई सय मिलियन युरो मुल्य रहेका नेइमार तत्काल बार्सा फर्कने सम्भावना नरहेको दावी गरिएको छ। हाल फ्रान्सको पेरिस सेन्ट जर्मन-पीएसजीमा रहेका नेइमार पछिल्लो समय लगातार बार्सा फर्कने इच्छा व्यक्त गरिरहेका छन्।

बार्सिलोनाले किस्ताबन्दीमा पैसा दिने विकल्प प्रस्तुत गरेपनि एट्लेटिको म्याड्रिडले अस्वीकार गरेपछि बार्साले लोन लिएर भएपनि सबै रकम जम्मा गरेको जनाइएको छ। समाचारहरुमा जनाइएअनुसार पीएसजीले पैसाको साटो खेलाडी साँटासाँट गरेको अवस्थामा मात्र नेइमार बार्सिलोना फर्कने सक्ने तर त्यो सम्भावना निकै कम रहेको उल्लेख गरिएको छ।

बार्सिलोनामा चार सिजन बिताएपछि पीएसजी स्थानान्तरण गरेका नेइमार पछिल्ला दुई सिजन फ्रान्सेली क्लबमा रहे पनि विश्व क्लब फुटबलमा खास प्रभाव देखाउन सकेका छैनन्। उनी यसबीचमा चोटसँग लगातार स‌ंघर्ष गर्न बाध्य भए।

उनले पीएसजीका लागि ५८ खेल खेल्दै ५१ गोल गरेका छन्। तरपनि ठूला प्रतियोगितामा पीएसजीले सफलता हात पार्न सकेको छैन। त्यसअघि उनले बार्सिलोनाका लागि एक सय ८६ खेल खेल्दै एक सय पाँच गोल गरेका थिए जहाँ उनले घरेलु लिग र युरोपियन च्याम्पियन्स लिग पनि जित्न सफल भए।

असार ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्